बीपी राजमार्गको अध्ययन टुंगिँदै, निर्माणमा साढे ९ अर्ब लाग्ने

Swastika Bhandari

पुस १२, २०८१

काठमाडौँ — बाढीले क्षतिग्रस्त बीपी राजमार्ग निर्माणका लागि थालिएको अध्ययन अन्तिम हुँदै गर्दा सडक विभागले बजेटको जोहो भने अझै गर्न सकेको छैन । निर्माणमा ढिला गरे फेरि बर्खा सुरु हुन्छ । त्यो बेला अहिले बनाइएका अस्थायी संरचनाले काम गर्नेछैन । खोलो तर्काएर जसोतसो सडक सञ्चालन गरिएको विभागले जनाएको छ । 

अध्ययन रिपोर्ट अन्तिम चरणमा आइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । ‘अहिलेसम्म निर्माणमा अनुमानित ९ अर्ब ६२ करोड लाग्ने देखिएको छ,’ उनले भने, ‘पछि निर्माण स्ट्रक्चर परिवर्तन भए यो रकम तलमाथि हुन सक्छ ।’

निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) पनि इच्छुक देखिएको उनले सुनाए । ‘पूरै होइन, सडकखण्डको केही भागमा काम गर्न जाइका इच्छुक देखिएको हो,’ उनले भने, ‘यो विषय छलफलकै क्रममा छ ।’

जाइका कसरी सहभागी हुने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । निर्माणमा जाने गरी अध्ययन भइरहँदा छुटेका विषय थप गर्न अध्ययन टोलीलाई सुझाइएकाले यसलाई अन्तिम रूप दिन समय लागेको शर्माले बताए ।

‘पुसभित्र अध्ययनको काम टुंगिन्छ,’ शर्माले भने, ‘बजेटका लागि अर्थ मन्त्रालयलाई भनिरहेका छौं ।’ अर्थबाट स्रोत खोजी भइरहेको जानकारी पाएको उनले सुनाए । बजेटका लागि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्ने विषय अर्थबाट अझै टुंगिसकेको छैन ।

एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकको थोरै सहुलियतपूर्ण ऋण लिएर राजमार्ग निर्माण गर्ने तयारी पनि रहेको शर्माले जनाए । ‘प्राधिकरणको कोषको बजेट उपलब्ध गराउनेबारे छलफल भइरहेको छ,’ उनले भने । सबै काम भनेअनुसार अघि बढे फागुनबाट ठेक्का प्रक्रिया अघि बढाउन समस्या नहुने उनको भनाइ छ ।

दैनिक सवारी चाप उच्च रहने यस सडक निर्माणमा अहिलेसम्म बजेटको टुंगो लागिनसकेको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बताए । ‘अहिलेसम्म बजेट व्यवस्थापन हुन सकेको छैन,’ उनले भने, ‘जसले गर्दा बजेटबारे अन्योल कायमै छ ।’ अहिले निर्माणको समय रहेको र फेरि बर्खायाम सुरु भएपछि काम गर्न समस्या हुने उनले जनाए ।

‘बर्खाको बेला मध्यपहाडी राजमार्गको केही खण्डलाई वैकल्पिक मार्ग बनाएर चलाउने योजनामा थियौं,’ पोखरेलले भने, ‘जताततै पहिरो छ, एउटा पहिरो हटाउनेबित्तिकै अर्को पहिरो खस्ने खतरा छ ।’

उक्त मार्ग साना सवारीसाधनलाई मात्र उपयुक्त हुने उनको भनाइ छ । अस्थायी रूपमा अहिलेकै सडकलाई व्यवस्थापन गरेर बर्खामा चलाउन सकिए उपयुक्त हुने उनको तर्क छ । ‘अहिले निर्माणमै जाने गरी अध्ययन गरिएको हो,’ उनले भने, ‘अध्ययन प्रतिवेदन पेस गरेपछि विभागमा पेस हुन्छ, त्यो हेरेर के कसरी अगाडि बढ्न सकिन्छ, निर्णय हुन्छ ।’

प्रारम्भिक अध्ययनमा बीपी राजमार्ग बनाउन करिब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । बजेट व्यवस्थापन भएपछि तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का गर्ने योजनामा सडक विभाग छ । ठेक्का प्रक्रिया फागुनबाट सुरु भए पनि निर्माणको काम वैशाखभित्र सुरु गरिसक्ने महानिर्देशक पोखरेलको दाबी छ ।

काभ्रेभन्ज्याङ–नेपालथोक खण्डको १२ किलोमिटर सडकमा गत असोज १० देखि १२ सम्म आएको बाढीपहिरोले क्षति गरेको छ । यसको ८.७ किमि सडकखण्ड रोशी खोलाले बगाएको छ । अहिले अस्थायी डाइभर्सन बनाएर यातायातका साधन चलाइएको छ ।

तर सवारी चाप उच्च भएकाले दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । काभ्रेको चौकीडाँडादेखि मुल्कोटसम्मको सडकमा समस्या छ । त्यसमा पनि बढी समस्या चौकीडाँडादेखि नेपालथोक खण्डमा छ ।

बाढीले सिन्धुली खण्डमा कम र काभ्रे खण्डमा बढी क्षति पुर्‍याएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेलदेखि महोत्तरीको बर्दिबाससम्म १ सय ५८ किमि जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो । करिब २० वर्ष लगाएर यसको निर्माण गरिएको थियो । राजधानीलाई पूर्वी तराईसँग जोड्ने गरी सन् १९९६ मा यो सडक निर्माण सुरु गरेर २०१५ मा सम्पन्न गरी जापानले नेपाललाई हस्तान्तरण गरेको थियो ।

Sharing Is Caring:

Leave a Comment