नेरु हालसम्मकै कमजोर, अमेरिकी डलरमा नयाँ रेकर्ड

Swastika Bhandari

पुस १४, २०८१

काठमाडौँ — अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । डलर लगातार बलियो बनिरहँदा नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३७.१६ रुपैयाँ (बिक्री) दर तोकेको छ ।

यो हालसम्मकै उच्च हो । गत शुक्रबार एक अमेरिकी डलरको विनिमय दर १३६.७३ रुपैयाँ थियो ।

पछिल्ला सातामा हरेक दिन अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही कारण अमेरिकी डलरको विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको हो । राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०२ प्रतिशतले अवमूल्यन भएको छ । गत वर्षको सोही

अवधिमा नेपाली रुपैयाँ १.१८ प्रतिशतले अवमूल्यन भएको थियो । गत कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३४.७४ रुपैयाँ पुगेको छ । गत असार मसान्तमा उक्त विनिमय दर १३३.३६ रुपैयाँ थियो ।

अमेरिकी डलरको भाउ बढोस् वा घटोस्, त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पर्दैन । तर डलरको भाउमा आएको उतारचढावले भारतीय मुद्रा (भारु) प्रत्यक्ष प्रभावित हुने र त्यसको असरले नेपाली मुद्रा बलियो वा कमजोर हुने गरेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रभावित हुन्छ ।

शनिबार राति ८ बजेसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८५.३९ पुगेको छ । पछिल्ला केही सातायता डलरको तुलनामा भारु पनि निरन्तर अवमूल्यन हुँदै आएको छ । यद्यपि गत बुधबार यस्तो विनिमय दर ८५.४१ थियो । पछिल्ला महिनामा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै अमेरिकी डलर निरन्तरजसो उकालो लागिरहेको जानकार बताउँछन् ।

ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेका थिए । अब राष्ट्रपति बनेपछि घोषणापत्रमा उल्लेख भएका विषय कार्यान्वयन हुने अनुमानमा आधारमा डलरप्रति लगानीकर्ता आकर्षण बढेको हो ।

आगामी जनवरीमा राष्ट्रपतिको कार्यभार सम्हालेपछि ट्रम्पले डलरबारे कस्तो नीति लिन्छन्, त्यसका आधारमा यसको भाउ अझै बढ्ने वा घट्ने निश्चित हुनेछ । तर अर्थतन्त्र र राष्ट्रियताका सम्बन्धमा ट्रम्पका निर्णयहरू आक्रामक नै हुने भएकाले घोषणापत्रमा उल्लिखित अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने निर्णय कार्यान्वयनमा आएपछि अमेरिकी डलरको भाउ झनै बढ्ने जानकार बताउँछन् ।

डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ ।

डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पर्छ । रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सकिन्छ ।

डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । यद्यपि पछिल्ला महिनामा आयात धेरै बढ्न नसकेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व त्यति बढेको छैन । विदेशी लगानी फिर्ता, विदेशी लगानीको लाभांश वितरणलगायतमा पनि धेरै रकम खर्चिनुपर्ने हुन्छ । त्यो नेपालका लागि नोक्सानी हो ।

यस्तै डलरको मूल्य बढ्दा विदेश अध्ययन, भ्रमण, स्वास्थ्य उपचारमा धेरै रकम खर्च हुने भएकाले यो पनि नेपालीका लागि बेफाइदा हो ।

Sharing Is Caring:

Leave a Comment