गत वर्ष मात्र कर्णाली प्रदेशबाट १८ हजारभन्दा बढी बिदेसिए

Swastika Bhandari

पुस १७, २०८१

काठमाडौँ — स्वदेशमा रोजगारीका पर्याप्त अवसर नहुनाले बर्सेनि भरपर्दो आयआर्जनको खोजीको सिलसिलामा बिदेसिने नेपालीहरूको सङ्ख्या बढ्दो छ । विदेशबाट फर्किएकामध्ये केहीले भने वैदेशिक रोजगारीका क्रममा सिकेको सीपलाई स्वदेशमा उपयोग गरी स्वरोजगारसमेत बनेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेशबाट नयाँ श्रम स्वीकृत लिई वैदेशिक रोजगारमा गएका संख्या १८ हजार ६ सय ७० रहेको छ भने पुन: श्रम स्वीकृतिसहित २४ हजार १ सय ७५ रहेको राष्ट्र बैंकको प्रतिवेदन छ।

गत आर्थिक वर्षमा कर्णालीमा सबैभन्दा धेरै सल्यानबाट ५ हजार ३ सय ९४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै डोल्पाका ४ सय ४८ जनाले श्रम स्वीकृति लिएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा मात्र मुलुकभरबाट ७ लाखभन्दा बढी वैदेशिक रोजगारीमा गएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन(कर्णाली प्रदेश) वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ४१ हजार २ सय ९७ रहेको छ । जसमध्ये ८० हजार १ सय ७२ जना महिला रहेका छन् ।

राष्ट्र बैंकका अनुसार यो संख्या नयाँ श्रम स्वीकृति र पुन: श्रम स्वीकृति लिनेसमेत हुन् । आर्थिक वर्ष २०७९/८० सम्ममा ७ लाख ७१ हजार ३ सय २७ जनाले श्रम स्वीकृति लिएका थिए । समीक्षा वर्षमा वैदेशिक रोजगारीको लागि स्वकिृति प्रदान गरिएकोमा कर्णाली प्रदेशको हिस्सा ३.२६ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीबाट स्वदेश फर्किने श्रमिकहरूमध्ये अधिकांशले पुनःश्रम स्वीकृति लिने गरेको राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ ।

वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश अदक्ष कामदार रहेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष १ लाख ४५ हजार ५ सय ४७ जना अदक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै ५ लाख ३२ हजार १ सय २३ जना दक्ष कामदार रोजगारीका सिलसिलामा विदेशमा गएका थिए । त्यस्तै अर्धदक्ष ६० हजार १ सय २३ र व्यावसायिक २ हजार ७ सय ७२ जना वैदेशिक रोजगारीमा गएका छन् भने त्यस्तै वैदेशिक रोजगारीमा जानेमध्ये ७ सय ३२ जना उच्च दक्ष कामदार रहेका छन् ।

Sharing Is Caring:

Leave a Comment