शनिबारदेखि हुने ११ औं फाल्गुनन्द गोल्डकपको तयारी पूरा 

Dipa Bhatt

२०८१ पुष ६ गते २

पाँचथर — नेपालका १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको स्मृतिमा खेलाँइदै आएको ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको तयारी पूरा भएको आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ । प्रतियोगितामा भाग लिन काठमाडौंसहित विभिन्न स्थानबाट खेलाडीहरु फिदिम आइपुगेका छन् ।

प्रतियोगिता सञ्चालनका लागि आयोजकले फिदिम बजारस्थित फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा बाँस प्रयोग गरेर चार हजार क्षमताको अस्थायी प्याराफिट निर्माण गरेको छ भने मैदानमा रहेका पक्की प्याराफिटमा थप २ हजार गरी ६ हजार दर्शक बस्ने क्षमता छ ।

प्रतियोगितामा मछिन्द्र फुटबल क्लब र भारतको करसाङ क्लब लगायतका टिम बिहीबार नै फिदिम आइपुगेको आयोजक फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङले बताए ।

पुस ६ गते प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र करसाङ फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने तामाङले बताए । दोस्रो खेल पुस ७ गते मछिन्द्र फुटबल क्लब काठमाडौं र झापा-११ झापा, पुस ८ गते त्रिभुवन आर्मी क्लब काठमाडौं र उद्घाटन खेलको विजयी टिमबीच हुने तालिका छ । यस्तै पुस ९ गते, पुस ७ गते हुने खेलका विजेतासँग न्यूस्टार सुनसरीले प्रतिस्पर्धा गर्नेछ ।

पुस १० गते हुने तेस्रो क्वाटरफाइनलमा चर्च ब्बाइज युनाइटेड काठमाडौं र विराटनगर फुटबल क्लब तथा ११ गते अन्तिम क्वाटरफाइनलमा एनआरटी काठमाडौं र सहलेस फुटबल क्लब सिराहाबीच प्रतिस्पर्धा हुने आयोजकले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ ।

यसैगरी पुस १२ गते पहिलो र १३ गते दोस्रो सेमिफाइनल सम्पन्न गरेर १५ गते फाइनल खेल सम्पन्न हुनेछ । जिल्लाको सर्वाधिक पुरस्कार राशि रहेको फाल्गुनन्द गोल्डकपमा यस वर्ष विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १० हजारका दरले पुरस्कार दिइने छ । सर्वाधिक गोलकर्तालाई नगद १५ हजार र विभिन्न विधाका उत्कृष्टलाई १० हजारका दरले पुरष्कृत गरिने पनि आयोजकले जनाएको छ ।

नेपालका १६ औं विभूति फाल्गुनन्द लिङ्देनको स्मृतिमा २०६५ सालदेखि सुरु भएको फाल्गुनन्द गोल्डकप २०७५ सालसम्म सञ्चालन भएर स्थगित भएको थियो । दशौं संस्करण पूरा भएपछि खेल मैदानको पर्खाल भत्किनुका साथै कोरोना महामारीका कारण स्थगित गरिएको थियो । प्रतियोगितालाई यस वर्षदेखि पुनः सञ्चालन गर्न लागिएको हो ।

Sharing Is Caring:

Leave a Comment