२०८१ मंसिर २१ गते
काठमाडौँ — जीवन ज्योति तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत जुनियर छात्र बास्केटबलमा शुक्रबार सेमिफाइनल पुगेका छन् । जीवन ज्योतिसँगै लालीगुराँस नेसनल एकेडेमी, एन्जल्स हार्ट र हिमरश्मि सेमिफाइनल पुगेका छन् ।
जीवन ज्योतिले नर्थ भ्यालीलाई २३–१५ स्कोरले हरायो । विजेताका आयुश ताजले १० स्कोर जोडे ।
लालीगुराँसले सिर्जना ज्ञानसागरलाई २१–१८, एन्जल्स हार्टले मानसिंहलाई १८–१३ र हिमरश्मिले कौशललाई ३७–२२ ले हराएर सेमिफाइनल तय गरे । लालीगुराँसका सरगम गुरुङले ९, एन्जल्स हार्टका सौरभ श्रेष्ठले ७ र हिमरश्मिका आर्यन कार्कीले १३ स्कोर गरे । सेमिफाइनलमा लालीगुराँसले जीवन ज्योति र एन्जल्स हार्टले हिमरश्मिविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
गर्ल्समा लालीगुराँसले जीवन ज्योतिलाई २२–१४ र मानसिंहले प्रारम्भ वर्ल्ड स्कुललाई २४–१८ ले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा लालीगुराँसको भेट हिमरश्मि र मानसिंहले ल्यान्डमार्क एकेडेमीसँग खेल्नेछ ।
कबड्डी
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भइरहेको कबड्डीको छात्रामा शुक्रबार ७ टिम क्वाटरफाइनल पुगेको छ ।
लालीगुराँसले गिनिजलाई ५०–५, मानसिंहले एन्जल्स हार्टलाई ६५–१३, सिद्धार्थ मोडल एकेडेमीले फुटुङलाई ३२–३०, काभ्रेस्थलीले गुरुकुललाई ४५–१९, हिमरश्मिले रोजमेरी आइडियललाई ३९–२३, पुरानो गुहेश्वरीले कालिशरणलाई ४१–१० र मनमैजुले ग्रामसेवालाई ५५–३१ अंकले पराजित गरी क्वाटरफाइनल तय गरे । छात्रमा सेक्रेट हार्टले साङ्ला बालकुमारीलाई ४१–१० ले हरायो ।
फुटबल
मेयर रनिङ सिल्डको फुटबलतर्फ छात्रामा शुक्रबार हिमरश्मिले लालीगुराँसलाई २–१ र फुटुङले एलिगेन्टलाई १–० गोलले हराए ।
छात्रा फुटबलमै कौशलले पृथ्वीनारायणलाई १–०, नर्थ भ्यालीले एन्जल्स हार्टलाई २–१ (टाइब्रेकर), सेक्रेट हार्टले ग्रामसेवालाई २–० र नेपाल राष्ट्रियले रोजमेरीलाई ३–२ ले हराए ।
तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको छात्र फुटबलमा साङ्ला बालकुमारीले मानसिंहलाई १–०, कौशलले कालिका शरणलाई २–१ र नेपाल राष्ट्रियले पुरानो गुहेश्वरीलाई २–० ले हराए ।