२०८१ फागुन २३ गते
काठमाडौं । ‘अभियन्ता’को दबाबपछि टिभी शो ‘कमेडी दरबार’ले गायक कुमा सागरलाई लक्षित गर्दै ब्यंग्य गरिएको भाग हटाएको जनाएको छ । आफूलाई ‘अभियन्ता’ बताउने केही व्यक्तिले प्रसारण तयारीमा रहेको एपिसोडमा समावेश गायक लक्षित भागलाई काट्नै पर्छ भनेर दबाब दिएको निर्देशक श्रद्धा प्रसाईँले बताइन् ।
ती व्यक्तिले ओएसआर युट्युब च्यानलको कार्यालयमा फोन गरेर गायक कुमा सागर लक्षित कमेडी दृश्य हटाउन फोनमार्फत भनेका थिए । त्यसपछि ओएसआरले आफूहरूलाई हटाउन भनेको र सोहीअनुसार सेन्सर गरिएको श्रद्धाले बताइन् ।
शोले दुई दिनअघि सार्वजनिक गरेको २८ औं एपिसोडको ट्रेलरमा कुमा सागर लक्षित केही कमेडी संवाद समावेश गरिएको देखिएको थियो । सेन्सरपछि शुक्रबार राती ९ बजेदेखि प्रसारण हुने ‘कमेडी दरबार’को नयाँ एपिसोडमा उक्त दृश्य देख्न पाइनेछैन ।
कमेडियन विकास अर्याल र विश्वास तिम्सिनाले दिएको उक्त प्रस्तुतिमा उक्त दृश्य समेटिएको थियो । ‘कमेडी दरबार’ पछिल्लो समय निकै रुचाइएकोमध्येको टिभी शो अन्तर्गत पर्छ ।
कुमा सागरलाई लिएर हालै सुशान्त केसीको पडकास्ट समेत विवादमा परेको थियो । उक्त पडकास्टमा गायक सागरलाई गिज्याएको भन्दै नेवार समुदायका केही व्यक्तिले सुशान्तसहित कमेडी दरबारकै कमेडियन उत्सव सापकोटा, सजन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिएका थिए । यो घटनामा सजनसहितले माफी मागिसकेका छन् ।