२०८१ मंसिर २१ गते
काठमाडौँ — काठमाडौं युरो स्कुलले करातेकी एरिका गुरुङ र राष्ट्रिय महिला फुटबल टोलीकी सरु लिम्बूलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । स्पोर्ट्स मिटको समापनमा दुवै खेलाडीलाई खेलकुदको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्त्वपूर्ण योगदान गरेवापत सम्मान गरिएको हो ।
काठमाडौं युरोका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनीलगायतले एरिका र सरुलाई नगदसहित प्रशंसापत्र प्रदान गरे । एरिका र सरुले स्पोर्ट्स मिटका विभिन्न खेलका पदक विजेता खेलाडीलाई पुरस्कृत गरे । स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।
युरो स्कुलले राष्ट्रिय महिला फुटबल टोलीकी सावित्रा भण्डारी, सागका स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, करातेका सुमन तिमल्सिनालगायतलाई सम्मान गरेको थियो ।