पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न प्राधिकरणका पाँच विकल्प

Swastika Bhandari

पुस १२, २०८१

पोखरा — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पुग्दासमेत हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पुस १७ (जनवरी १) मा पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्दै छ । उक्त अवधिमा हालसम्म ७ वटा चार्टर्ड र ३ अन्य अन्तर्राष्ट्रिय उडान भएका छन् ।

बिहीबार आठौं अन्तर्राष्ट्रिय चार्टर उडान चीनको छेङ्दुबाट सिचुवान एयरलाइन्सले गरेको छ । फेवातालमा पुस १४ र १५ मा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुने १ सय २६ जनाको चिनियाँ टोलीलाई लिएर न्यारोबडी जहाज बिहीबार पोखरा विमानस्थल ओर्लिएको हो । पोखरामा सिचुवान एयरको तेस्रो चार्टर्ड उडान हो ।

यसअघि चीन, भुटान र भारतबाट चार्टर उडान भएका थिए । सन् २०२३ जनवरी १ मा विमानस्थल उद्घाटन हुँदा हिमालयन एयरलाइन्सको जहाजले काठमाडौंबाट अन्तर्राष्ट्रिय मापदण्डमा पोखरा उडान भरेको थियो । जुन २१ मा चीनको छेङ्दुबाट सिचुवान एयरलाइन्सको ‘चार्टर्ड’ जहाज ८४ जना चिनियाँ खेलाडी र पाहुना लिएर आएको थियो ।

उनीहरू फेवातालमा आयोजित पहिलो ड्रागन बोट रेस फेस्टिभलमा सहभागी भएका थिए । सेप्टेम्बर ९ मा रित्तै आएको भुटानको ड्रुक एयरको ‘चार्टर्ड’ जहाजले पोखराबाट ४५ जना विदेशी पाहुना बोकेर फर्किएको थियो ।

सन् २०२३ कै नोभेम्बर ८ मा चिनियाँ जनमुक्ति सेनाको दुईवटा जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर आएको थियो । नोभेम्बर १० र ११ मा हिमालय एयरलाइन्सको जहाजले काठमाडौं–पोखरा उडान भर्‍यो । सन् २०२३ को नोभेम्बर २३ मा हिमालय एयरलाइन्स चीनको कुन्मिङबाट ९५ धावक बोकेर पोखरा आयो ।

यस वर्ष नोभेम्बर ७ (कात्तिक २२) मा सिचुवान एयरलाइन्सले क्रसकन्ट्री दौडमा भाग लिने १ सय २० जना खेलाडी र चिनियाँ पाहुना लिएर कुन्मिङबाट पोखरा आएको थियो । अमेरिकाको विङटिप कर्पोरेसनको जेट विमान मंसिर २ मा पार्किङका लागि काठमाडौंबाट पोखरा आएको थियो । मंसिर १३ मा युरोपेली कम्पनी जेल एयरको सिंगल इन्जिन जेट विमान चार्टर्ड उडानमा चालक दल र यात्रुसहित ४ जना लिएर भारतको नयाँदिल्लीबाट पोखरा आएको थियो ।

पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शीघ्र सञ्चालन गर्नेसम्बन्धमा पोखराका व्यवसायीले नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसँग बुधबार पोखरामा छलफल गरे । नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले आयोजना गरेको छलफलमा प्राधिकरणको ‘जम्बो’ टोली सहभागी थियो । छलफलमा पोखराका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरे । व्यवसायीको आग्रहलाई सम्बोधन गर्दै क्यानका पदाधिकारीले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पाँच उपाय प्रस्तुत गरे ।

त्रिभुवन विमानस्थलको भार विभाजन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्षमताभन्दा बढी भार बेहोरिरहेकाले उक्त भार पोखरा र भैरहवामा विभाजन गर्न सके दुवै विमानस्थल चल्ने नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । सरकारले नै त्यसप्रति विशेष ध्यान दिनुपर्ने र पोखराका राजनीतिक नेतृत्व, व्यवसायीले त्यसतर्फ पहल गर्नुपर्ने उनको भनाइ छ ।

‘त्रिभुवन विमानस्थल टर्मिनलको वार्षिक क्षमता ५० लाख यात्रु हो । तर अहिले एक करोडलाई सेवा दिनुपरेको छ,’ अधिकारीले भने, ‘५० लाखलाई पोखरा र भैरहवामा बाँड्न सक्ने हो भने अन्तर्राष्ट्रिय उडानलाई समस्या हुँदैन ।’ त्रिभुवन विमानस्थलको क्षमताले नधान्ने अवस्थामा नेपाल ‘एयर लक्ड’ हुने खतराबाट बचाउन राज्यले रणनीतिक हिसाबले पोखरा र भैरहवाको विमानस्थल बनाएको उनको भनाइ छ ।

‘त्रिभुवन विमानस्थलको ट्राफिकलाई पोखरा र भैरहवामा लैजानुपर्छ भन्नेतर्फ हाम्रो ध्यान पुगेको छैन । यसलाई राज्यले नियमन गर्नुपर्‍यो । अबको एजेन्डा यो हुनुपर्छ,’ अधिकारीले भने, ‘देशको कुल गार्हस्थ्य उत्पादनमा पोखराले पनि योगदान गरेको छ । ट्राफिक राज्यको हुन्छ,

हाम्रो बराबरको भाग लेउ भन्नुपर्‍यो । प्राधिकरणको महानिर्देशकले मात्रै यसो गर्न सक्दैन । राज्यलाई नै झकझक्याउनुपर्छ ।’ काठमाडौंमा अन्तर्राष्ट्रिय जहाज अवतरण हुँदा र पोखरा र भैरहवामा अवतरण हुँदा प्राधिकरणको आम्दानीमा फरक नपर्ने र ऐनले नै प्राधिकरणलाई नेपालको कुनै पनि विमानस्थलको रन वे तोकेर अवतरण गर भन्ने अधिकार दिएको उनले सुनाए ।

राष्ट्रिय ध्वजावाहकलाई अनिवार्य उडान, चीनलाई दबाब

राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई सातामा एउटा उडान अनिवार्य पोखराबाट गर्न प्राधिकरणले आग्रह गरेको महानिर्देशक अधिकारीले बताए । त्यसो नगरे उडान कटौती गर्ने बताएपछि हिमालय एयरलाइन्सले आगामी मार्चदेखि पोखराबाट तिब्बतको ल्हासासम्म सातामा एउटा उडान भर्ने तयारी गरेको उनले सुनाए ।

‘नेपाल एयरलाइन्ससँग भएका चारवटा जहाजमध्ये दुईवटा मात्रै न्यारोबडी पोखराबाट उड्न सक्छन् । त्यसमध्ये एउटा जहाज सी–चेकका लागि गएको छ,’ उनले भने, ‘फर्किएपछि उसले पनि पोखराबाट सातामा एउटा अन्तर्राष्ट्रिय उडान भर्नुपर्छ ।’ विदेशी एयरलाइन्स कम्पनीले यहाँको राष्ट्रिय ध्वजावाहकले के–कति नाफा गरेको छ भन्ने हेरेर मात्रै अन्तर्राष्ट्रिय उडान भर्ने भएकाले घरेलु जहाज कम्पनीलाई बलियो बनाउन आवश्यक रहेको उनले उल्लेख गरे । पोखरा विमानस्थल चीनले बनाएकोले उसलाई पनि नियमित उडानका लागि दबाब दिनुपर्ने उनले बताए ।

भने, ‘चीनबाट काठमाडौं आउने जहाजमध्ये १० प्रतिशतलाई पोखरा ल्याउन दबाब दिनुपर्छ । सिचुवान एयरलाइनसले त्यो सुरुवातगर्न सक्छ ।’

व्यवसायीको सक्रियता आवश्यक

जहाज कम्पनीलाई पोखराबाट उडान भर भनेर दबाब दिन नसक्ने भएकाले यहाँका व्यवसायी नै बढी सक्रिय हुनुपर्ने प्राधिकरणका उपमहानिर्देशक दीपेन्द्रलाल कर्णले बताए । ‘जबसम्म यहाँको बजार जुर्मुराउँदैन, तबसम्म जबर्जस्ती उडान गर भनेर चल्दैन,’ उनले भने, ‘यहीँका व्यवसायीले विदेशमा प्यासेन्जर खोज्नुस् । चार्टरबाट सुरु गर्नुस् ।’

पोखराबाट टिकट बिक्री गर्ने व्यवसायीले हालसम्म एउटा पनि चार्टर उडान ल्याउन नसकेको सन्दर्भ प्रस्तुत गर्दै उनले विमानस्थल सञ्चालनमा पोखराका व्यवसायीको साथ आवश्यक रहेको जनाए । ‘वायु सेवा कम्पनीलाई ठाउँ राम्रो वा नराम्रोसँग फरक पर्दैन, उसले व्यवसायमा नाफा हेर्छ,’ उनले भने, ‘काठमाडौंमा पनि व्यवसायीले प्याकेज बेचेर चार्टर जहाज ल्याइरहेका छन् । पोखराले पनि त्यसै गर्नुपर्छ ।’

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दा वायुसेवा कम्पनीलाई नाफा हुन्छ भनेर आश्वस्त बनाउने जिम्मा स्थानीय व्यवसायीको भएको प्राधिकरणका अर्का उपमहानिर्देशक एवं कर्पोरेट डाइरेक्टर हंसराज पाण्डेको भनाइ छ । पोखरा विमानस्थलको ऋण तिर्नुपर्दा यो वर्षदेखि प्राधिकरणको वित्तीय अवस्था डामाडोल बनिसकेको उनले सुनाए ।

‘पोखरा विमानस्थलको ऋण तिर्दा प्राधिकरण आफैं ढाड भाँचिएको अवस्थामा छ,’ उनले भने, ‘वर्षमा दुई अर्ब तिर्नुपर्छ तर ऋण तिर्नुपर्‍यो भनेर आत्तिएका छैनौं । चीनको ऋण तिर्न पनि विमानस्थल चल्नैपर्छ ।’ पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो दायित्व राष्ट्रिय ध्वजावाहकको भए पनि जहाजको संख्या कम हुनु दुर्भाग्य भएको उनले बताए ।

नेपाल वायुसेवा निगमका ४ मध्ये दुईवटा जहाज चलेको र हवाई सम्झौता भएका ४३ देशका ८० गन्तव्यमा सेवा दिनुपरेको उनको भनाइ छ । ‘यस्तै हो भने विदेशीलाई आएर हाम्रो एयरपोर्ट चलाइदेऊ भन्नुको विकल्प छैन,’ उनले भने ।

गण्डकीका श्रमिकलाई पोखराबाट उड्ने व्यवस्था

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वैदेशिक रोजगारीमा जाने गण्डकी प्रदेशका श्रमिकलाई यहीँबाट उड्ने व्यवस्था गर्नुपर्ने प्राधिकरणका पदाधिकारीले सुझाए ।

गण्डकी प्रदेशका श्रमिकलाई पोखराबाटै उडाउन सके त्रिभुवन विमानस्थलको यात्रु चाप पनि कम हुने अधिकारीको भनाइ छ । ‘वैदेशिक रोजगारीमा जाने ८० प्रतिशतभन्दा बढी तराई क्षेत्रमा छन्, त्यसैले भैरहवामा पनि सम्भावना देखेका हौं,’ उनले भने, ‘गण्डकी प्रदेशबाट जाने श्रमिकलाई पोखराबाटै जानुपर्ने बनाऔं ।’

पोखरा नेपालको मध्यभागमा रहको र काठमाडौंपछि सबैभन्दा धेरै आन्तरिक उडान संख्या र यात्रु चाप भएको विमानस्थल पोखरा भएकाले अन्तर्राष्ट्रिय उडानको सम्भव हुने पर्यटन व्यवसायी वासु त्रिपाठीको भनाइ छ । ‘भैरहवामा नियमित प्यासेन्जर नपाएको देखाएर पोखरामा उडान राख्न नहुने कतिपयको चाहना हुन सक्छ, त्यो चाहनालाई पूरा हुन दिनुहुँदैन,’ उनले भने ।

गन्तव्यस्थलको पहिचान

पोखरामा सबैभन्दा धेरै यात्रु आउजाउ गर्ने गन्तव्य स्थलको पहिचान गर्न आवश्यक रहेको प्राधिकरणका निर्देशक विक्रम गौतमले बताए । ‘अन्तर्राष्ट्रिय एयरलाइन्सलाई पोखराबाट बिजनेस दिने यी–यी गन्तव्य हुन् भनेर भन्न सक्नुपर्छ,×’ उनले भने, ‘कम्तीमा दुईवटा त्यस्ता विशिष्ट गन्तव्यस्थल पहिचान गर्नुपर्छ ।’ व्यवसायीले गन्तव्यस्थल तोकेर आफ्नो लक्ष्य निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

‘पोखरा विमानस्थल सोकेसमा राखिएको राम्रो खेलौना हो, बेच्ने जिम्मा व्यवसायीको हो,’ गौतमले भने । पोखरा विमानस्थल बनेपछि पर्यटक वृद्धि हुने आशामा व्यवसायीले पूर्वाधारमा लगानी गरेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले जनाए ।

‘अहिले लगानी डुब्ने अवस्था छ,’ उनले भने । पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न दबाब दिन पटक–पटक प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले स्मरण गरे ।

Sharing Is Caring:

Leave a Comment