२०८१ पुष ६ गते २
जुम्ला — जुम्लामा क्रिकेट क्रेज बढेको छ । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्न थालेपछि जुम्ली युवाहरूमा क्रिकेट खेल्न थालेका हुन् । अहिले ठूला खेत, स्कुल मैदानदेखि चौरहरूमा समेत क्रिकेट खेल्न थालेका छन् ।
केहीले मात्र क्रिकेट ब्याट ल्याउने गरे पनि अधिकांशले काठको ब्याट बनाएर पनि क्रिकेट खेलिरहेका छन् । जुम्ला चन्दननाथ ४ का महेश हमालले खेतबारीबाटै क्रिकेट खेल्न सिके । २२ वर्षयता उनको ध्यान क्रिकेट खेल्नमै छ ।
उनी क्रिकेटको नियमहरू सहपाठीवीच आदानप्रदान गरिरहेका हुन्छन् । जसले गर्दा पनि उनको पुस्ताका युवाहरूले क्रिकेटमा निकै रुचि राख्ने गरेका छन् । महेशले भने, ‘पहिले क्रिकेटको नाम मात्र सुनिन्थ्यो । अहिले खेतबारी, खेलमैदानमा क्रिकेट खेलेको देख्न पाइन्छ ।’
अहिले युवाहरू यू–ट्युबको माध्यमबाट क्रिकेट र तिनका खेलाडीप्रति चासो राख्न थालेका छन् । नेपालमा नेपाल प्रिमियर लिग चलिरहँदा चिया चौतारीमा क्रिकेटको निकै चर्चा हुन थालेको छ । महेशले भने, ‘अहिले क्रिकेटको मात्र चर्चा भइरहेको छैन । राम्रो खेल्ने खेलाडीको पनि खुबै चर्चा हुन्छ ।’
कसले उपाधि जित्ला भन्ने उत्सकुतामा उनीहरूको चासो बढेको छ । टिमको प्रदर्शन, खेलाडीको व्यक्तिगत प्रदर्शनको चर्चामा समेत जुम्ली युवाको राम्रो बहस हुने गरेको पाइन्छ । धेरै रन बनाउने र विकेट लिने खेलाडीबारे पनि छलफल हुन्छ ।
जुम्ला सिंजाका १६ वर्षे अनुप खत्री प्रायः आफैले तयार गरेको ब्याट लिएर साथीहरूसँग खेतमा खेलिरहेका हुन्छन् । उनले क्रिकेटप्रति चासो राख्न थालेको एक वर्ष जति भयो । क्रिकेट र नाम कहलिएका क्रिकेटरबारे अध्ययन गर्छन् । अनुपले भने, ‘क्रिकेटमा पनि राम्रो भविष्य देख्दैछु । तर यहाँ खेल्न लायक पूर्वाधार नहुँदा समस्या छ ।’
उनका अनुसार कर्णाली प्रदेश सरकार र जुम्लाका स्थानीय सरकार क्रिकेटप्रति उदासीन छ । खेलक्षेत्र र पूर्वाधार विकासमा चासो देखाउन सकेका छैनन् । अनुपले भने, ‘खेलकुदका पूर्वाधार बनाउने हो भने जुम्लामा पनि राष्ट्रिय स्तरको क्रिकेट खेलाडी जन्माउन सकिन्छ ।’
जिल्ला खेलकुद विकास समितिमा जिल्ला क्रिकेट संघ दर्ता भएको छ । तर, क्यानमा दर्ता हुन नसक्दा क्रियाकलाप अघि बढेको छैन । भीमबहादुर थापाको नेतृत्वमा बनेको संघले सामान्य खालका प्रतियोगिता खेलाइरहेको छ । अध्यक्ष थापाले भने, ‘जुम्लाको दूरदराजमा क्रिकेटको क्रेज बढेको छ तर क्रिकेट खेल्दा चाहिने अत्यावश्यक सामग्री नहुँदा समस्या छ ।’
पछिल्लो समयमा जुम्लाबाट कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा पनि सहभागिता जनाउन थालिएको छ । गत साउनमा सुर्खेतमा भएको प्रतियोगितामा जुम्लाले भाग लिएको थियो ।
‘कुनै स्थान त ल्याउन सकेनौं,’ क्रिकेट खेलाडी महेश हमालले भने, ‘तर जुम्लामा पनि क्रिकेट पुगेको सन्देश दिन सक्यौं ।’ उनका अनुसार पछिल्लो पुस्ताको क्रिकेटप्रतिको क्रेज लोभलाग्दो छ । तर पूर्वाधार नहुँदा कठिनाइ छ ।
नेपालले अन्तर्राष्ट्रिय स्तरमा आईसीसीका प्रतियोगिताहरू खेल्न थालेपछि दुर्गममा पनि क्रिकेट पुगेको हो । अहिले कर्णाली प्राविधिक शिक्षालयको मैदान, टुँडिखेल र सीमाचौरमा बेलाबखत क्रिकेट प्रतियोगिताहरू हुने गरेका छन । कहिले नेपाली सेना र कहिले विद्यार्थीसँग खेल हुने गर्दछ ।
जिल्ला क्रिकेट संघका अध्यक्ष थापा वैशाखमा जिल्लास्तरीय प्रतियोगिता गर्ने तयारी भइरहेको बताउँछन् । अहिले सानो पुरस्कार राशिका खेलहरू भइरहेका छन्,’ उनले भने, ‘जुम्लालाई नै क्रिकेटमय बनाउने गरेर खेलकुद आयोजना गर्ने जमर्को छ ।’
क्रिकेटका लागि स्थानीय सरकारले पनि साथ दिनुपर्ने उनीहरूको माग छ । ‘जिल्लास्तरीय क्रिकेट मैदान हुन सकेमात्र प्रदेश र केन्द्रस्तरमा प्रतियोगितामा भिड्न सक्ने जनशक्ति उत्पादन गर्न सकिन्छ,’ अध्यक्ष थापाले भने, ‘प्रायः स्कुल लेवलका विद्यार्थी क्रिकेटप्रति उत्साहित छन् । अब नयाँ ढंगले क्रिकेटलाई संस्थागत गर्दै लैजाने तयारी छ ।’