२०८१ पुष १० गते
काठमाडौँ — तिभारले एभीएम टेबलटेनिस क्लबलाई प्रायोजकका रूपमा लगातार दोस्रो वर्ष पनि निरन्तरता दिएको छ । टेबलटेनिस सामग्री उत्पादन गर्ने सस्था तिभारले १० लाख रुपैयाँभन्दा बढी रकमको प्रायोजन गर्नेछ । त्यसअनुसार तिभारले एभीएमका तीन खेलाडीलाई यो सामग्री प्रदान गर्नेछ ।
राष्ट्रिय खेलाडी सिक्का सुवाल श्रेष्ठ, इभाना थापा र रुवेन महर्जनलाई सामग्री प्रदान गरिनेछ । प्रदान गरिने सामग्रीमा ब्याट, जुत्ता, मोजा, रबर र अन्य लुगा छन् ।
प्रायोजन घोषणा कार्यक्रममा एभीएम स्कुलकी प्रिन्सिपल सुजिता मानन्धरले यस प्रायोजनले खेलाडीको हौसला बढ्ने बताइन् । उनले भविष्यमा एभीएस टेबलटेनिस क्लबलाई व्यावसायिक रूपमा अगाडि बढाउने बताइन् ।
क्लबका प्रशिक्षक पुरुषोत्तम वज्राचार्यका अनुसार स्विट्जरल्यान्डका पावेल रेहोरेकले प्रायोजन सम्झौतामा सहयोग गरेका थिए । एभीएम क्लबमा सयको हाराहारीमा खेलाडीले दैनिक प्रशिक्षक लिइरहेका छन् । ६ प्रशिक्षकले नियमित प्रशिक्षण गराइरहेका छन् । नेपालमा टेबलटेनिसको क्लबमध्ये एभीएमलाई सबैभन्दा सफल मानिन्छ ।