पुस ११, २०८१
पोखरा — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पुग्दा समेत हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पुस १७ (जनवरी १) मा पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्दै छ । उक्त अवधिमा हालसम्म ७ वटा चार्टर्ड र ३ अन्य अन्तर्राष्ट्रिय उडान भएका छन् ।
विहिबार आठौं अन्तर्राष्ट्रिय चार्टर उडान चीनको छेङ्दुबाट सिचुवान एयरलाइन्सले गर्दै छ । फेवा तालमा पुस १४ र १५ मा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुने १ सय २६ जनाको चिनियाँ टोलीलाई लिएर न्यारोबडी जहाज बिहिबार विहान ९:५० बजे पोखरा विमानस्थल ओर्लन लागेको हो । उक्त विमान पोखरामा एक घण्टा बसेर काठमाडौं हुँदै फर्कने छ । सिचुवान एयरको यो पोखरामा तेस्रो चार्टर्ड उडान हो ।
यसअघि चीन, भुटान र भारतबाट चार्टर उडान भएका थिए । सन् २०२३ जनवरी १ मा विमानस्थल उद्घाटन हुँदा हिमालयन एयरलाइन्सको जहाजले काठमाडौंबाट अन्तर्राष्ट्रिय मापदण्डमा पोखरा उडान भरेको थियो । जुन २१ मा चीनको छेङ्दुबाट सिचुवान एयरलाइन्सको ‘चार्टर्ड’ जहाज ८४ जना चिनियाँ खेलाडी र पाहुना लिएर आएको थियो ।
उनीहरू फेवातालमा आयोजित पहिलो ड्रागन बोट रेस फेस्टिभलमा सहभागी भएका थिए । सेप्टेम्बर ९ मा रित्तै आएको भुटानको ड्रुक एयरको ‘चार्टर्ड’ जहाजले पोखराबाट ४५ जना विदेशी पाहुना बोकेर फर्किएको थियो ।
सन् २०२३ कै नोभेम्बर ८ मा चिनियाँ जनमुक्ति सेनाको दुईवटा जहाज जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत बोकेर आएको थियो । नोभेम्बर १० र ११ मा हिमालय एयरलाइन्सको जहाजले काठमाडौं–पोखरा उडान भर्यो । सन् २०२३ को नोभेम्बर २३ मा हिमालय एयरलाइन्स चीनको कुन्मिङबाट ९५ धावक बोकेर पोखरा आयो ।
यस वर्ष नोभेम्बर ७ (कात्तिक २२) मा सिचुवान एयरलाइन्सले क्रसकन्ट्री दौडमा भाग लिने १ सय २० जना खेलाडी र चिनियाँ पाहुना लिएर कुन्मिङबाट पोखरा आएको थियो । अमेरिकाको विङटिप कर्पोरेसनको जेट विमान मंसिर २ मा पार्किङका लागि काठमाडौंबाट पोखरा आएको थियो । मंसिर १३ मा युरोपेली कम्पनी जेल एयरको सिंगल इन्जिन जेट विमान चार्टर्ड उडानमा चालक दल र यात्रुसहित ४ जना लिएर भारतको नयाँ दिल्लीबाट पोखरा आएको थियो ।
पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शीघ्र सञ्चालन गर्ने सम्बन्धमा पोखराका व्यवसायीले नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसँग बिहीबार पोखरामा छलफल गरेका छन् । नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले आयोजना गरेको छलफलमा प्राधिकरणको ‘जम्बो’ टोली सहभागी थियो ।
छलफलमा पोखराका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका थिए । व्यवसायीको आग्रहलाई सम्बोधन गर्दै क्यानका पदाधिकारीले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पाँच उपाय प्रस्तुत गरे ।
त्रिभुवन विमानस्थलको भार विभाजन
नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन विमानस्थलले हाल क्षमताभन्दा बढी भार ब्यहोरिरहेकाले उक्त भार पोखरा र भैरहवामा विभाजन गर्न सके दुबै विमानस्थल चल्ने बताएका छन् ।
छलफलमा उनले सरकारले नै त्यसप्रति विशेष ध्यान दिनुपर्ने र पोखराका राजनीतिक नेतृत्व, व्यवसायीले त्यसतर्फ पहल गर्नुपर्ने उनले बताए । ‘त्रिभुवन विमानस्थल टर्मिनलको वार्षिक क्षमता ५० लाख यात्रु हो तर अहिले एक करोडलाई सेवा दिनुपरेको छ,’ उनले भने, ‘५० लाखलाई पोखरा र भैरहवामा बाँड्न सक्ने हो भने अन्तर्राष्ट्रिय उडानलाई समस्या हुँदैन ।’
त्रिभुवन विमानस्थलको क्षमताले नधान्ने अवस्थामा नेपाल ‘एयर लक्ड’ हुने खतराबाट बचाउन राज्यले रणनीतिक हिसाबले पोखरा र भैरहवाको विमानस्थल बनाएको उनको भनाइ थियो ।
‘त्रिभुवन विमानस्थलको ट्राफिकलाई पोखरा र भैरहवामा लैजानुपर्छ भन्नेतर्फ हाम्रो ध्यान पुगेको छैन । यसलाई राज्यले नियमन गर्नुपर्यो । अबको एजेन्डा यो हुनुपर्छ,’ उनले भने, ‘देशको कुल गार्हस्थ उत्पादनमा पोखराले पनि योगदान गरेको छ । ट्राफिक राज्यको हुन्छ, हाम्रो बराबरको भाग लेउ भन्नुपर्यो । प्राधिकरणको महानिर्देशकले मात्रै यसो गर्न सक्दैन । राज्यलाई नै झक्झक्याउनुपर्छ । ’
काठमाडौंमा अन्तर्राष्ट्रिय जहाज अवतरण हुँदा र पोखरा र भैरहवामा अवतरण हुँदा प्राधिकरणको आम्दानीमा फरक नपर्ने र ऐनले नै प्राधिकरणलाई नेपालको कुनै पनि विमानस्थलको रन वे तोकेर अवतरण गर भन्ने अधिकार दिएको उनले सुनाए ।
राष्ट्रिय ध्वजावहाकलाई अनिवार्य उडान, चीनलाई दबाब
महानिर्देशक अधिकारीले राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई सातामा एउटा उडान अनिवार्य पोखराबाट गर्न प्राधिकरणले आग्रह गरेको बताए । त्यसो नगरे उडान कटौती गर्ने बताएपछि हिमालय एयरलाइन्सले आगामी मार्च महिनादेखि पोखराबाट तिब्बतको ल्हासासम्म सातामा एउटा उडान भर्ने तयारी गरेको उनले सुनाए ।
‘नेपाल एयरलाइन्ससँग भएका चारवटा जहाजमध्ये दुईवटा मात्रै न्यारोबडी पोखराबाट उड्न सक्छन् । त्यसमध्ये एउटा जहाज सी–चेकको लागि गएको छ,’ उनले भने, ‘फर्किएपछि उसले पनि पोखराबाट सातामा एउटा अन्तर्राष्ट्रिय उडान भर्नुपर्छ ।’
विदेशी एयरलाइन्स कम्पनीले यहाँको राष्ट्रिय ध्वजावहाकले के–कति नाफा गरेको छ भन्ने हेरेर मात्रै अन्तर्राष्ट्रिय उडान भर्ने भएकोले घरेलु जहाज कम्पनीलाई बलियो बनाउन आवश्यक रहेको उनले उल्लेख गरे । पोखरा विमानस्थल चीनले बनाएकोले उसलाई पनि नियमित उडानका लागि दबाब दिनुपर्ने उनले बताए । भने, ‘चीनबाट काठमाडौं आउने जहाजमध्ये १० प्रतिशतलाई पोखरा ल्याउन दबाब दिनुपर्छ । सिचुवान एयरलाइनसले त्यो सुरुआत गर्न सक्छ ।’
व्यवसायीको सक्रियता आवश्यक
प्राधिकरणका उपमहानिर्देशक दीपेन्द्रलाल कर्णले जहाज कम्पनीलाई पोखराबाट उडान भर भनेर दबाब दिन नसक्ने भएकोले यहाँका व्यवसायी नै बढी सक्रिय हुनुपर्ने बताए । ‘जबसम्म यहाँको बजार जुर्मुराउँदैन तबसम्म जबर्जस्ती उडान गर भनेर चल्दैन,’ उनले भने, ‘यहीका व्यवसायीले विदेशमा प्यासेन्जर खोज्नुस् । चार्टरबाट सुरु गर्नुस् ।’
पोखराबाट टिकट बिक्री गर्ने व्यवसायीले हालसम्म एउटा पनि चार्टर उडान ल्याउन नसकेको सन्दर्भ प्रस्तुत गर्दै उनले विमानस्थल सञ्चालनमा पोखराका व्यवसायीको साथ आवश्यक रहेको बताए । ‘वायु सेवा कम्पनीलाई ठाउँ राम्रो वा नराम्रोसँग फरक पर्दैन, उसले व्यवसायमा नाफा हेर्छ,’ उनले भने, ‘काठमाडौंमा पनि व्यवसायीले प्याकेज बेचेर चार्टर जहाज ल्याइरहेका छन् । पोखराले पनि त्यसै गर्नुपर्छ ।’
प्राधिकरणका अर्का उपमहानिर्देशक एवं कर्पोरेट डाइरेक्टर हंसराज पाण्डेले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दा वायु सेवा कम्पनीलाई नाफा हुन्छ भनेर आश्वस्त बनाउने जिम्मा स्थानीय व्यवसायीको भएको बताए ।
पोखरा विमानस्थलको ऋण तिर्नुपर्दा यो वर्षदेखि प्राधिकरणको वित्तीय अवस्था डामाडोल बनिसकेको उनले सुनाए । ‘पोखरा विमानस्थलको ऋण तिर्दा प्राधिकरण आफैँ ढाँड भाँचिएको अवस्थामा छ,’ उनले भने, ‘वर्षमा २ अर्ब तिर्नुपर्छ तर ऋण तिर्नुपर्यो भनेर आत्तिएका छैनौं । चीनको ऋण तिर्न पनि विमानस्थल चल्नैपर्छ ।’
पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो दायित्व राष्ट्रिय ध्वजावहाकको भए पनि जहाजको संख्या कम हुनु दूर्भाग्य भएको उनले बताए । नेपाल वायु सेवा निगमका ४ मध्ये दुईवटा जहाज चलेको र हवाइ सम्झौता भएका ४३ देशका ८० गन्तव्यमा सेवा दिनुपरेको बताउँदै उनले भने, ‘यस्तै हो भने विदेशीलाई आएर हाम्रो एयरपोर्ट चलाइदेउ भन्नुको विकल्प छैन ।’
गण्डकीका श्रमिकलाई पोखराबाट उड्ने व्यवस्था
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वैदेशिक रोजगारीमा जाने गण्डकी प्रदेशका श्रमिकलाई यहीँबाट उड्ने व्यवस्था गर्नुपर्ने प्राधिकरणका पदाधिकारीले सुझाएका छन् । छलफलमा महानिर्देशक प्रदीप अधिकारीले गण्डकी प्रदेशका श्रमिकलाई पोखराबाटै उडाउन सके त्रिभुवन विमानस्थलको यात्रु चाप पनि कम हुने बताए ।
‘वैदेशिक रोजगारीमा जाने ८० प्रतिशतभन्दा बढी तराई क्षेत्रमा छन्, त्यसैले भैरहवामा पनि सम्भावना देखेका हौं,’ उनले भने, ‘गण्डकी प्रदेशबाट जाने श्रमिकलाई पोखराबाटै जानुपर्ने बनाऔं ।’ पर्यटन व्यवसायी बासु त्रिपाठीले पोखरा नेपालको मध्यभागमा रहको र काठमाडौं पछि सबैभन्दा धेरै आन्तरिक उडान संख्या र यात्रु चाप भएको विमानस्थल पोखरा भएकोले अन्तर्राष्ट्रिय उडानको सम्भव हुने बताए । उनले भने, ‘भैरहवामा नियमित प्यासेन्जर नपाएको देखाएर पोखरामा उडान राख्न नहुने कतिपयको चाहना हुन सक्छ, त्यो चाहनालाई पूरा हुन दिनुहुँदैन ।’
गन्तव्यस्थलको पहिचान
प्राधिकरणका निर्देशक विक्रम गौतमले पोखरामा सबैभन्दा धेरै यात्रु आउँजाउँ गर्ने गन्तव्य स्थलको पहिचान गर्न आवश्यक रहेको बताए । ‘अन्तर्राष्ट्रिय एयरलाइन्सलाई पोखराबाट बिजनेस दिने यी–यी गन्तव्य हुन् भनेर भन्न सक्नुपर्छ,×’ उनले भने, ‘कम्तिमा दुईवटा त्यस्ता विशिष्ट गन्तव्यस्थल पहिचान गर्नुपर्छ ।’
व्यवसायीले गन्तव्यस्थल तोकेर आफ्नो लक्ष्य निर्धारण गर्नुपर्ने उनको भनाइ थियो । ‘पोखरा विमानस्थल सोकेसमा राखिएको राम्रो खेलौना हो, बेच्ने जिम्मा व्यवसायीको हो,’ उनले भने । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पोखरा विमानस्थल बनेपछि पर्यटक वृद्धि हुने आशामा व्यवसायीले पूर्वाधारमा लगानी गरेको बताए ।
‘अहिले लगानी डुब्ने अवस्था छ,’ उनले भने । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनको लागि दबाब दिन पटकपटक प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाएको स्मरण गरे ।