पुस १०, २०८१
काठमाडौँ — निक्षेपको ब्याजदर निरन्तर घटिरहँदा बैंक तथा वित्तीय संस्थाले बचतकर्ताबाट सस्तो ब्याजदरमा पैसा लिएर त्योभन्दा महँगोमा राष्ट्र बैंकमा निक्षेप राख्ने जोखिम बढेको छ । साधारण र मुद्दती निक्षेपको ब्याजदर ३ प्रतिशत वा सोभन्दा तल जान थालेपछि बचतकर्तालाई बचतमा कम ब्याज दिने र त्योभन्दा बढी ब्याजमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निक्षेप राख्ने जोखिम उच्च देखिएको हो ।
नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले मंगलबार जारी गरेको खुला बजार कारोबारसम्बन्धी कार्यविधि (सातौं संशोधन) ले पनि बजारमा बचतकर्ताबाट सस्तोमा निक्षेप लिएर महँगोमा राष्ट्र बैंकमा निक्षेप राख्ने जोखिम बढेको पुष्टि हुन्छ ।
कार्यविधि संशोधनमार्फत मौद्रिक व्यवस्थापन विभागले बैंकहरूलाई प्रदान गर्ने स्थायी निक्षेप सुविधा (एसडीएफ) का लागि स्वदेशी मुद्राको बचत र मुद्दती निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर तीन प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि उक्त सुविधा प्राप्त गर्नका लागि स्वदेशी मुद्राको बचतमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर ३ प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने व्यवस्था थियो । अहिले त्यसमा परिमार्जन गरेर मुद्दती निक्षेपको ब्याजदरमा पनि तीन प्रतिशतको सीमा तोकिएको हो ।
‘स्थायी निक्षेप सुविधाका लागि स्वदेशी मुद्रामा लिएको अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको र स्वदेशी मुद्राको बचत र मुद्दती निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको हुनुपर्नेछ,’ संशोधित कार्यविधिमा भनिएको छ ।
बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर साधारण निक्षेपको भन्दा कम नहोस् भन्ने उद्देश्यले खुला बजार कारोबारसम्बन्धी कार्यविधि (सातौं संशोधन) मार्फत नयाँ व्यवस्था गरिएको नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभाग प्रमुख पीताम्बर भण्डारीले बताए ।
कुनै पनि मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर तीन प्रतिशतभन्दा कम छ भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा पाउँदैनन्,’ उनले भने, ‘साधारण बचतको भन्दा मुद्दती निक्षेपको ब्याजदर धेरै तल नजाओस् भन्ने उद्देश्यले यो निर्देशन जारी भएको हो । यदि कुनै बैंकले मुद्दतीको ब्याजदर तीन प्रतिशतभन्दा तल राख्छन् भने उनीहरूले यो सुविधा उपयोग गर्नु हुँदैन ।’
बचतकर्ताबाट कम ब्याजदरमा निक्षेप लिने र त्यही बचत महँगोमा राष्ट्र बैंकमा राख्ने प्रवृत्ति निरुत्साहित गर्नका लागि पनि मुद्दती निक्षेपको ब्याजदर कम्तीमा तीन प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था गरिएको भण्डारीले प्रस्ट्याए ।
‘यसअघि तीन वटा बैंकले मुद्दती निक्षेपको ब्याजदर ३ प्रतिशतभन्दा तल प्रकाशित गरेका थिए, पछि त्यसलाई सच्याएर सोभन्दा माथि पुर्याएका छन्,’ उनले थपे, ‘अहिले कुनै पनि बैंकको मुद्दती निक्षेपको ब्याजदर तीन प्रतिशतभन्दा तल छैन, तर तल झर्ने सम्भावना धेरै देखिएकाले राष्ट्र बैंकले सुरुमै सचेत गराएको हो ।’
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका छन् । तर पनि राष्ट्र बैंकले सातामा दुई/तीन पटक विभिन्न औजारहरू (निक्षेप संकलन, स्थायी निक्षेप सुविधा आदि) मार्फत बजारबाट पैसा तानिरहेको छ । यसरी तानेर परिपक्व नभइसकेको पैसा मंगलबारसम्म करिब ३ खर्ब २२ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । बजारबाट पैसा तान्दा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रदान गर्छ ।
यो प्रक्रियामा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट पाउने ब्याजदरभन्दा कम ब्याजदर निक्षेपकर्तालाई दिन थालेको जानकारहरू बताउँछन् । ‘मुद्दती निक्षेपमा तीन प्रतिशतभन्दा कम ब्याज दिन तर राष्ट्र बैंकबाट तीन प्रतिशत ब्याज आफूले लिने यसरी बैंकहरूले चलाखी गरेको देखिन्छ,’ एक पूर्वबैंकरले भने, ‘यो सरासर बचतकर्ताप्रतिको अन्याय र दुःख नगरी पैसा कमाउने प्रपञ्च हो । यसलाई राष्ट्र बैंकले समयमै निरुत्साहित गर्नुपर्छ ।’
गत कात्तिकमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.७७ प्रतिशत छ । २०८० कात्तिकमा यस्तो ब्याजदर ४.३९ प्रतिशत थियो । बैंक तथा वित्तीय संस्थाबीचको अन्तरबैंक कारोबारको औसत ब्याजदर गत कात्तिकमा २.९१ प्रतिशत छ । ०८० कात्तिकमा यस्तो ब्याजदर ३.४७ प्रतिशत थियो ।
यसैगरी, पछिल्ला महिनाहरूमा बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर निर्धारण गर्ने माध्यम आधार दर पनि घट्दो क्रममा छ । जसअनुसार ०८१ कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधार दर ७.०२, विकास बैंकको ८.९६ र वित्त कम्पनीको १०.०३ प्रतिशत छ । ०८० कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधार दर ९.७४, विकास बैंकहरूको १२ प्रतिशत र वित्त कम्पनीको १३.३३ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार गत कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ५.०१, विकास बैंकको ५.८३ र वित्त कम्पनीको ७.१८ प्रतिशत छ । ०८० कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित ब्याजदर ७.७६, विकास बैंकहरूको ९.११ र वित्त कम्पनीको १०.०२ प्रतिशत रहेको थियो ।
त्यसैगरी, ०८१ कात्तिकमा वाणिज्य बैंकमा कर्जाको औसत ब्याजदर ९.०७, विकास बैंकको १०.४३ र वित्त कम्पनीको ११.७० प्रतिशत थियो । ०८० कात्तिकमा वाणिज्य बैंकमा कर्जाको औसत ब्याजदर ११.९६, विकास बैंकको १३.७० र वित्त कम्पनीको १४.४८ प्रतिशत थियो ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले निक्षेपमा दिने ब्याजदर मासिक रूपमा मात्र परिवर्तन गर्न पाउँछन् । आगामी महिनाका लागि निक्षेपमा (स्वदेशी तथा विदेशी मुद्रा) लागू हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना सुरु हुनुपूर्व प्रकाशित गरिसक्नुपर्छ । यसरी ब्याजदर प्रकाशन गर्दा ग्राहकमा कुनै किसिमको भ्रम सिर्जना नहुने गरी अनिवार्य रूपमा वार्षिक ब्याजदर प्रतिशत प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।
तर, नेपाल राष्ट्र बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिनेछ । यस्तै ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर यस निर्देशनले तोकेको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरू समायोजन गर्नुपर्ने निर्देशन छ ।