नेपाली मूलका फुटबलर अरोक्य : क्यानडा र नेपालको लागि खेल्ने चाहना

Dipa Bhatt

२०८१ पुष ११ गते

११ पुस, काठमाडौं । नेपाली मूलका क्यानाडियन किशोर अरोक्य श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो यात्रा सुरु गरेका छन् । १९ वर्षीय अरोक्यले हालै इंग्ल्याण्डको इन्टरनेसनल डिभलपमेन्ट एकेडेमी (आईडीए)मा एक वर्षे फुटबल प्रशिक्षण कार्यक्रम पूरा गरे । जहाँ उनले आर्सनल, रिडिङ र साउथह्याम्प्टन जस्ता प्रतिष्ठित क्लबहरूसँग प्रशिक्षण गर्ने अवसर पाए ।

हाल क्यानाडाको ब्रिटिश कोलम्बया स्थित भिक्टोरिया शहरमा बसोबास गर्ने अरोक्यले ल्याम्ब्रिक पार्क हाई स्कूल र क्यानाडियन स्पोर्ट्स स्कूलबाट आफ्नो शैक्षिक यात्रा सम्पन्न गरेका छन् ।

फुटबलप्रति सानैदेखि रूचि राख्दै आएका उनले सानिच फ्युजन फुटबल क्लब, भिक्टोरिया युनाइटेड र गोर्ज एफसीजस्ता क्लबहरूमा मिडफिल्डरका रूपमा खेलेका छन् । उनी अट्याकिङ मिडफिल्डरको भूमिकामा खेल्ने गर्छन् ।

‘मेरो सपना फिफा विश्वकप २०२६ मा क्यानडालाई प्रतिनिधित्व गर्नु हो,’ अरोक्यले भने । ‘साथै, म नेपाल मा जन्मे‌ं र हुर्कें मलाई त्यही भएर नेपाली राष्ट्रिय टोलीबाट पनि खेल्ने चाहना छ । मलाई आशा छ एकदिन मेरो इच्छा अवश्य पूरा हुनेछ ।’

उनले हालै दुबई र अस्ट्रेलियाको एक महिना लामो भ्रमण सकेका छन्, जहाँ उनले अल वाहदा एफसी, गल्फ युनाइटेड एफसी, मेलबर्न सिटी एफसी र ओकले क्यानन्स जस्ता प्रतिष्ठित क्लबहरूसँग प्रतिस्पर्धा गरे । ‘यस भ्रमणको क्रममा मैले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा गोल पनि गरेँ । यो अनुभव साँच्चै अविस्मरणीय रह्यो, र यस्तो सानो उमेरमा यस्तो अवसर पाउँदा आफूलाई निकै भाग्यशाली ठान्छु’ अरोक्यले भने ।

अरोक्यले सन् २०२४ मा अमेरिकाको मिनेसोटास्थित डुलुथ एफसीको लागि खेल्दै एनपीएसएल मिडवेस्ट क्षेत्रीय च्याम्पियनसिप जित्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो जित क्लबको इतिहासमा एक महत्वपूर्ण सफलता थियो ।

उनले डलास कप र सान डिएगो सर्फ कपजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भएर आफ्नो खेल कौशल प्रदर्शन गरेका छन् । अमेरिकामा आयोजित डलास कपमा उनले महत्त्वपूर्ण गोल र असिस्ट गर्दै आफ्नो टिमलाई बलियो बनाएका थिए । सर्फ कपको समयमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सन् २०२२ मा उनले क्यानाडाको भ्यानकुभर आइल्यान्ड प्रिमियर लिगको उपाधि जित्न सफल भए र प्रदेशस्तरीय प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्न सफल भए । यो प्रतियोगितामा उनले उत्कृष्ट खेलाडीको रूपमा आफूलाई स्थापित गरे । उनको प्रदर्शनले क्लबलाई सफलतामा पुर्‍याउन मुख्य भूमिका खेलेको थियो ।

सन् २०२३ मा इंग्लयाण्डको नेशनल युथ फुटबल लिगमा पनि अरोक्यले आफ्नो राम्रो छाप छोड्न सफल भएका थिए । उनले लिगमा सबै भन्दा धेरै गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा आफ्नो नाम दर्ता गराउन सफल भएका थिए ।

यसले उनलाई ब्रिटेनमा एउटा आशालाग्दो युवा खेलाडीको रूपमा स्थापित गर्न सहयोग गर्‍यो । अरोक्यको फुटबल यात्रा धेरै युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बन्न सक्ने देखिन्छ । उनी अहिले पनि आफ्ना खेल कौशललाई थप सुधार गर्न लागि परेका छन् ।

‘म फुटबलप्रति समर्पित छु र नेपाल र क्यानाडा दुवैको गौरव बढाउने लक्ष्य लिएको छु’ अरोक्यले भने ।

Sharing Is Caring:

Leave a Comment