एनपीएल फाइनलमा प्रभाव पार्न सक्ने खेलाडीहरू

Dipa Bhatt

२०८१ पुष ६ गते

६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि भिडन्त शनिबार हुँदैछ । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको यो बहुप्रतिक्षित फाइनल खेलपछि एनपीएलको पहिलो संस्करणको विजेताको टुङ्गो लाग्ने वाला छ ।

फाइनलमा आउनुपूर्व यी दुई टोली दुईपटक भिडिसकेका छन् । दुवै भेटमा सुदूरले सहज जित हात पारेको छ । सुदूरको ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा हालसम्म बलियो देखिँदा जनकपुरलाई ब्याटिङमा केही चिन्ता हुनसक्छ । टप अर्डरबाट पछिल्ला खेलमा रन बनेको छैन ।

शनिबारको फाइनलमा दुवै टोलीले आफ्नो बेस्ट खेल प्रदर्शन गर्ने कप्तानहरूको भनाइ छ । यसबीचमा दुवै टोलीका लागि फाइनलमा प्रभाव पार्न सक्ने खेलाडी कोको छन् त ? आज चर्चा गरौं ।

सुदूरका लागि प्रभाव पार्न सक्ने चार महत्वपूर्ण खेलाडीहरूमा कप्तान दिपेन्द्रसिंह ऐरी, स्कट कुग्लेइन, विनोद भण्डारी र इशान पाण्डे रहेका छन् ।

दिपेन्द्रले हालसम्म टिमका लागि सबैभन्दा धेरै २१८ रन बनाएका छन् भने ८ विकेट पनि लिएका छन् । उनको अलराउण्ड प्रदर्शनले सुदूरलाई फाइनलमा ठुलो सहयोग पुग्नेछ । उनको कप्तानी प्रदर्शन फाइनलमा पनि आउन सक्नेछ ।

त्यसैगरी स्कट कुग्लेइनले ८ खेलमा १६ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनी पावरप्ले र डेथ ओभरमा शानदार फर्ममा देखिएका छन् । उनको ओभरले खेलको मोमेन्टम नै परिवर्तन गराउने क्षमता राख्छ ।

विनोद भण्डारीले एक अर्धशतकसहित १९४ रन बनाएका छन् । ओपनिङमा उनको भूमिका महत्वपूर्ण हुनेछ । उनले सेफ जैबसँग मिलेर राम्रो ओपनिङ साझेदारी गरेमा सुदूरलाई अर्ली एडभान्टेज हुनेछ ।

अर्का महत्वपूर्ण खेलाडीमा इशान पाण्डे छन् । उनले मिडल अर्डरमा बीचका खेलहरूमा खेल चलाउन सक्षम छन् । बाँयाहाते ब्याटर भएकाले दाँयाहाते जोडीसँग मिलेर स्ट्राइक रोटेट गर्दै बलरमा दबाब सिर्जना गर्न सक्छन् ।

यीबाहेक सेफ अली जैब पनि महत्वपूर्ण खेलाडी हुन् । उनले हालसम्म २०६ रन बनाउँदा ११ विकेट पनि लिएका छन् । विनोदसँग मिलेर राम्रो ओपनिङ गर्दा बलिङबाट पनि योगदान दिइरहेका छन् ।

यता जनकपुरका लागि महत्वपूर्ण खेलाडीहरूमा जिमी निशम, ललित राजवंशी, लाहिरु मिलान्था र किशोर महतो हुनेछन् ।

जिमी नीशम हालसम्म जनकपुरका पछिल्ला जितहरूमा नायक साबित भइरहेका छन् । उनी सबैभन्दा फर्ममा रहेका खेलाडी देखिएका छन् । उनले हालसम्म ८ खेलमा २४३ रन बनाउनुका साथै ६ विकेट पनि लिएका छन् ।

त्यस्तै ललितले ९ खेलमा १६ विकेट लिएका छन् । सर्वाधिक विकेट लिने खेलाडीकी सूचीमा उनी सुदूरका स्कटसँगै शीर्षमा छन् । उनले किफायती बलिङ पनि गरेका छन् ।
लाहिरु मिलान्था पछिल्लो समयमा चलेका छेनन् । उनले ९ खेलमा २०६ रन बनाएका छन् जसमा एउटा ७५* को स्कोर पनि समावेश छ । उनको ब्याट चलेमा फाइनलमा जनकपुरलाई ठुलो प्लस पोइन्ट हुनेछ । जनकपुरले उपाधि जित्नका लागि टप अर्डरमा उनको ब्याट पनि चल्नुपर्ने हुन्छ ।

जनकपुरका मुख्य पेस बलर किशोरले ९ खेलमा ११ विकेट लिएका छन् । उनले पावरप्लेमा र डेथ ओभरमा गरेको बलिङले विपक्षी टिमलाई दबाबमा राख्न सक्छ ।

त्यसैगरी हर्श थाकर पनि प्रभाव पार्न सक्ने खेलाडीका रूपमा हुनेछन् । उनले ९ खेलमा १०८ रन बनाउँदा ११ विकेट लिएका छन् ।

Sharing Is Caring:

Leave a Comment