२०८१ पुष ६ गते
काभ्रे — ३० औं अन्तरमाध्यमिक विद्यालय आईजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८१ को उपाधि सशस्त्र प्रहरी विद्यालय कीर्तिपुरले जितेको छ ।
शुक्रबार साँगास्थित खेल मैदानमा भएको फाइनलमा सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिमले नेपाल पुलिस स्कुल साँगा (रातो) टिमलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, द्वितीय टिमले ४० हजार र तृतीय टिमले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । नेपाल पुलिस स्कुल धरान टिम तृतीय भएको थियो ।
खेलाडी, अफिसियललाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पुरस्कार वितरण गरेका थिए । समापन समारोहमा प्रहरी महानिरीक्षक कुँवरले खेलकुदले विद्यार्थीका प्रतिभालाई उजार गर्नुको साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने दाबी गरे ।
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा र बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहालले प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
मंसिर १८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन, दाङ र सामाखुसी, सैनिक आवासीय माध्यमिक विद्यालय, सशस्त्र प्रहरी विद्यालयलगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६ टिमको सहभागिता रहेको थियो ।