पुस १०, २०८१
लामाबगर, दोलखा — असोज १२ मा पहिराले क्षति गरेको स्वदेशी लगानीको देशकै ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र मंगलबार रातिबाट सञ्चालनमा आएको छ । यही पुस १० को समयसीमा राखेर विद्युत् केन्द्रबाट उत्पादन थाल्ने गरी तयारी थालेको केन्द्रले मंगलबारबाट जलाशय भरेर उत्पादन थालेको हो ।
विद्युत् केन्द्रको २ वटा बालुवा थिग्र्याउने पोखरीमध्ये बायाँतर्फको मर्मतपछि सञ्चालनमा ल्याएको छ । बायाँतर्फको थिग्र्याउने पोखरी मर्मत सकिएलगत्तै बाँधस्थलबाट सिधैं पानी पठाएर विद्युत् उत्पादनको सुरु गरिएको तामाकेशीका विद्युत् केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितले बताए ।
पहिरोले विद्युत् केन्द्र सञ्चालन गृह पूर्णरूपमा क्षति गरेको थियो । जसअनुसार बालुवा थिग्र्याउने पोखरी र प्रसारण लाइनको ४६ नम्बर टावरमा पनि क्षति पुगेको थियो । ‘टावर निर्माण सकिएको छ भने क्षति गरेको बायाँतर्फको डिस्यान्डर मर्मत सकिएकाले बाँधस्थलमा पानी भरेर विद्युत् गृहमा पठाएको छौं,’ उनले भने, ‘मंगलबार तामाकोशीले पुनः विद्युत् उत्पादन थालेको छ ।’ जसअनुसार मंगलबार ७ बजेर ४० मिनेटमा १ सय २० मेगावाट बिजुली उत्पादन भएको विद्युत् केन्द्रका कार्यकारी प्रमुख मोहनप्रसाद गौतमले बताए ।
‘तत्कालका लागि जलाशय भरेर ४ मध्ये २ वटा गेट खोलेर नदीको वहाव बराबरको पानी सिधैं विद्युत् गृहमा पठाएर विद्युत् उत्पादन हुने सुरु गरेका छौं,’ उनले भने । उनका अनुसार पुसमा तामाकोशीबाट १ सय २५ देखि ३० मेगावाट उत्पादन हुने अनुमान छ । त्यसपछि खोलाको पानी घट्दै जाने भएकाले उत्पादन पनि कम हुने उनले बताए ।
‘तत्कालका लागि जलाशय भरेर ४ मध्ये २ वटा गेट खोलेर नदीको वहाव बराबरको पानी सिधैं विद्युत् गृहमा पठाएर विद्युत् उत्पादन हुने सुरु गरेका छौं,’ उनले भने । उनका अनुसार पुसमा तामाकोशीबाट १ सय २५ देखि ३० मेगावाट उत्पादन हुने अनुमान छ । त्यसपछि खोलाको पानी घट्दै जाने भएकाले उत्पादन पनि कम हुने उनले बताए ।
‘तत्कालका लागि मागअनुसारको विद्युत् उत्पादन नभए पनि यो साताबाट राष्ट्रिय प्रसारण लाइनमा तामाकोशीको १ सय ३० मेगावाट विद्युत् आपूर्ति हुनेछ,’ उनले भने, ‘माघ पहिलो साताबाट तामाकोशीले पूर्ण क्षमतामा पिक आवरमा ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।’
पहिरोले माथिल्लो तामाकोशी विद्युत् केन्द्रको बाँधस्थल तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्र्याउने पोखरी र बाँधबाट थिग्र्याउने पोखरीसम्म पानी पुर्याउने नहर (कल्भर्ट) मा क्षति पुगेको थियो । हाल क्षति भएका सबै संरचनाको मर्मत भइरहेको र नयाँ निर्माण गर्नुपर्ने संरचनाका लागि बोलपत्रको तयारी भइरहेको उनले बताए ।
विद्युत् सञ्चालन नियन्त्रण कक्ष, थिग्र्याउने पोखरी र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको थियो । तामाकोशी जलविद्युत् केन्द्रको डिजाइन डिस्चार्ज (पानीको वहाव) ६६ क्युसेक हो । गएको असोजको अविरल वर्षाले तामाकोशी नदीको वहाव बाँधस्थलमा ४६१ क्युसेक पुगेको थियो ।
तामाकोशीले प्राधिकरणसँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार पानीको वहाव २५० क्युसेक हुनासाथ विद्युत् गृह बन्द गर्नुपर्नेछ । सोहीअनुसार असोज ११ गते जलविद्युत् केन्द्रको उत्पादन बन्द छ । माथिल्लो तामाकोशीले पहिरोले क्षति गरेको संरचनाको १ अर्ब ८० करोडको बिमा दाबी गरेको उनले सिभिल, इलेक्ट्रो मेकानिकललगायत इक्युपमेन्टहरू (इलेक्ट्र र हाइड्रो इक्विपमेन्ट) गरी १ अर्ब ८० करोड रुपैयाँको बिमा दाबी गरेको उनले बताए ।
तामाकोशीले प्रतिदिन ४ करोड रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्ने क्षमता छ । तामाकोशी बन्न समय लाग्ने भएपछि हिउँदको लोड व्यवस्थापन गर्ने नेपाल विद्युत् प्राधिकरणलाई चुनौती थपिएको छ । हिउँदमा प्राधिकरणले लोड व्यवस्थापन गर्न ब्याकअपका रूपमा तामाकोशीलाई चलाउँदै आएको छ । अर्ध जलाशययुक्त प्रकृति (पीआरओआर) को आयोजना माथिल्लो तामाकोशी वर्षामा पूर्ण क्षमतामा र हिउँदमा ४ घण्टा पूर्णरूपमा सञ्चालन हुने गरेको छ ।