महोत्सवमय पोखरा 

Swastika Bhandari

पुस १४, २०८१

पोखरा — फेवाताल पारि रंगीचंगी हट एयर बेलुन उडिरहेका छन् । तालवारि लेकसाइडमा शनिबारदेखि सडक महोत्सव सुरु भएको छ । आइतबार र सोमबार फेवातालमा ड्रागन बोट रेस फेस्टिभल हुँदै छ । जल, जमिन र आकाशसम्म यतिबेला पोखरा महोत्सवमय छ । 

अंग्रेजी नयाँ वर्षका अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले लेकसाइडमा आयोजना गर्ने पोखरा सडक महोत्सवको २६औं संस्करण शनिबारबाट सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रूपमा पोखरालाई प्रवर्द्धन गर्ने उद्देश्यले लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव चलिरहेको छ ।

रेबान पोखराले ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ । पुस १७ सम्म हुने यो महोत्सव कोमागाने पार्कदेखि गैह्राको चौतारासम्मको क्षेत्रमा हुन्छ । सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गरे ।

महोत्सवको मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, झाँकी प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट छन् ।

खेलकुदतर्फ डुंगा दौड, वेटर दौड, टग अफ वार, मःम तथा ससेज खाने प्रतियोगिता रहनेछन् । सचेतनामूलक सडक नाटक र पोखराको पर्यटन प्रवर्द्धन, विकास, अवसर तथा चुनौतीमा केन्द्रित रहेर संवाद कार्यक्रमको पनि आयोजना गरिएको छ ।

पोखरा सेरोफेरोका स्थानीय उत्पादन, हस्तकला, चित्रकला, मूर्तिकला, कृषि, वनस्पतिलगायत उपजलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखिने महोत्सव संयोजक एवं रेबान पोखराका प्रथम उपाध्यक्ष विकास भट्टराईले बताए ।

सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान बनाउन, विदेशी मुद्रा आर्जन गर्न र रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको महोत्सवका प्रचारप्रसार संयोजक एवं रेबान पोखराका महासचिव वीरेन्द्र शेरचनले जनाए । ‘महोत्सवमा ४ देखि ५ लाख आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति हुने गरेको हाम्रो अनुमान छ,’ उनले भने, ‘विशेषगरी भारतीय पर्यटक यो समयमा नयाँ वर्ष मनाउन उल्लेख्य रूपमा पोखरा आउने गरेका छन् ।’

पोखरा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँ वर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेश जाने चलन रहेको रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले स्मरण गरे । ‘नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे,’ उनले भने, ‘तर विगत २५ वर्षदेखिको निरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँ वर्ष पोखरामा मनाउने वातावरण सिर्जना भएको छ ।’

महोत्सवकै कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमनमा निकै वृद्धि भएको उनले सुनाए । महोत्सवकै अवसरमा होटल तथा रेस्टुरेन्ट, प्याराग्लाइडिङलगायत छुटको पनि व्यवस्था गरेका छन् ।

पोखराको पर्यटन व्यवसाय ट्रेकिङ पर्यटनबाट चलेको छ । हिमाली क्षेत्र अन्नपूर्ण, धौलागिरि, मनास्लुमा चिसो बढेका कारण पर्यटक पदयात्रामा जान सक्दैनन् । पहिले पदयात्रामा पुग्ने पर्यटक पनि फर्किएर नयाँ वर्ष मनाउन भारत, थाइल्यान्ड र आफ्नै घर फर्कन्थे ।

यसरी नयाँ वर्ष मनाउन घर फर्कने पर्यटकलाई पोखरामै भुलाउने उद्देश्यले २५ वर्षअघि सुरु भएको पोखरा सडक महोत्सवमा अहिले देशैभरबाट आन्तरिक पर्यटक आउँछन् । पछिल्ला वर्ष पोखरा सडक महोत्सव देशकै महोत्सवका रूपमा विकास भइरहेको छ ।

सडक महोत्सव सुरु हुनुअघि सन् १९९७ सम्म पोखरामा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी कुनै कार्यक्रम हुँदैनथ्यो । अंग्रेजी नयाँ वर्षका बेला नेपालमा रहेका पर्यटक पनि नयाँ वर्ष र क्रिसमस मनाउन भारतको गोवा, थाइल्यान्ड र आफ्नै देश फर्कन्थे । त्यति बेला आन्तरिक पर्यटकलाई पर्यटकका रूपमा सम्मान गर्ने चलनै नभएको पहिलो पोखरा सडक महोत्सवका संयोजक गणेशबहादुर भट्टराई सम्झन्छन् ।

१९९८ मा पहिलोपल्ट लेकसाइड सडक महोत्सवका रूपमा सुरु भएको महोत्सव १९९९ देखि पोखरा सडक महोत्सवका रूपमा विकास भएको हो । बेलुन नेपाल प्रालि र पोखरा पर्यटन परिषद्को आयोजनामा पुस ९ देखि फेवाताल पारि पामेमा पहिलो बीवाईडी अन्तर्राष्ट्रिय बलुन फेस्टिभल चलिरहेको छ ।

पुस १७ सम्म हुने उक्त महोत्सवमा नेपालसहित १५ देशका पाइलट १७ बलुनसहित सहभागी छन् । सूर्योदय र सूर्यास्तको अवलोकन गर्ने गरी बलुन सञ्चालन गरिन्छ । हरेक साँझदेखि रातिसम्मै चर्चित कलाकारको प्रस्तुतिमा दर्शक रमाएका छन् ।

फेवातालमा आइतबार र सोमबार दोस्रो ड्रागन बोट रेस फेस्टिभल हुँदै छ । यसअघि २०८० को असारमा पहिलो फेस्टिभल भएको थियो । उक्त फेस्टिभललाई आवश्यक डुंगा गत वर्ष नै चीनले सहयोग गरेको थियो । दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुने चिनियाँ टोलीलाई लिएर न्यारोबडी जहाज बिहीबार पोखरा आएको थियो ।

फेस्टिभलमा नेपालका ११, चीनका ८ र सिंगापुरको १ गरी २० टोली सहभागी हुनेछन् । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, ड्रागन बोट एसोसिएसन नेपालको संयुक्त आयोजनामा ड्रागन बोट रेस हुन लागेको हो ।

पोखरामा महोत्सवको थालनी भने पोखरा उद्योग वाणिज्य संघले गरेको हो । २०४२ सालमा संघले पोखरा महोत्सव आयोजना गरेको थियो । उक्त महोत्सवकै निरन्तरताका रूपमा हाल संघले पोखरा प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला गर्दै आएको छ । २०४२ सालको मेलापछि नै अन्य सहरमा महोत्सव आयोजना गर्ने लहर चलेको संघका अध्यक्ष गोकर्ण कार्की बताउँछन् ।

संघले उक्त महोत्सव २०५९ मा पश्चिमाञ्चल औद्योगिक व्यापार मेला, २०६१ मा राष्ट्रिय शैक्षिक मेला, महिला उद्यमी मेला हुँदै २०६३ देखि निरन्तर रूपमा राष्ट्रिय औद्योगिक व्यापार मेला गर्दै आएको छ । संघले यसपल्ट माघ १० देखि १७ सम्म ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आईटी महोत्सव गर्दै छ ।

लेखनाथ उद्योग वाणिज्य संघले तालचोकमा पुस १८ देखि माघ १ सम्म २०औं लेखनाथ महोत्सव आयोजना गर्दै छ । संघले २०५८ देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ बाट वार्षिक रूपमा लेखनाथ महोत्सव गर्दै आएको छ ।

स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन, हस्तकलाका वस्तुहरूको बजार प्रवर्द्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सीप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सृजनशीलतामा जोड, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित वस्तु तथा सेवाहरूको प्रदर्शनी, जातीय वेशभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना एवं नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

महोत्सवमा कृषि उत्पादन, भाडावर्तन, फर्निचर तथा इलेक्ट्रिकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रदर्शनी, बैंक तथा वित्तीय संघसंस्थाहरू, डेरी तथा फलफूल, होटल तथा रेस्टुरेन्टका गरी ३ सय ३५ स्टल रहनेछन् ।

युनाइटेड क्लब पोखराले पुस २५ देखि माघ ७ सम्म पोखराको अमरसिंह चौरमा १३औं पोखरा महोत्सव गर्दै छ । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गर्दै आएको युनाइटेड क्लबले महोत्सवबाट आम्दानी भएको रकम युनाइटेड छात्राबास निर्माणको खर्चनेछ ।

क्लबले पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा गरिब तथा आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई लक्ष्य गर्दै युनाइटेड छात्राबास निर्माण कार्य सुरु गरिसकेको छ ।

Sharing Is Caring:

Leave a Comment