पुस १०, २०८१
काठमाडौँ — हालै सार्वजनिक भएको एक अध्ययनले डेटिङ एपहरूमा बुमर पुस्ता (५९ देखि ७२ वर्ष उमेर समूहका मानिस) को उपस्थिति उल्लेखनीय रूपमा बढेको देखाएको छ । सन् २०२२ यता डेटिङ एपमा ६० वर्ष आसपासका प्रयोगकर्ताको संख्या ३४० प्रतिशतले बढेको म्याच डटकमको अध्ययनले देखाएको हो । टिन्डर, हिन्ज ग्लोबल, स्निफिज, ग्राइन्डर, बम्बलजस्ता एपहरूले आफ्ना नि:शुल्क र स:शुल्क दुवैथरी प्रयोगकर्ताहरूको संख्यामा व्यापक वृद्धि गरेको रिपोर्ट सार्वजनिक गरेका छन् ।
कुनै-कुनै डेटिङ एपमा बुढेसकाल लाग्दै गएका र कतिपय एक्ला व्यक्तिहरूको संख्या ३०० प्रतिशतसम्मले बढेको भारतीय सञ्चार माध्यम ‘वायर्ड’को एक समाचारमा उल्लेख छ । सन् २०२४ मा सबैभन्दा चलेको डेटिङ एप टिन्डरले आफ्नो सक्रिय प्रयोगकर्ताको संख्या ५ करोड पुर्याएको थियो । डेटिङ एप प्रयोग गर्ने ८ हजारभन्दा बढी प्रयोगकर्तामाझ सर्वेक्षण गरेर तयार गरिएको उक्त रिपोर्टले सिचुएसनसिप, लाउड लुकिङ, किसमेट, नानो शिपजस्ता नयाँ र युवामैत्री शैलीको प्रयोग बढेको देखाएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र विभिन्नखाले सामाजिक सञ्जाल, ई-कमर्स र स्टार्टअपहरूबीच सन् २०२४ मा अनलाइन डेटिङ एप क्षेत्रले पनि उल्लेखनीय सफलता हासिल गरेको थियो । अहिले डेटिङ एपमा विश्वभर झन्डै ३८ करोडभन्दा बढी प्रयोगकर्ताहरू सक्रिय छन् । स्वाइप गर्ने, म्याच गर्ने, कुराकानी गर्ने र भेटघाट गर्ने विकल्प भएका यस्ता डेटिङ एपहरू नि:शुल्क र स:शुल्क दुवै रूपमा उपलब्ध छन् । डेटिङ एपमा प्रयोगकर्ताहरूमध्ये १८ देखि ३४ वर्ष उमेर समूहका मानिसको संख्या ६० प्रतिशत, ३५ देखि ४४ उमेर समूहका २० प्रतिशत र ५० वर्षभन्दा माथिका १५ प्रतिशत छन् । यसमा सामान्य डेटिङदेखि स्थायी प्रकृतिका प्रेमसम्बन्ध र विवाह गर्न खोज्नेसमेत बढ्दै गएका छन् । सन् २०२२ यता सबैभन्दा द्रुत गतिले बढेको प्रयोगकर्ताको उमेर समूह भने ५० वर्षभन्दा माथिकाहरूको छ ।
टिन्डरले डिसेम्बर पहिलो साता सार्वजनिक गरेको ‘द एअर इन स्वाइप’ अर्थात वार्षिक ट्रेन्ड रिपोर्टमा पनि युवा वयका मात्रै नभएर उमेर घर्केका र अधवैंसेहरूको पनि प्रेम, सम्बन्ध, रोमान्स, मित्रता अपरिचित व्यक्तिहरूसँगको मिलापप्रतिको दृष्टिकोण कसरी बदलिँदै गएको छ भन्ने उल्लेख गरिएको थियो । कोभिड-१९ महामारीको समयमा सेलाएको भनिएको डेटिङ एप र प्लाटफर्म क्षेत्र पछिल्ला वर्षहरूमा व्यावसायिक दृष्टिले पनि आकर्षक बन्दै गएको अध्ययनमा उल्लेख छ । सन् २०२३ मा यस क्षेत्रको बजार आकार लगभग ८.६४ अर्ब अमेरिकी डलर रहेकोमा सन् २०२४ मा यो बढेर ९.६५ अर्ब डलर पुगेको थियो । सन् २०२५ सम्ममा झन्डै १३.१ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
सबैभन्दा चलेको डेटिङ एप टिन्डरको कमाइ सन् २०२३ मा ८१ करोड अमेरिकी डलर थियो भने यसलाई पछ्याइरहेको बम्बलको ४३ करोड अमेरिकी डलर र हिन्जले झन्डै २३ करोड अमेरिकी डलर आम्दानी गरेको थियो । समग्रमा १० प्रतिशत आसपासले बढेको यस्ता एप र प्लाटफर्महरूको आम्दानी र प्रयोग केही वर्ष निरन्तर बढ्ने र सन् २०२५ मा झन्डै ५० करोड सक्रिय प्रयोगकर्ता हुने विज्ञहरूको अनुमान छ ।
एसिया र विशेषगरी दक्षिण एसियामा डेटिङ एपहरूको प्रभाव बढ्दो छ । सिंगापुरको यूएप र हङकङको डे वानले सांस्कृतिक रूपमा लक्षित सुविधाहरू प्रदान गरेर क्षेत्रीय प्रयोगकर्ताहरूलाई आकर्षित गरेका छन् । यूएपले व्यक्तित्व परीक्षण, ज्योतिषजस्ता सुविधासमेत प्रदान गर्छ । भारतमा टिन्डर, बम्बल, हिन्जसँगै ट्रुलीम्याड्ली, आइलजस्ता स्थानीय डेटिङ एपहरूले विशेषगरी युवा वर्गलाई जोड्ने गरेका छन् । भारतमा झन्डै ९ करोड व्यक्तिहरूले विभिन्न खाले डेटिङ एप चलाउने अनुमान गरिएको छ । परम्परागत शैलीका बिहे गराउन सघाउने म्याट्रिमोनी एप र प्लाटफर्महरूले पनि भारतमा डेटिङ प्लाटफर्मको काम गरिरहेको वायर्डको विश्लेषण छ ।
चीनमा अनलाइन डेटिङ र प्लाटफर्महरूको प्रयोग झनै विशाल छ । टानटान, मोमो, जिययुआनजस्ता विभिन्न चिनियाँ एपहरूले चीन र इन्डोनेसियामा समेत बजार विस्तार गरेका छन् । टानटान त नेपालमा समेत केही समयअघि चल्तीमा थियो । नेपालका कति प्रयोगकर्ता अनलाइन डेटिङ एपमा सक्रिय छन् भने अध्ययनमा देखिएको छैन । तर, स्टाटिस्टिकामा उपलब्ध एक रिपोर्टमा नेपालका झन्डै १४ लाख व्यक्तिहरूको अनलाइन डेटिङ एपहरूमा खाता रहेको उल्लेख छ । सो रिपोर्टले नेपालमा टिन्डर, बम्बल, मिङ्गलजस्ता एपहरू चल्तीमा रहेको र बिहे नेपालजस्ता म्याट्रीमोनी एपहरूको पनि प्रभाव बढ्दो रहेको उल्लेख छ ।