नागढुंगा–मुग्लिन सडकमा सुस्त काम, प्रगति न्यून

Swastika Bhandari

पुस ११, २०८१

काठमाडौँ — काठमाडौं–नागढुंगा–मुग्लिन सडकलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम अघि बढाइए पनि निर्माणको गति सुस्त छ । यो सडक खण्डमा साना–ठूला गरी दैनिक १५ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । हाल आंशिक रूपमा सडक बन्द गरेर स्तरोन्नतिको काम अघि बढाइएको छ । 

पुस ७ देखि १३ सम्म बिहान ११ देखि दिउँसो २ बजेसम्म सवारी आवागमन रोकेर अप्ठ्यारा पहाड कटिङ र घुम्ती सुधार गरी सडक चौडा पार्ने काम भइरहेको आयोजनाले जनाएको छ । सवारी आवागमनमै असर पर्ने गरी स्तरोन्नतिको काम अगाडि बढाइए पनि कामको प्रगति न्यून छ ।

काठमाडौं–मुग्लिनसम्मको सडक स्तरोन्नतिको काम तीन वटा प्याकेजमा भइरहेको छ । तीन वटै प्याकेजको ठेक्काका लागि विश्व बैंकबाट सहुलियतपूर्ण ऋण लिइएको छ । पहिलो प्याकेजका रूपमा नागढुंगा–नौबिसे खण्ड हो, जसको दूरी १२.२६ किलोमिटर छ । १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीसँग २०७८ चैत २९ मा उक्त खण्डको निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको हो । काम भने सम्झौताको करिब डेढ वर्षपछि २०७९ जेठ २६ मा मात्र सुरु भयो ।

सम्झौताअनुसार २०८१ जेठ २७ भित्र काम सम्पन्न भइसक्नुपर्ने थियो । तर भनेको समयमा काम नसकिएपछि २०८१ माघसम्मका लागि म्याद थपिएको छ । अहिलेसम्मको प्रगति ६२ प्रतिशत मात्र छ । निर्माण प्रगतिबारे मासिक रूपमा पुनर्विचार गर्दै आएको र त्यहीअनुसार कामको गति बढाउन निर्माण व्यवसायीलाई दबाब दिइरहेको नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।

‘पहिलो खण्डको म्याद सकिन लागेको छ, म्याद थप गर्ने/नगर्ने भन्नेबारे परामर्शदाताले रिपोर्ट दिएपछि मात्र प्रक्रिया अघि बढ्छ,’ ओझाले भने, ‘त्यसपछि कति म्याद थप गर्ने भन्नेबारे निर्णय हुन्छ ।’ अहिले पहिलो खण्डमा कालोपत्रको काम हुँदै छ ।

सामान्य टेवा र पर्खालको काम केही–केही स्थानमा हुँदै छ,’ उनले भने, ‘अहिलेसम्म पहिलो तहको साढे ५ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।’ दोस्रो तहको कालोपत्र गर्ने तयारी भइरहेको उनले बताए । ‘तेस्रो तहसम्मको कालोपत्रको काम हुन्छ,’ ओझाले भने, ‘पहिलो तहको कालोपत्र भने मोटो हुन्छ, त्यहीअनुसार गरिएको छ ।’ पहिलो खण्डमा पहाड कटिङ र घुम्ती सुधारको काम भइरहेको छ । यस खण्डमा २ वटा पक्की पुल पनि निर्माण हुँदै छ ।

दोस्रो प्याकेज नौबिसे–मलेखु खण्ड हो, जसको दूरी ४३.५४ किमि छ । ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा जेडआईसीजी–शर्मा–लामा जेभीले यसको ठेक्का लिएका हुन् । २०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको यो खण्डको काम २०८२ जेठ २७ भित्र सकिसक्नुपर्नेछ । तर अहिलेसम्म भौतिक प्रगति भने २६ प्रतिशत मात्र छ ।

‘यस खण्डको म्याद अझै छ, त्यो अवधिसम्म धेरै काम हुन्छ,’ ओझाले भने, ‘यस खण्डमा पर्ने विद्युत्का पोल, घरटहरा हटाउन समय लाग्यो, गत असोजमा परेको अविरल वर्षाका कारण पहिरो खसेर समस्या भएको थियो, जसले गर्दा प्रगति केही कम भएको हो ।’ यस खण्डमा अहिले कल्भर्ट, टेवा पर्खाल बनाउने काम भइरहेको छ । ढलान गर्ने ठाउँमा ढलान गरिएको उनले सुनाए ।

‘यस खण्डमा कालोपत्रको काम सुरु भएको छैन,’ ओझाले भने, ‘त्यसका लागि ग्राभेल गर्ने र बेस बनाउने काम भइरहेको छ ।’ नागढुंगादेखि मुग्लिनसम्म नै दुई लेन सडक बन्नेछ । बजार क्षेत्रको सडक चार लेन हुनेछ ।

‘मालवाहक सवारीसाधनका लागि मलेखुबाट काठमाडौंतर्फ आउँदा उकालोमा छुट्टै उपलब्ध र सहज हुने ठाउँमा ‘क्लाइम्बिङ’ लेन बनाइनेछ, त्यसपछि उक्त ठाउँमा तीन लेन सडक बन्नेछ,’ उनले भने, ‘यसो गर्दा उकालोमा हुने ट्राफिक कम हुन्छ ।’ यस खण्डमा १३ वटामध्ये तीन वटा पक्की पुलको निर्माण भइसकेको छ । अन्य पुल निर्माणाधीन छन् ।

मलेखुदेखि मुग्लिनसम्मको खण्डलाई तेस्रो प्याकेजमा राखिएको छ । यो खण्डको ठेक्का शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा लिएको हो । ३८.८६ किमि दूरीको यो सडक खण्डको ठेक्का सम्झौता २०७९ पुस १५ मा भएको हो । सम्झौताअनुसार २०८२ पुस १५ भित्र यस खण्डको काम सकिसक्नुपर्ने भए पनि अहिलेसम्म प्रगति २० प्रतिशत मात्र छ ।

कामको गति सुस्त रहेको नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले बताए । ‘कामको गति नै बढ्न सकेको छैन,’ उनले भने, ‘तोकिएकै समयमा काम सक्ने गरी निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौं ।’

गत असोजमा आएको बाढीपहिरोले यो खण्डमा धेरै ठाउँमा क्षति भएकाले काम प्रभावित भएको नेपालको भनाइ छ । ‘त्यसबेला ६ ठाउँमा ठूलो पहिरो गएको थियो, जसमध्ये कृष्णभीरमा सय मिटर सडक दबिएको छ,’ उनले भने, ‘अहिले सडक विभागबाट उक्त खण्डको डिजाइन भइरहेको छ, डिजाइन स्वीकृत भएर आएपछि निर्माणको काम अघि बढ्छ ।’ यस खण्डमा ६ वटामध्ये ५ वटा पक्की पुलको मात्र निर्माण भइरहेको छ ।

हुग्दी खोलामा मुआब्जाका कारण समयमै पुल निर्माणको काम अघि बढ्न सकेको छैन । अहिले निर्माणको प्रक्रिया अघि बढाइँदै छ । ‘टेवा पर्खाल, नाली निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘कुरिनटार खण्डमा कालोपत्रका लागि बेस र सब–बेस राख्ने काम भएको छ ।’

पहिला सामान्य पहाड कटिङको काम निर्माणकै क्रममा भइरहेको भए पनि यस पटक अप्ठ्यारो खण्डको काम गर्नुपर्ने भएकाले जोखिमका कारण आंशिक रूपमा सवारीसाधन रोकिएको उनले बताए ।

Sharing Is Caring:

Leave a Comment