बारी-बारी पुगेर माटो परीक्षण गर्दै विद्यार्थी

Swastika Bhandari

पुस ११, २०८१

दोलखा — खेतबारीको उर्वरा शक्ति ह्रास आएपछि भीमेश्वर नगरपालिकाले माटो परीक्षणका लागि बाली विज्ञान विषयका विद्यार्थी परिचालन गरेको छ । सर्व माध्यमिक विद्यालयको बाली विज्ञान संकायमा अध्ययनरत विद्यार्थीले खेतबारीमै पुगेर भीमेश्वरका ९ वटै वडाको माटो संकलन गर्दै परीक्षण गरिरहेका हुन् । 

नगरपालिकाको आग्रहमा सबै वडाबाट माटो संकलन सकेर परीक्षण गरिरहेको विद्यालयका बाली विज्ञान शिक्षक प्रज्वल कार्कीले बताए । सबै वडाका ९ सय ८० जना व्यावसायिक किसानको बारीको माटो संकलन गरिएको तीनवर्षे बाली विज्ञान संकायमा अध्ययन गरिरहेकी विद्यार्थी सुरक्षा विकले जनाइन् ।

विद्यार्थीले किसानको बारीका माटोको नाइट्रोजन, फस्फोरस र क्याल्सियमको अवस्थासहित माटोमा रहेको अम्लियपनको परीक्षण गर्ने उनको भनाइ छ । ‘अध्ययनका क्रममा पहिलो पटक किसानका बारीमा पुगेर माटोको नमुना संकलन गरेका छौं,’ उनले भनिन्, ‘सबै किसानको बारीमा पुगेर माटोको नमुना लिन चार दिन लाग्यो ।’

विद्यालयमा रहेको माटो परीक्षण ल्याबमा नगरपालिकाभित्रका किसानका बारीको माटो परीक्षणमा २८ जना बाली विज्ञानमा अध्ययनरत विद्यार्थी खटिएको विकले बताइन् । नगरपालिकाको सबै भूगोलका किसानको माटो संकलन भएकाले ल्याबमा परीक्षण गर्न पनि उत्साहका साथ सबै साथी लागेको उनले जनाइन् ।

किसानले बारीको उर्बरा शक्तिमा ह्रास आएको भन्दै माटो परीक्षणका लागि नगरपालिकामा आग्रह गरेपछि बाली विज्ञान विषय अध्ययनरत विद्यार्थी खटाएको नगरपालिकाका कृषि शाखा प्रमुख विष्णु चौलागाईंले बताए । ‘बाली विज्ञानमा अध्ययनरत विद्यार्थीलाई हरेक वडाका कम्तीमा एक सय जना किसानको माटो परीक्षणको जिम्मा दिएका छौं,’ उनले भने, ‘सबैको रिपोर्ट आएपछि त्यसैअनुसार किसानलाई सहजीकरण गर्छौं ।’

Sharing Is Caring:

Leave a Comment