पुस १७, २०८१
सल्यान — यस वर्ष सल्यानबाट झन्डै ४१ करोड रुपैयाँको अदुवा निकासी भएको छ । कृषि विकास कार्यालयका अनुसार ८ हजार ९ मेट्रिक टन अदुवा निकासी भएको हो । गत वर्ष ८ हजार ४ सय ३१ मेट्रिक टन निकासीबाट झन्डै ४२ करोड आम्दानी भएको थियो ।
शारदा नगरपालिका–१४ र १५ माल्नेटाको ढारखानी बोसे अदुवाका लागि प्रख्यात मानिन्छ । जिल्लाको अन्य पालिकाका किसानले पनि अदुवालाई आयआर्जनको स्रोत बनाएका छन् ।
माल्नेटा ढारखानीका ज्ञानबहादुर घर्तीले १० रोपनीमा प्रत्येक वर्ष ८० क्विन्टल जति अदुवा उत्पादन गर्दै आएका छन् । यस वर्ष अदुवा बेचेर ८ लाखभन्दा बढी आम्दानी गरेको उनले बताए । माल्नेटाकै बुद्धिराम गिरीले पाँच रोपनीमा फलेको ६५ क्विन्टल अदुवा र बुर्नो अदुवा बेचेर ५ लाख कमाएका छन् ।
यहाँका किसानले १ हजार ४ सय २० हेक्टरमा बोसे अदुवा खेती गर्दै आएका छन् । मजदुरीका लागि भारतका विभिन्न स्थानमा भौंतारिन बाध्य स्थानीय अहिले खेतीमै रमाउन थालेका हुन् । अदुवा उत्पादनमा कमी आए पनि गत वर्षको भन्दा प्रतिकिलो १० रुपैयाँ बढी मूल्य पाएपछि किसान खुसी छन् । यसपालि ताजा अदुवा ५०, बुर्नो ८० र बिउ अदुवा १ सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भएको घर्तीले बताए ।
उनका अनुसार माल्नेटाबाट मात्रै झन्डै दुई करोडको ताजा, बुर्नो तथा बिउ अदुवा निकासी भएको छ । माल्नेटाका ५ सयभन्दा बढी किसान अदुवामा आत्मनिर्भर रहेको उनले जानकारी दिए । यहाँको अदुवा सुर्खेत, नेपालगन्ज, दाङ, काठमाडौं मात्र नभई भारतका विभिन्न सहरमा पुग्ने गरेको छ ।
कृषि विकास कार्यालयका सूचना अधिकारी ईश्वरी नारायण घर्तीले गत वर्ष २२ हजार मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष झन्डै २१ हजार मेट्रिक टन उत्पादन भएको जानकारी दिए । ५/६ मेट्रिक टन बिउ राख्ने गरेको र ४/५ मेट्रिक टन स्थानीय बजारमा बिक्री भएको उनले बताए । उनका अनुसार जिल्लामा उत्पादित अदुवा धेरैजसो भारतमा निकासी भएको छ । सल्यानका शारदा नगरपालिका, बाग्चौर नगरपालिका र सिद्धकुमाख गाउँपालिकामा सबैभन्दा बढी अदुवा उत्पादन हुने गरेको उनले बताए ।
बाग्चौर नगरपालिकाका कृषि विकास अधिकृत घनश्याम केसीले मूल्य बढ्ने आसमा केही किसानले अहिले पनि अदुवा बिक्री नगरेर राखेको बताए । बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्र भनेर चिनिने कपुरकोटका ६ वडाबाट गत वर्ष २ करोड ५० लाखको २ सय ९० मेट्रिक टन अदुवा
निकासी भएकोमा यो वर्ष पनि त्यत्तिनै परिमाणमा निकासी भएको पालिकाका कृषि अधिकृत चिरञ्जीवी पुरीले बताए ।