पर्यटकलाई सिमानामा भिसा लिन सास्ती

Swastika Bhandari

पुस ११, २०८१

भैरहवा — गत कात्तिक १८ मा तिहारका दिन रूपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयमा तेस्रो मुलुकका पर्यटकको खचाखच भीड थियो । नेपालका लागि एराइभल भिसा लिन ८ सयभन्दा धेरै र नेपालबाट डिपार्चर हुन करिब ७ सय पर्यटकको भीडलाई अध्यागमन कार्यालय परिसरले थेग्न सकेन । 

हातमा पासपोर्ट र अन्य डकुमेन्ट लिएर दिनभरि लाइनमा उभिएका पर्यटकलाई सेवा दिन अध्यागमनका कर्मचारी बिहानैदेखि असिनपसिन थिए । सात–आठ घण्टासम्म लाइनमा उभिएका पर्यटकको लाइन ठेलमठेल र धकेलाधकेल हुन थाल्यो । पर्यटकको लाइन अनियन्त्रित भएर पेलिँदा अध्यागमन कार्यालयको मुलद्वारको ढोका नै फुट्यो । अन्य झ्यालका सिसा पनि फुटे ।

त्यसयता पनि पर्यटकको लाइन अध्यागमन कार्यालयमा दिनहुँजसो नै हुने गरेको छ । भिसा लिन र डिपार्चरका लागि कम्तीमा पनि चार–पाँच घण्टासम्म लाइनमा उभिनुपरेपछि पर्यटक समस्यामा पर्ने गरेका छन् । सेवा छिटोछरितो नभएको भन्दै टुरगाइड, बसवाला, पर्यटक लिन आएका होटेल तथा ट्याक्सी व्यवसायी कार्यालय परिसरमा चिच्याउने र कराउने गर्छन् । होहल्ला दिनहुँ नै हुने गर्छ ।

सेवा लिन आउने पर्यटकको तुलनामा कार्यालयमा उपलब्ध जनशक्ति (कर्मचारी) कमी रहेको र एकै पटक धेरैजना पर्यटक आइपुग्दा यस खालको समस्या हुने गरेको अध्यागमन कार्यालय बेलहियाका प्रमुख नारायणप्रसाद पाण्डे बताउँछन् । ‘कार्यालयमा जनशक्तिको कमी छ । एकै पटक धेरैजना पर्यटक आउँदा पर्यटकलाई धेरै समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता भएको हो,’ पाण्डेले भने, ‘सुनौली/बेलहिया नाका हुँदै नेपाल आउने पर्यटक बढेका छन् । तर कार्यालयमा त्यसअनुरूपको जनशक्ति छैनन् ।’

कहिलेकाहीं १५ सयभन्दा धेरै पर्यटक एकै दिन आइपुग्छन् । कार्यालयमा प्रमुखसहित पाँच जना मात्र कर्मचारी छन् । एक जना कर्मचारीले दैनिक १४ घण्टासम्म सेवा दिनुपरेको छ । चार वटा डेस्कबाट सेवा उपलब्ध गराइएको छ । सबै प्रक्रिया पुगेका पर्यर्टकलाई भिसा दिँदा एक जनालाई सरदर १ मिनेट र डिपार्चरका लागि करिब आधा मिनेटमा सेवा उपलब्ध हुने गर्छ ।

‘थप तीन जना कर्मचारी उपलब्ध भए यो समस्या तत्कालका लागि समाधान हुने थियो,’ पाण्डेले भने, ‘यसका लागि विभाग र मन्त्रालयसँग बारम्बार माग गर्दै आएका छौं ।’ यो अध्यागमन कार्यालय पर्यटक आवागमनका हिसाबले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको मुलुककै दोस्रो ठूलो हो । कोभिडअघि यस कार्यालय हुँदै सुनौली/भैरहवा नाकाबाट आवागमन हुने पर्यटकको संख्या वार्षिक ३ लाख नाघेको थियो । कोभिडका बेला पर्यटकको अवागमन शून्यप्रायः रहेको यस नाकाबाट कोभिडपछि पर्यटकको आवागमन बढ्दै गएको छ ।

सन् २०२४ को नोभेम्बरसम्ममा यस नाकाबाट नेपाल आउने तेस्रो मुलुकका पर्यटकको संख्या ८३ हजारभन्दा धेरै छ । डिपार्चर हुनेको संख्या करिब ८२ हजार छ । पर्यटकको आगमन बढाउन भन्दै स्थानीय, प्रदेश र संघीय सरकारले पर्यटन विकास एवम् प्रवर्द्धनका नाममा विभिन्न योजना सञ्चालन गर्दै करोडौं रुपैयाँ खर्च गर्ने गरेका छन् । पर्यटन मन्त्रालय, पर्यटन बोर्डलगायत सरकारका तर्फबाट राष्ट्रियस्तरमै पर्यटन अभियानका कार्यक्रम पनि गर्ने गरिएको छ । तर यस्ता अभियान र योजनाका कार्यक्रमले बेलहिया अध्यागमन कार्यालयको समस्यालाई भने सम्बोधन गर्न सकेका छैनन् ।

साँझ ६ बजेका लागि खानाको अग्रिम अर्डर गरेका पर्यटक अध्यागमन कार्यालयमा हुने ढिलाइका कारण राति १० बजेतिर आएर भोकै सुत्ने गर्छन्,’ अध्यागमन कार्यालयदेखि करिब डेढ किमि दूरीमा रहेको होटल ल्यान्डमार्कका सञ्चालक आशा गुरुङले भने, ‘आफ्नो होटलमा आउने पर्यटक भोकभोकै अध्यागमन कार्यालयमा घण्टौंसम्म लाइनमा उभिनुपरेपछि चिया–नास्ता बोकेर लाइनमै खुवाइदिने गरेका छौं ।’

भैरहवा नाकाबाट विशेषगरी लुम्बिनीका लागि बुद्धिस्ट मुलुकका पर्यटक भारत हुँदै नेपाल आउँछन् । भारतका बोधगया, कुशिनगर, सारनाथ, सराबस्तीलगायता बौद्ध पर्यटन स्थलको भ्रमणपछि लुम्बिनी र आसपासका बुद्धस्थलका लागि भारतीय बस लिएर उनीहरू आउँछन् ।

अध्यागमनमा पर्ने कामका लागि सामान्यतया १ घण्टाको समय छुट्याएर उनीहरू भ्रमणमा निस्कन्छन् । तर अध्यागमनमा हुने ढिलाइले समयतालिका बिग्रेपछि जतिसक्दो चाँडो लुम्बिनीको दर्शन गरेर फर्किन हतार गर्छन् । जसका कारण कपिलबस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, देवदहलगायतका पर्यटकीय स्थल घुम्ने योजनालाई उनीहरूले स्थगित गर्ने गरेका छन् ।

‘सेप्टेम्बर लागेपछि यहाँका होटल ७५ प्रतिशत बुद्धिस्ट पर्यटकका कारण बुक हुने गर्छन्,’ आउँदो एक महिनासम्मका लागि आफ्नो होटल बुद्धिस्ट पर्यटकका लागि अग्रिम बुक भएको जनाउँदै गुरुङले भने, ‘अध्यागमनमा हुने ढिलाइले पर्यटकका लागि बनाएको खाना दिनहुँ खेर जान्छ । पर्यटक पनि भोकभोकै सुत्नुपर्ने अवस्था छ । यसले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने त होइन भन्ने चिन्ता थपिएको छ ।’

अध्यागमन कार्यालयमा मात्र नभएर सीमा क्षेत्र आसपास जताततै पर्यटकलाई समस्या छ । निर्माण बिस्तारका क्रममा भत्काइएका सडक वर्षौंदेखि नबनेर धुलाम्मे र अलपत्र छन् । खाल्डाखुल्डी र धुलोबाट समेत पर्यटक आक्रान्त हुने गरेका छन् ।

‘सीमा नाकामा पर्यटकले भोग्नुपरेको समस्याले नेपालकै बेइज्जत भएको अनुभूति हुन्छ,’ नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन, लुम्बिनीका पूर्वअध्यक्ष तथा स्थानीय पर्यटन व्यवसायी सागर अधिकारी भन्छन्, ‘नेपाल प्रवेश गर्नासाथ पर्यटकलाई सहज वातावरण बनाउनेतर्फ कसैको ध्यान जान सकेको छैन ।’

Sharing Is Caring:

Leave a Comment