आठौं चेम्बर एक्स्पो १७ माघदेखि

Swastika Bhandari

११ पुस, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आठौं चरणको ‘चेम्बर एक्स्पो-२०२५’ आयोजना गर्ने भएको छ ।

काठमाडौं भृकुटीमण्डपमा १७ देखि २१ माघसम्म ५ दिन एक्स्पो हुन लागेको चेम्बरले जनाएको छ । स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको चेम्बरले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा हुन लागेको एक्स्पोले व्यापार अभिवृद्धि, स्थानीय वस्तु बजारीकरणमा सहयोग पुग्ने आयोजकले जनाएको छ ।

नेपाली उत्पादन बजारीकरणमा विशेष जोड दिएर व्यावसायिक क्षेत्र एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ ।

क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधि प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयाम नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समिति सभापति राष्ट्रभूषण चाकुबजीले जानकारी दिए ।

एक्स्पोमा नेपाल, बंगलादेश, भारत, चीन, थाइल्यान्ड, यूएई, दक्षिण कोरिया, मलेसिया र पाकिस्तान लगायतमा उत्पादित वस्तु प्रर्दशनी र व्यवसायीले सहभागिता जनाउने छन् ।

एक्स्पोमा हस्तकला, सवारीसाधन, घरजग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, ज्वेलरी, कस्मेटिक वस्तु, निर्माण सामग्री, साना तथा घरेलु उद्योग उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्री प्रदर्शन गरिने छ ।

स्वदेशी र विदेशी गरी २ सयभन्दा बढी स्टल एक्स्पोमा राखिने छ । पाँच दिन चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने मेला समिति संयोजक चाकुबजीले बताए ।

अटो पेभेलियन, स्वदेशी खाना परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रडक्सन ट्रेड सोज नेपालले जनाएको छ ।

Sharing Is Caring:

Leave a Comment