पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव

Swastika Bhandari

पुस १०, २०८१

पोखरा — भक्तपुरका विक्रम बाडेले सानैछँदा विदेशी पर्यटकले हट एयर बेलुन उडाएको देखेका थिए । त्यसबेलादेखि नै उनको दिमागमा बेलुनप्रति गहिरो छाप बसेको थियो । कलेज जीवनपछि उनमा नेपालमै हट एयर बेलुन सञ्चालन गर्ने हुटहुटी चल्यो । त्यसबारे बुझ्न उनी भारतसम्म पुगे ।

सन् २०१८ मा पोखरामा बेलुन नेपाल प्रालि दर्ता गरेर बाडेले नेपालकै पहिलो हट एयर बलुन कम्पनी खोल्ने आफ्नो सपना साकार पारी छाडे । त्योसँगै नेपालमा हट एयर बेलुनको व्यावसायिक यात्रा सुरु भयो । उनीसँग सविन महर्जन, विष्णुबहादुर ढकाल, रोबर्ट विश्वकर्मा र दीपककुमार श्रेष्ठ सञ्चालकका रूपमा जोडिए ।

व्यावसायिक यात्राका क्रममा बाडेलाई विदेशमा हुने बेलुन महोत्सवमा सहभागी हुने मौका मिल्यो । विस्तारै उनमा नेपालमा पनि त्यस्तै महोत्सवको गर्ने सोच पलाउन थाल्यो । उनको सोचले अहिले भने सार्थकता पाएको छ । बेलुन नेपाल प्रालिले पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा मंगलबारदेखि नेपालमै पहिलोपल्ट पामेस्थित फेवाफाँटमा बीवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गरेको छ ।

‘यस्तो महोत्सव हरेक वर्ष विभिन्न देशमा हुने गर्दछन् । आफ्नै कर्मथलोमा त्यस्तै महोत्सव गर्ने सपना देखेँ,’ उनले भने, ‘निकै जटिल हुने यो महोत्सव आँट्न मलाई गाह्रो भयो । तर, पहिलो वर्ष नै १५ देशका अन्तर्राष्ट्रिय पाइलटलाई ल्याएर महोत्सव आयोजन गर्न पाउँदा हर्षित छु ।’

महोत्सव उद्घाटन गर्न पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सव गर्ने आँट गरेर नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएको भन्दै विक्रम बाडेको प्रशंसा गरे । ‘नेपालमा केही हुँदैन र केही पनि गर्न सकिँदैन भन्ने मानसिकता बढिरहेको बेलामा विशेष गरेर युवा जमातहरूको नकारात्मक सोचका कारण देशबाट ठूलो युवा जनशक्ति पलायत भइराखेको बेलामा नेपालमा केही गर्न सकिन्छ, यही नै केही हुन्छ भन्ने साहसका साथ उभिने युवाहरू पनि छन् भन्ने प्रमाण विक्रम बाडे हो,’ उनले भने, ‘यस्तै राष्ट्रप्रेमी र मुलुकमा नै केही गर्नुपर्छ भन्ने भावना बोकेका युवाले नै नेपाल बनाउँछन् र बन्छ पनि ।’

उनले बेलुन महोत्सव अन्तर्राष्ट्रियजगत्मा पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा कोसेढुंगा साबित हुने बताए । ‘सिंगो गण्डकी प्रदेशलाई पर्यटकीय राजधानीका रूपमा स्थापित गर्न पर्यटकीय गतिविधिलाई बढाउनका लागि हरेक क्षेत्रमा हामी सहयोग र साथ दिन तयार छौं,’ उनले भने, ‘त्यसैअनुरूप यो एउटा बेलुन महोत्सव पनि हो ।’

व्यावसायिक रूपमा हट एयर बेलुन सञ्चालनले पोखरालाई नयाँ आकर्षण दिएको बताउँदै उनले साहसिक खेलको गन्तव्य पनि गण्डकी प्रदेशलाई बनाउने लक्ष्य रहेको सुनाए । उनले संसारको सबैभन्दा उच्च स्थलमा रहने खेलमैदान गण्डकी प्रदेशमा बनाउनुपर्छ भनेर मुस्ताङमा खेल मैदान निर्माण गरिरहेको जानकारी दिए । महोत्सवमा नेपालसहित १५ देशका पाइलट सहभागी छन् ।

विदेशी पाइलटले ल्याएका १५ र बेलुन नेपालका दुई गरी १७ हट एयर बेलुन ९ दिनसम्म पोखराको आकाशमा उड्ने छन् । महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, फ्रान्स, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनाम, कोरिया, नेदरल्यान्ड्स, जापान, मलेसिया, इटाली, ब्राजिल, अस्ट्रेलियासहित १५ देशका बेलुन पाइलटहरूको सहभागिता छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार पनि महोत्सवमा सहभागी छन् ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन, पोखरा र यस आसपासका साहसिक खेलकुदको खोजी गर्दै गन्तव्यस्थल बनाउन यो महोत्सवले थप टेवा पुग्ने बताए । पोखरालाई साहसिक खेलकुदको केन्द्रका रूपमा अन्तर्राष्ट्रियजगत्मा परिचित गराउन यो महोत्सव कोसेढुंगा साबित हुने महोत्सवका संयोजक एवं परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।

पुस १७ सम्म चल्ने महोत्सव पोखरा–२४ को लौरुकदेखि चंखपुरसम्मको ३ किलोमिटर क्षेत्रमा आयोजना गरिएको छ । महोत्सव अवधिभर हरेक दिन सूर्योदय र सूर्यास्तको समयमा हट एयर बेलुन सञ्चालनमा आउनेछ । नियमित उडानका बेला ९ हजार फिट माथिसम्म पुग्ने भए पनि महोत्सव अवधिभर भने ५ हजार फिटसम्म मात्रै पुग्नेछ । उडान समय ३० देखि ४० मिनटको हुन्छ । उडान अवधिमा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमाल, पोखरा उपत्यका, फेवाताल, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ ।

महोत्सव अवधिमा बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजे देखि ६ बजेसम्म विभिन्न देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटहरूले हट एयर बेलुनको उडान भर्ने छन् । बेलुका ७ बजेदेखि ८ बजेसम्म ‘बेलुन नाइट ग्लो’ गरिनेछ । महोत्सव स्थलसम्म जान आउनका लागि डिहिकोपाटनबाट निःशुल्क सटल बसको व्यवस्था गरिएको छ ।

महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेलसमेत हुनेछन् । महोत्सवमा मंगलबार कलाकार दीपक बज्राचार्य र कार्टुन क्रुजको प्रस्तुति रहेको थियो । महोत्सवमा राजु लामा, शर्मिला बर्देवा, एलिना चौहान, कुमा सागर, कविता नेपालीलगायतले सांगीतिक प्रस्तुति दिनेछन् । बेली नृत्यलगायत स्थानीय कलाकार र ब्यान्डको सांगीतिक प्रस्तुति पनि महोत्सवमा रहने आयोजकले जानकारी दिएको छ ।

बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनका अनुसार महोत्सवमा पुस ९ देखि ११ सम्म विभिन्न ब्यान्डसहितको प्रस्तुति र पुस १२ देखि १६ सम्म बेलुन उडान तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन् । पुस १७ अर्थात् अंग्रेजी नयाँ वर्षमा कलाकार कुमा सागरको सांगीतिक प्रस्तुतिसहित कार्यक्रम समापन हुनेछ ।

त्यस दिन राति आतसबाजी र बेलुनमै डीजे संगीत पनि प्रस्तुत गरिनेछ । महोत्सवमा विभिन्न खानाका परिकारसहितका स्टलहरू पनि रहनेछन् । काठमाडौंको कुमारी नृत्य र बज्रयोगिनी नृत्य पनि महोत्सवमा प्रस्तुत हुने आयोजकले जनाएको छ ।

Sharing Is Caring:

Leave a Comment