फ्रेन्चाइज भलिबल एनभीएलको लोगो अनावरण

Dipa Bhatt

२०८१ पुष १० गते

काठमाडौँ — यसै वर्ष हुने पुरुषको फ्रेन्चाइज भलिबल लिग एनभीएलको मंगलबार लोगो तथा स्लोगन सार्वजनिक गरिएको छ ।

नेपाल भलिबल लिग (एनभीएल) को केडिया ग्रुपले आयोजना गर्न लागेको हो । नेपालको राष्ट्रिय खेलको मान्यता पाएको भलिबलको पुरुषतर्फ पहिलो पटक फ्रेन्चाइज लिग हुन लागेको हो । नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनभीएलको लोगो सार्वजनिक गरेका थिए । भलिबल खेलको नेपालमा गतिशील रूपमा विकास भइरहेको र लोगोले एकता र गतिशिलताको भावनालाई एउटा सन्देशको रूपमा व्यक्त गरेको जनाइएको छ । लोगोमा प्रयोग रंगले राष्ट्रको झन्डालाई झल्काएको आयोजकले जनाएको छ ।

एनभीएलको स्लोगन भने ‘उचाइको नयाँ उडान’ रहेको छ । नेपालको सबै ठाउँमा खेलिने खेल भलिबललाई थप व्यवस्थित र व्यावसायिक बनाएर नयाँ स्थानमा स्थापित गर्ने अर्थ स्लोगनले बोकेको छ । नेपाल भलिबल लिगका सीईओ अश्विन केडियाले भलिबल राष्ट्रिय खेल घोषणा भए पनि त्यसले व्यावसायिक विकास र विस्तारमा गति लिन नसकिरहेको स्थितिमा केडिया ग्रुपले त्यही कुरा मध्यनजर गरी नेपाल भलिबल संघको समन्वयमा फ्रेन्चाइज लिग गर्न लागेको बताए । उनले लिगको सुरुआतले नेपाली भलिबलमा नयाँ अध्यायको थालनी हुने अपेक्षा व्यक्त गरे ।

सम्भवतः मार्चमा हुने एनभीएलमा ६ टिमले ९ दिनसम्म सिंगल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछ । एउटा टिममा ९ स्वदेशी र तीन विदेशी खेलाडी हुनुपर्ने प्रावधान छ । लिगका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । टिम तथा मार्की खेलाडीको घोषणा चाँडै गरिने जनाइएको छ ।

एनभीएलका लागि केडिया ग्रुपले नेपाल भलिबल संघसँग जेठमा ७ वर्षे सम्झौता गरेको थियो । सम्झौताअनुसार ग्रुपले भलिबल संघलाई हरेक वर्ष ३५ लाख रुपैयाँ दिनेछ । सोही अवसरमा श्रीलंकामा भएको काभा यू–२० पुरुष रजत विजेता टोलीका खेलाडीलाई जनही १५ हजारसहित सम्मान गरियो ।

Sharing Is Caring:

Leave a Comment