हिमपातअघि आलु रोप्ने हतारो

Swastika Bhandari

पुस १०, २०८१

म्याग्दी — हिउँदे वर्षा र हिमपात हुनुअघि नै म्याग्दीको माथिल्लो भेगका किसानलाई बर्खे आलु रोप्न सुरु गरेका छन् । हिमपात तथा हिउँदे वर्षा कम हुँदै गएको र माटोमा चिस्यान चाँडै घट्ने भएकाले जिल्लाको उपल्लो भेग (२ हजार मिटरमाथि) का किसानले चाँडै बर्खे आलु रोप्न थालेका हुन् । 

आलु पानी नजम्ने माटोमा चिसो मौसममा फस्टाउने बाली रहेको कृषि प्राविधिक बताउँछन् । यहाँका थोरै किसानले स्थानीय जात र धेरैले भने डिजरे जातको रातो आलु रोप्ने गरेका छन् ।

‘हिउँदे वर्षा र हिमपात हुनुअघि नै किसान धमाधम बर्खे आलु रोप्ने चटारोमा छन् । ढिलोमा पुस तेस्रो साताभित्र रोपिसक्छौं,’ स्थानीय प्रदीप पुनले भने, ‘हिउँदे वर्षा र हिमपातको मात्रा घटेकाले जति चाँडो आलु रोप्यो, उति राम्रो फलेको अनुभवका आधारमा बर्खे आलु रोप्न लागेका हुन् ।’

अहिले चिसो भएकाले बारीमा रोपेको आलु बिग्रिँदैन । ‘सिँचाइ नभएको हाम्रा पाखोबारीमा आलु उम्रनुअघि हिउँ पर्‍यो भने पर्याप्त चिस्यान पुग्छ अनि फागुन लागेपछि राम्रोसँग उम्रिन्छ, फल राम्रो लाग्छ र बर्खा लाग्नुअघि बाली भित्र्याउन पाइन्छ,’ पुनले भने ।

जिल्लाको अन्नपूर्ण गाउँपालिकाका धेरैजसो लेकाली बस्तीमा किसान धमाधम आलु रोप्न व्यस्त छन् । पहिला जस्तो मंसिर–पुसमा बाक्लो हिउँ पर्न छाडेपछि न्यानोपन बढेको छ । किसानका अनुसार सिँचाइ छैन, हिउँदमा कम हिमपात हुँदा चिस्यान कम भएर फागुनपछि माटो बढी सुक्खा भएर आलु उम्रिन समस्या हुन्छ, मध्य मागपछि तापक्रम ह्वात्तै बढ्ने भएकाले छिटो आलुबाली छिटो भित्र्याउन पाइन्छ ।

‘पहिला बर्खे आलु माघदेखि फागुनसम्म रोप्थ्यौं, असार अन्तिममा भित्र्याउँथ्यौं । त्यसो हुँदा बर्खाको पानीले आलु भिजेर धेरै कुहिन्थ्यो, अहिले पुस–माघ पहिलो साताभित्र रोप्दा असारको सुरुमै भित्र्याउन सकियो,’ अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी नन्दकुमारी गर्बुजाले भनिन्, ‘हाम्रो गाउँमा धान खेती हुन्न, मुख्य अन्नबाली भने पनि तरकारी भने पनि आलु नै हो । छिटो रोप्नेको बारीमा राम्रो उत्पादन भएको देखेपछि हामीले पुसमै वर्षे आलु रोप्न थालेका हौं ।’

आलु उम्रिनुअघि जति धेरै हिउँ पर्‍यो, त्यति राम्रो उत्पादन हुने किसान बताउँछन् । जिल्लाको धवलागिरि गाउँपालिका–६ र ७ बाहेक सबै लेकाली बस्ती, मालिका गाउँपालिकाको सबै माथिल्लो भेग, रघुगंगा गाउँपालिका–७ र ८ वडा र अन्नपूर्ण–४ देखि ८ वडाका माथिल्लो भेगमा लेकाली आलु उत्पादन राम्रो हुन्छ । ‘सामान्यतया लेकाली बर्खे आलु रोप्ने सिजन फागुन भए पनि रैथाने ज्ञानमा आधारित भएर केही किसानले पुसमै आलु रोप्ने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीकी कृषि प्रसार अधिकृत गंगा लामिछानेले जनाइन् ।

‘आलुको टुसा–पातमा तुसारो वा शीत जम्यो भने डढेलो (लेटलाइट) रोग लाग्छ । त्यसैले तुसारो पर्ने समय छलेर रोप्न प्राविधिकको सिफारिस रहन्छ,’ उनले भनिन्, ‘जुनसुकै जातका आलुको बिरुवाले कम्तीमा तीन महिना पर्याप्त घाम र अँध्यारो रात (फोटो पिरियड) पूरा गरे राम्रो स्वाद र गुणस्तर कायम रहन्छ ।’

तीन महिनामा बिरुवाले पर्याप्त घाम पाएन वा (बादल, झरी) धेरै भयो भने रोग बढी लाग्ने र स्वाद र गुणस्तर पनि खस्कने लामिछानेले बताइन् । म्याग्दीको १ हजार ७ सय हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्रले बताएको छ । गत वर्ष जिल्लाबाट किसानले बर्खे र हिउँदे गरी ३१ हजार ४ सय ५० टन आलु बिक्री गरी ५ करोड ७५ लाख रुपैयाँ भित्र्याएका थिए ।

‘हामीले आलुको सिजनको न्यूनतम मूल्य ३५ रुपैयाँ प्रतिकेजीका दरले गणना गरेका छौं । सिजन र भेगअनुसार किसानले प्रतिकिलो ६० रुपैयाँसम्म पनि पारेका छन्,’ लामिछानेले भनिन्, ‘म्याग्दीको लेकाली आलु पोखरालगायत सहरमा राम्रो माग छ ।’

Sharing Is Caring:

Leave a Comment