२०८१ पुष १० गते
काठमाडौँ — नेपालका अलराउन्डर २० वर्षे क्रिकेटर कुशल मल्लले यूएईको आईएल टी–२० खेल्ने भएका छन् । आईएल टी–२० को फ्रेन्चाइज टोली डेजर्ट भाइपर्सले मंगलबार कुशललाई अनुबन्ध गरेको जनाएको छ । नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिड घाइते भएपछि भाइपर्सले उनको स्थानमा कुशललाई लिएको हो ।
आईएल टी–२० को तेस्रो सिजन जनवरी ११ देखि सुरु हुनेछ । भाइपर्सले जनवरी १२ मा अबुधाबी नाइट राइडर्सविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । प्रतियोगिता सुरु हुनु एक साता अगाडि कुशल दुबईमा रहेको आफ्नो टोलीमा समावेश हुने तालिका छ । आईएल टी २० मा यूएईका कम्तीमा २ तथा विदेशी ९ जनासम्मले प्लेयिङमा रहेर खेल्न पाउने प्रावधान छ ।
कुशलले गत वर्ष चीनमा भएको दक्षिण एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ५० बलमा अविजित १३७ रन बनाएका थिए । त्यस क्रममा उनले ३४ बलमै शतक पूरा गरेका थिए । तत्कालीन अवस्थामा त्यो ट्वान्टी–२० अन्तर्राष्ट्रियको सबैभन्दा थोरै बलमा बनेको शतक थियो । देब्रेहाते कुशलले नेपालका तर्फबाट ४७ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा १४७ माथिको स्ट्राइक रेटमा ९१७ रन बनाउनुका साथै १९ विकेट लिएका छन् ।
नेपाल हालै भएको एनपीएलमा कुशलले चितवन राइनोजको कप्तानी गर्दै टोलीलाई प्लेअफसम्म डोर्याएका थिए । पहिलो पटक फ्रेन्चाइज क्रिकेटमा कप्तानी गर्ने क्रममा उनले ८ खेलमा १२० माथिको स्ट्राइक रेटमा २२३ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।
पोखरा एभेन्जर्सबाट खेलेका नेदरल्यान्ड्सका खेलाडी बास डी लिड भने चितवनसँगको खेलमा घाइते भएका थिए । कुशलसँग २०२१ मा यसअघि यूएईमै भएको अबुधाबी टी–१० लिगमा टिम अबुधाबीबाट खेलेको अनुभव छ । उक्त सिजनमा उनले १ खेलमा मौका पाएका थिए, जसमा १२ बलमा १८ रन बनाएका थिए ।
६ टोली सहभागी आईएल टी–२० मा पहिलो सिजनमा उपविजेता रहेको भाइपर्स गत सिजनमा पाँचौं स्थानमा झरेको थियो । अहिले टोलीले कोलिन मुनरोको स्थानमा न्युजिल्यान्डका अर्का खेलाडी लकी फर्गुसनलाई कप्तान बनाएको छ । टोलीका अन्य खेलाडीमा श्रीलंकाका वानिन्डु हसरंगा, पाकिस्तानका मोहम्मद आमिर, अजम खान र फखर जमान, इंग्ल्यान्डका एलेक्स हेल्स, साम करन, ड्यान लवरेन्स, नथान साउटर र लुक उड तथा वेस्ट इन्डिजका सेरफेन रदरफोर्डलगायत खेलाडी छन् ।
इंग्ल्यान्डका पूर्वविकेटकिपर जेम्स फोस्टर प्रशिक्षक रहेको टोलीमा दक्षिण अफ्रिकाका पूर्वखेलाडी निल म्याकेन्जी ब्याटिङ प्रशिक्षक र अस्ट्रेलियाका पूर्वअलराउन्डर टम मुडी डाइरेक्टर अफ क्रिकेटको भूमिकामा छन् । नेपाल सुपर लिग फुटबलमा कार्य गरिसकेका योगेश सापकोटा भाइपर्सको मार्केटिङ स्पोनसरसिपको सिनियर म्यानेजर छन् ।
‘कुशललाई डेजर्ट भाइपर्समा अनुबन्ध गर्न पाउँदा खुसी छौं, उनी युवा खेलाडी हुन्, उनले सानो उमेरमै माथिल्लो स्तरको क्रिकेटको धेरै अनुभव हासिल गरिसकेका छन्,’ मुडीले भाइपर्सको विज्ञप्तिमा भनेका छन्, ‘त्यसैले उनी भाइपर्सको सेट अपमा भिज्ने छन् भन्ने लागेको छ, अझ कुशल हालै एनपीएल खेलेर आउनु निकै ठूलो सकारात्मक पक्ष हो किनभने उनले त्यसमा ठूला खेलाडीसँग प्रतिस्पर्धात्मक खेलेका छन् ।’
‘एउटा ब्याटरका रूपमा कुशलले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ओपनरदेखि ७ नम्बरसम्म जुनै स्थानमा पनि खेलेका छन् र स्ट्राइक रेटले उनी कस्ता खेलाडी हुन् भन्ने प्रमाणित गरेको छ,’ मुडीले भनेका छन्, ‘बलरका हिसाबमा उनको देब्रेहाते स्पिन हामीलाई विकल्प र ठूलो बल हुनेछ, जुन गत सिजनमा हामीले गुमाएका थियौं । म प्रायः उच्च सीमा र क्षमता भएको खेलाडीको कुरा गर्छु, त्यो कुशलमा लागू हुन्छ ।’
गत वर्ष नेपालकै दीपेन्द्रसिंह ऐरी आईएल टी–२० मा गल्फ जायन्ट्सबाट अन्तिम दुई खेलका लागि दुबई गएका थिए । तर उनले कुनै खेलमा मौका पाएका थिएनन् । दीपेन्द्रले यस पटक पनि गल्फ जायन्ट्सबाट खेल्ने सम्भावना छ ।