२०८१ पुष १३ गते
विद्यालय औपचारिक शिक्षाको पहिलो र महत्त्वपूर्ण प्रस्थानबिन्दु हो । सैद्धान्तिक रूपमा विद्यालय शिक्षाले व्यक्तिमा अन्तरनिहीत क्षमताको पहिचान, विकास र रचनात्मक अभ्यास गर्ने परिवेश निर्माण गर्नुपर्छ । यति मात्रै होइन, मानव जीवन, समाज, संस्कृति र राजनीति जस्ता बहुआयमिक सवालबारे बुझ्ने र बदल्ने विवेकसहितको व्यक्ति निर्माण गर्नुपर्छ ।
अझ तीव्र गतिमा विकास भइरहेको विज्ञान र प्रविधिको नवीन ज्ञानको अभ्यास गर्ने क्षमता विकासमा शिक्षाले भूमिका खेल्छ । आधारभूत रूपमा हेर्ने हो भने शिक्षाले व्यक्तित्वको निर्माण र विकासमा भूमिका खेल्छ अर्थात् कस्तो शिक्षा पद्धतिको अभ्यास गरिन्छ भन्ने कुराले नै व्यक्तित्व निर्माण गर्न भूमिका खेल्छ । त्यसैले विद्यालयस्तरको शिक्षाले व्यक्तित्व निर्माण मात्रै होइन, मानव समाजका विविधता, अन्तरविरोध र रूपान्तरण प्रवर्द्धन गर्न आवश्यक छ ।
विसं. १९१० असोज २७ गते पहिलो औपचारिक विद्यालयका रूपमा दरबार हाइस्कुल स्थापना भएको थियो, जुन विद्यालयमा राणा र घरानियाँका छोरोछोरीले मात्रै पढ्न पाउँथे । समय क्रमसँगै दरबार हाइस्कुल सामान्य नागरिकका लागि पनि खुल्ला भयो । त्यस्तै लामो समयसम्म महिला, दलित र सीमान्तीकृत समुदायलाई औपचारिक शिक्षा हासिल गर्न दिइएन ।
सामाजिक–राजनीतिक रूपमा भएका आन्दोलन र संघर्षका कारण मात्रै सीमान्तीकृत समुदायका लागि विद्यालयका ढोका खुलेका हुन् । यसरी खुलेका विद्यालयले समाजमा उपलब्ध महत्त्वपूर्ण जीवन उपयोगी कला, ज्ञान, संस्कृति र सभ्यताजस्ता सवाललाई पहिचान गर्ने र प्रवर्द्धन गर्ने काम गरेनन् ।