पुस १४, २०८१
काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले १४९ वटा मुलुकसँग व्यापार गरेको छ । त्यसमध्ये ३० मुलुकसँगको व्यापार नाफामा र ११८ मुलुकसँग घाटामा रहेको भन्सार विभागको तथ्यांक छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपैयाँको वस्तु आयात गर्दा ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँको मात्रै वस्तु निर्यात गरेको छ ।
विभागका अनुसार भारत र चीनलगायत ११८ मुलुकसँग नेपालको व्यापार घाटामा छ । भारत, चीन, अर्जेन्टिना, युक्रेन, अस्ट्रेलिया, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया,कतार, यूएई, फ्रान्स, भियतनाम, बहराइन, साउदी अरब, ओमान, कोरिया र क्यानडालगायत मुलुकसँग व्यापार घाटा छ ।
भारतबाट ४ खर्ब १० अर्ब ५५ करोड ६६ लाख ८४ हजार रुपैयाँको वस्तु आयात गर्दा नेपालले ५२ अर्ब १ करोड ३ लाख २९ हजार रुपैयाँको मात्रै वस्तु निर्यात गरेको छ ।भारतसँग मात्रै नेपालको ३ खर्ब ५८ अर्ब ५४ करोड ६३ लाख ५५ हजार रुपैयाँको व्यापार घाटा छ ।
चीनसँग १ खर्ब २९ अर्ब ६३ करोड १६ लाख ८ हजार रुपैयाँको व्यापार घाटा रहेको विभागको तथ्यांक छ । चीनबाट १ खर्ब ३१ अर्ब ३७ करोड ७४ लाख ३५ हजार रुपैयाँको वस्तु आयात गर्दा नेपालले १ अर्ब ७४ करोड ५८ लाख २६ हजार रुपैयाँको मात्रै वस्तु निर्यात गरेको छ ।
नेपालले घाटाको मात्र नभई नाफाको व्यापार समेत गर्दै आएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा ३० मुलुकसँग नेपालले नाफाको व्यापार गरेको छ । अफगानिस्तान, डेनमार्क, अस्ट्रिया, लाट्भिया, माल्दिभ्स, क्रोसिया, रुस, आइसल्यान्ड, मौरिसस, युगान्डा, इरान, माल्टा, सर्बिया, जाम्बिया, उज्बेकिस्तान, जर्जिया, बोस्निया, अरुबा, उरुग्वे, लेबनान, बहमास, सुडान र पनामालगायत ३० मुलुकसँग नेपालको व्यापार नाफामा देखिएको छ ।
अफगानिस्ताबाट १ करोड २३ लाख ९४ हजार रुपैयाँको आयात गर्दा ४० करोड ८१ लाख ५२ हजार रुपैयाँको निर्यात गरेको छ । अफगानितस्तासँग ३९ करोड ५७ लाख ५८ हजार रुपैयाँले नेपालको व्यापार नाफामा देखिएको छ । डेनमार्कसँग १८ करोड ९५ लाख २३ हजार रुपैयाँले नेपालको व्यापार नाफामा रहेको छ विभागले जनाएको छ ।
अस्ट्रियासँग ७ करोड ८० लाख १४ हजार, लाट्भियासँग १ करोड ७४ लाख ३७ हजार, माल्दिभ्ससँग १ करोड ४५ लाख ७६ हजार रुपैयाँले नेपालको व्यापार नाफामा छ । अरुबा, उरुग्वे, केम्यान आइस्ल्यान्ड, चाड, माली, सुडान, पनामा, पपुवा न्युगिनिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक मुलुकलाई नेपालले वस्तु निर्यात मात्रै गर्दै आएको छ ।