१२ पुस, काठमाडौं । सगरमाथा आधार शिविरसम्मको यात्रालाई सडकमार्गको पहुँचले अब अझ सहज बनाउने भएको छ । सोलुखुम्बुकाे खुम्बु पासाङल्हामु गाउँपालिकास्थित सुर्के भन्ने स्थानसम्म सडक ट्रयाक खुलेको छ । यसले अब कम्तीमा हिउँदयामको समयमा सगरमाथा क्षेत्रमा मौसमका कारण हवाईजहाज नचल्दा लुक्लामै रोकिनुपर्ने बाध्यता हट्ने भएको छ ।
गाउँपालिका कार्यालयका अनुसार सोलुखुम्बुको सल्लेरी हुँदै खुम्बु पासाङल्हामुस्थित सुर्केसम्म सडक सेवा सुचारु भएको छ । सुर्केसम्मको सडकको २० पुसका दिन उद्घाटन गर्ने तयारी छ ।
गाउँपालिका कार्यालयका अनुसार ङिम दोर्जी पर्यटन सडक खण्डअन्तर्गत छेउबास भीरमा अवरुद्ध भएको सडक र दूधकोशी नदीमा ह्युम पाइप राखेर सडक खाेलेर सुर्केसम्म सवारीसाधन पुग्न योग्य बनाइएको छ । यहाँ अहिले दुईवटा बस, सुमो, बलेरोलगायत सवारीसाधन सुर्केसम्म पुगेका छन् । ढुवानीका साधन ट्रक, टिपरसमेत सुर्केसम्म पुग्न थालेका छन् ।
पर्यटन अभियन्ता चक्र कार्कीका अनुसार सुर्केसम्म पुगेका पदयात्री अब लुक्ला उकालो समेत गइरहनु पर्दैन । सुर्केबाट करिब डेढ घण्टाको पैदल यात्रापछि सीधै फाक्दिङ भन्ने स्थानमा पुग्न सकिन्छ । जुन लुक्ला र नाम्चेबजारको बीचमा पर्छ । लुक्लाबाट एक घण्टा ओरालो झरेसँगै सुर्के पुग्न सकिन्छ ।
यसप्रकार लुक्लामा हवाई यात्रा मौसमका कारण अवरुद्ध भएको समयमा पनि पदयात्री तथा स्थानीयहरूले सोलुको सल्लेरी हुँदै सडक मार्गबाट यात्रा गर्न सक्ने उनले जानकारी दिए । यद्दपि यो सडक कच्ची रहेसम्म वर्षात वा हिँउ पर्ने समयमा भने प्रभावकारी रहिरहने छैन । यसका लागि संघ, प्रदेश र स्थानीय सरकारले उच्च प्राथमिकता दिएर सडक कालोपत्रे गर्नुपर्ने उनको भनाइ छ ।
गत मनसुनमा थामे खोलामा आएको बाढीले पुल बगाएसँगै खुम्बु पासाङल्हामु क्षेत्रमा सडक यातायात अवरुद्ध भएको थियो । खुम्बु पासाङल्हामु गाउँपालिका र माप्य दूधकोसी गाउँपालिकाको संयुक्त प्रयासमा सडक तथा खोला डाइभर्सन निर्माण गरिएको हो । दूधकोसी वारिपारिको बाटो निर्माणको जिम्मेवारी माप्य दूधकोसी गाउँपालिकाले लिएको थियो । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले भने ह्युम पाइप खरिद र ढुवानीको काम गरेको थियो । सुर्केसम्म सडक खोल्नुअगाडि सल्लेरी–जुभिङ हुँदै थामडाँडासम्म सडक चल्ने गरेको थियो । थामडाँडाबाट चार घण्टाको पैदल यात्रामा लुक्ला पुगिन्छ ।
सोलुखुम्बुको खुम्बु क्षेत्र सडक सञ्जालमा भने २०७७ सालमै जोडिएको हो । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र माप्य दूधकोसी गाउँपालिकाको सीमामा पर्ने दूधकोसी अर्लाङघाटमा पुल निर्माण भएपछि सोलुखुम्बुको माथिल्लो भेग सडक सञ्जालमा जोडिएको हो ।
सडक नबन्दासम्म सल्लेरीबाटै पैदल यात्रा गर्नुको विकल्प थिएन । अहिले सडक यात्रा सहज नहुनु र मौसमका कारण जहाज नचल्दा खुम्बु क्षेत्रमा जाने पर्यटक कुनै समय एकसाता भन्दा लामो समय लुक्लामा रोकिनु पर्ने बाध्यता रहेको छ । सगरमाथा आधार शिविरतर्फ जाने पर्यटकका लागि लुक्ला प्रवेशद्वार मानिन्छ । पर्वतारोहण र पदयात्राका सिलसिलामा हरेक वर्ष हजारौं आन्तरिक तथा बाह्य पर्यटक खुम्बु क्षेत्रमा पुग्ने गर्छन् ।
ट्याक्टर चलाउन रोक
खुम्बु पासाङल्हामु गाउँपालिका-१ स्थित हेल्कुदेखि माथिको सडकमा भने ट्याक्टर सञ्चालन नगर्न गाउँपालिकाले सूचना जारी गरेको छ । हेल्कुदेखि सुर्केसम्म ट्रयाक खोल्ने काम सम्पन्न भएपनि स्तरोन्नति गर्नुपर्ने भन्दै गाउँपालिकाले ११ पुसदेखि ट्याक्टर नचलाउन भनेको छ । अत्यावश्यक मालबाहक र यात्रुबाहक सवारीसाधन चलाउन भने रोक लगाइएको छैन । अन्य सवारी साधनको तुलनामा ट्याक्टर चलाउँदा सडक बढी बिग्रने गर्छ ।