काठमाडौं । धूम्रपानमुक्त विश्व कहिले देख्न पाइएला ? ठ्याक्कै मिति तोकेर यो प्रश्नको उत्तर दिन त गाह्रो छ । तर धूम्रपानमुक्त भविष्य निर्माणको एउटा महत्वाकांक्षी अभियान भने अहिले विश्वभर चलिरहेको छ ।
अचम्म त के छ भने यो अभियान सुर्तीजन्य चुरोट उत्पादक कम्पनीले नै चलाइरहेको छ । त्यो कम्पनी हो फिलिप मोरिस इन्टरनेसनल (पीएमआई) । पीएमआई धूम्रपान सेवनकर्ताबीच लोकप्रिय ब्राण्ड मार्लबोरो चुरोट उत्पादक कम्पनी हो ।
अमेरिकाको स्टामफोर्ड र स्वीटजरल्याण्डमा कार्यालय खोलेर विश्वभर बजार विस्तार गरिरहेको पीएमआईले बदलिँदो समयसँगै आफ्ना उत्पादनलाई पनि बदल्दै गएको छ । र, सन् २०३० भित्र आफ्ना सुर्तीजन्य उत्पादनलाई धुवाँ र आगो विनाका उत्पादनले प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ ।
यूएईको अबु धाबीमा डिसेम्बर २०२४ मा आयोजित टेक्नोभेसन समिटमा बोल्दै पीएमआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक ओल्जकले धूम्रपानरहित विश्व बनाउने लक्ष्य हासिल गर्न वैज्ञानिक अनुसन्धान र नवीन उत्पादनका लागि १२.५ अर्ब अमेरिकी डलर लगानी गरेको योजना सुनाए । उनले भने, ‘अहिलेसम्मको प्रगतिले हाम्रो बाटो स्पष्ट भइसकेको छ कि हामी हाम्रो लक्ष्य हासिल गर्न सफल हुनेछौं । र, हामीले सन् २०३० पछिको योजना पनि बनाइरहेका छौं ।’
ओल्जकले भनेअनुसार धूम्रपानरहित उत्पादनको लक्ष्य हासिल गर्न अब केवल पाँच वर्ष बाँकी छ । यसबीचमा कम्पनीले दुई तिहाइ भन्दा बढी राजस्व धूम्रपानरहित उत्पादनबाट प्राप्त गर्ने लक्ष्य राखेको छ ।
केके उत्पादन गरेको छ पीएमआईले ?
पीएमआईले इलुमा, भीभ र जिन नामको ब्राण्डबाट आफ्ना उत्पादनहरु बजारमा ल्याएको छ । यी पनि विभिन्न फ्लेभरमा उपलब्ध छन् ।
इलुमामा स्वास्थ्यका लागि हानिकार टोबाको अर्थात् सुर्ती हुन्छ । तर त्यो सुर्ती अरु चुरोटमा जस्तो जल्दैन । नजलेपछि आगो र धुवाँ पनि देखिँदैन । बरु त्यो सुर्ती तात्छ र सेवनकर्ताले चुरोटजस्तै सर्को तानेर त्यसको नसा लिन सक्छ । यसमा निकोटिन भने हुन्छ । आगो र धुँवा नदेखिने भएकाले यो युवाहरुको रोजाइमा पर्ने गरेको छ ।
भीभ पनि धुवाँरहित छ । यसमा एक प्रकारको तरल पदार्थ हुन्छ । त्यो तातेर बाफ बन्छ । त्यसैलाई चुरोट जस्तै सर्को तानेर सेवन गरिन्छ । यसमा सुर्ती भएको वा नभएको विकल्प छ । सुर्ती भएकोमा बाफ बाहिर निस्किएको देखिन्छ । तर सुर्ती नभएकोमा बाफ पनि देखिँदैन । त्यसैले यो पनि युवाहरुको रोजाइमा पर्ने गरेको छ । यो पनि निकोटिनयुक्त भएकाले स्वास्थ्यका लागि हानिकारक छ ।
जिन पनि धुवाँरहित उत्पादन हो । तर यो भीभ र इलुमा भन्दा भिन्न छ । किनभने यो खैनी–सुर्ती सेवन गर्नेहरुप्रति लक्षित छ । यसमा निकोटिनयुक्त पाउडर हुन्छ । यो सेल्युलोज थैलीमा प्याक गरिएको हुन्छ । यसलाई खैनी–सुर्ती च्यापेजस्तै गरी सेवन गरिन्छ । त्यसैले यो सेवन गर्नु पनि हानिकारक छ ।
त्यसैले पीएमआईले भनेको छ– तपाईं धूम्रपान गर्नुहुन्न भने सुरु नै नगर्नुस्, धूम्रपान गर्नुहुन्छ भने त्याग्नुस्, त्याग्न सक्नुहुन्न भने परिवर्तन गर्नुस् ।
त्यसैले धूम्रपान त्याग्न नसकेकाहरुलाई लक्षित गरी पीएमआईले आफ्ना नयाँ उत्पादनहरुको प्रचार ‘आई क्वीट अर्डिनरी स्मोकिङ–आई.क्यू.ओ.एस.’ अर्थात् ‘म सामान्य खालको चुरोट त्याग्छु’ भन्ने नारा दिएर आफ्ना उत्पादनको प्रचार गर्दै आएको छ ।
पीएमआईका उत्पादन विशेष खालका चुरोट र सुर्ती नै हुन् । तर त्यसबाट न धुँवा निस्किन्छ, न आगो देखिन्छ । त्यसैले तिनलाई ‘हिट–नट–बर्न’ उत्पादन भनिएको छ । यो सुरक्षित र गोप्य त छ नै अरु साधारण चुरोटमा हुने हानिकारक निकोटिनको मात्रा पनि कम भएको कम्पनीको दाबी छ । त्यसैले आफ्ना नयाँ उत्पादनले उपभोक्ताको मन जित्ने र साधारण चुरोटलाई प्रतिस्थापन गरेर धूम्रपानमुक्त भविष्य बनाउन सकिने कम्पनीको विश्वास छ ।
१० वर्षमा छलाङ
पीएमआईले धुवाँरहित उत्पादन सुरु गर्ने तयारी सन् २००९ बाट थालेको थियो । त्यसको ५ वर्षपछि अर्थात् सन् २०१४ मा पहिलोपटक जापान र इटलीबाट आफ्ना नवीन उत्पादन बिक्री सुरु गरेको थियो । र, सन् २०१६ मा धूम्रपानरहित विश्व बनाउने औपचारिक घोषणा गरेको थियो ।
यो दश वर्षको अवधिमा ९२ देशका बजारमा पीएमआईले आफ्ना उत्पादन पुर्याइसकेको छ ।
सन् २०१४ यताको १० वर्षको छोटो अवधिमा पीएमआईका धुवाँरहित उत्पादनका प्रयोगकर्ता करिब ३६.५ मिलियन रहेको र २२.१ मिलियन व्यक्ति साधारण चुरोट त्यागेर पीएमआईका उत्पादनमा सिफ्ट भएको कम्पनीको दाबी छ । साथै सन् २०२४ को सुरुको तीन महिनामै आफ्ना धुँवारहित उत्पादनबाट ३८ प्रतिशत आम्दानी गरेको पीएमआईले जनाएको छ ।
अहिलेसम्मको प्रगतिबाट उत्साहित देखिएका पीएमआईका सीईओ ज्याक ओल्जक भन्छन्– १० वर्ष पहिले, हामीले धूम्रपानरहित विश्व बनाउन सुरु गर्दैछौं भनेर घोषणा गर्दा धेरै मानिसहरूले नपत्याएर भन्थे– हेरौंला । तर हामीले त्यो गरेर देखाइदिएका छौं ।
पीएमआईका प्रमुख उपभोक्ता अधिकृत स्टेफानो भोलपेत्तीले पीएमआईका उत्पादन विश्वभर विस्तार गर्ने लक्ष्य अनुसार काम गरिराखेको बताए । त्यसका लागि कम्पनीले १२.५ अर्ब मिलियन अमेरिकी डलर लगानीको योजना बनाएको जानकारी उनले दिए ।
भोलपेत्तीले भने, ‘हाम्रो लक्ष्य परम्परागत चुरोटलाई प्रतिस्थापन गर्नु हो र सबै वयस्क धूम्रपानकर्ताहरूलाई पीएमआईका उत्पादनतिर सिफ्ट गर्नु हो । हामी त्यसका लागि विकल्पहरु दिन चाहान्छौं ।’
पीएमआईका नयाँ उत्पादन नेपालको राजधानी काठमाडौंमा पनि उपलब्ध छन् । र, निकट भविष्यमा भारतमा पनि बिक्री थाल्ने योजना कम्पनीको छ ।
धूम्रपानले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले धूम्रपान विरोधी अभियान र स्वास्थ्य सचेतनाका कार्यक्रम चल्दै आएको छ । धेरै देशहरुले धूम्रपानसँग सम्बन्धित उत्पादन प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यले कडा खालका नियमहरु लागू गरेका छन् । त्यसैले चुरोट र सुर्ती उत्पादक कम्पनीहरुलाई नयाँ जमानामा नयाँ उत्पादन खोज्न बाध्य बनाएको छ । धूम्रपान सेवनकर्ताहरु पनि कम हानिकारक विकल्प खोजिरहेका छन् ।
यो परिस्थितिमा पीएमआईले आफ्ना उत्पादनको बजार विस्तारमा महत्वपूर्ण प्रगति हासिल गर्दै गएको छ । तर चुनौती र आलोचनाहरु बाँकी नै छन् । किनकी उसका उत्पादन निकोटिनयुक्त भएकाले स्वास्थ्यका लागि हानिकारक छन् ।