१० मंसिर, चितवन । बाग्लुङ ढोरपाटन नगरपालिका–९ का राजेन्द्र विकलाई अहिले गाउँमा भ्याइ नभ्याइ छ । दिनहुँ बुर्तिवाङ बजारबाट ढोरपाटन जाने यात्रु तथा सामान ओसार्ने राजेन्द्र बोलेरो गाडी चलाउँछन् ।
सन् २००९ मा वैदेशिक रोजगारीका लागि खाडी राष्ट्र कतार पुग्दा उनको हातमा कुनै सिप थिएन । २० वर्षे ठिटो राजेन्द्र ज्यानमात्र बोकेर कतार पुगे । गाउँघरमा कुनै कामधन्दा नपाएपछि पैसा कमाउन कतार हान्निएका राजेन्द्रले त्यहाँ पुगेपछि प्लम्बिङको काम सिके । केही समयपछि ड्राइभिङ पनि सिके । चार वर्ष कतार बसेपछि गाउँमै गएर केही गर्ने भन्ने सोच आएको उनी बताउँछन् ।
‘अरूको देशमा कति गुलाम भएर बस्ने ? कतारमा गरेको जति मिहिनेत गाउँमा नै गरे त केही राम्रो पक्कै हुन्छ भन्ने मलाई लाग्यो, घरपरिवार छाडेर सधैं किन अरूको देश बस्ने भन्ने पनि भयो,’ राजेन्द्र भन्छन्, ‘अलिअलि पैसा पनि कमाएँ, यही पैसाले केही गर्छु भनेर चार वर्षपछि गाउँ फर्किएँ ।’
कतार जाँदा हातमा कुनै सिप नभएका राजेन्द्रसँग घर फर्किंदा केही पैसा र सिप भने थियो । उनले गाउँ फर्किएपछि डेढ रोपनी जति जग्गा किने । घर भाडामा लिएर किराना पसल खोले ।
श्रीमती दिलमायालाई ढुंगेघर नजिकै पसल खोलिदिए, चलाउन सिकाए । पाँच वर्ष अगाडि गाउँ पाखाथरमा नै ८० लाखमा घर बनाए । त्यहीँ किराना पसल सारे । तीन वर्ष अगाडिबाट होटल पनि चलाए । सोही घरमा एसी सुविधा समेत भएको पाहुना राख्ने ६ वटा कोठा छन् । ती कोठामा एक रातमा २० जनासम्म पर्यटक राख्न सकिने उनी बताउँछन् ।
सिजनमा होटलमा दैनिक ६/७ पर्यटक नियमित बस्ने हुन्छन् । एक पर्यटकको एक रात बसेर खाएको प्याकेजमा १ हजार ५ सय रुपैयाँ लिने गरेका छन् । उनी गाउँ फर्किंदासम्म ढोरपाटन जाने सडक पनि खुलिसकेको थियो । बुर्तिबाङ, पूर्वी रुकुम तथा म्याग्दीबाट पर्यटक ढोरपाटनतिर आउँथे ।
सडक खुलेपछि पर्यटकहरूको संख्या झनै बढ्न थाल्ये । त्यो देखेपछि गाडी चलाउन जानेका राजेन्द्रले १६ लाखमा बोलेरो गाडी किने । आफैं चलाउन थाले । उनी बुर्तिबाङ ढोरपाटन ३२ किलोमिटर रुटमा दैनिक गाडी कुदाइरहन्छन् । स्थानीय र पर्यटक मात्र नभई ढोरपाटनका लागि चाहिने सामान बोलेरोमा ओसार्छन् ।
ढोरपाटनका उत्पादन बुर्तिवाङसम्म झार्छन् । बुर्तिवाङबाट ढोरपाटन जाँदाको एकतर्फी भाडा एक जनाको ८ सय रुपैयाँ छ । ढोरपाटन आउने पर्यटकसँग बोलेरोमा साक्षात्कार गर्छन् । यहाँको प्राकृतिक सम्पदाको बारेमा बताउँछन् । जो कोही पर्यटक ढोरपाटनमा पहिलोपटक पुग्ने बित्तिकै ‘वाह’ भन्ने गरेको राजेन्द्र सुनाउँछन् ।
यहाँ बग्ने उत्तरगंगा नदी, समथर फाँटमा फुलिरहेका बुकी, निलो र कञ्चन आकाश, चिसो हावाले जो कोही मोहित हुने गरेको राजेन्द्र सुनाउँछन् । ढोरपाटन शिकार आरक्षबारे उनलाई धेरथोर जानकारी छ ।
ढोरपाटन शिकार आरक्षमा खाद्यान्न आपूर्तिको कामसमेत विगत ९ वर्षदेखि गर्दै आएको राजेन्द्रले बताए । कतारबाट फर्किएपछि बिहा गरेका राजेन्द्रका २ छोरी र १ छोरा छन् । बाल्यकालमा आफूले राम्रोसँग पढ्न नपाएर दुःख पाएको ठान्ने राजेन्द्रले छोराछोरीलाई घर नजिकै खुलेको बोर्डिङ स्कुलमा पढाइरहेका छन् ।
‘मैले ८ कक्षासम्म मात्रै पढ्न सकेँ, विभिन्न परिस्थितिले त्योभन्दा माथि पढ्न सकिनँ,’ राजेन्द्र भन्छन्, ‘छोराछोरीलाई धेरै पढाउनुपर्छ भन्ने लागेको छ मलाई ।’
अहिले उनी पहिलेभन्दा जीवन सहज भएको बताउँछन् । कतारमा मासिक ४० हजार कमाउने राजेन्द्रले ढोरपाटनमा परिवारसँग बसेर दैनिक १५ देखि २० हजार रुपैयाँसम्म कमाउँछन् । उनलाई ढोरपाटनको भविष्य अझै उज्वल हुने विश्वास छ ।
बुर्तिवाङबाट ढोरपाटन जाने सडक कालोपत्र हुने बित्तिकै अहिले आउनेभन्दा दोब्बर पर्यटक ढोरपाटन पुग्ने र त्यसको लाभ सबैलाई हुने राजेन्द्र बताउँछन् ।
पहिलेभन्दा अहिले ढोरपाटनमा धेरै सुविधा थपिएको उनको भनाइ छ । ‘पहिले खच्चड/घोडामा सामान बोकेर ल्याउनुपर्थ्यो, गाउँमा एउटा मात्रै पानीको धारा थियो, विद्यालय थिएन, अहिले गाउँसम्म सडक पुगेको छ, घरघरमा धारा छ, अस्पताल बन्दैछ, विद्यालय भवनहरू सुविधा सम्पन्न हुँदैछ, अझै आउने दिनमा अझै राम्रो हुन्छ भन्ने लाग्छ,’ उनी थप्छन् ।
ढोरपाटन शिकार आरक्ष बनेपछि जनतामा संरक्षणको भावना समेत आएको राजेन्द्र बताउँछन् । ‘शिकार आरक्ष बनेपछि पहिलाको भन्दा बालुवा ढुंगा, गिट्टी, काठ महँगो भयो, बेफाइदा त्यत्ति हो,’ राजेन्द्र भन्छन् ‘तर, जनावर चोरी शिकारी नियन्त्रणमा आएको छ, संरक्षण नै नभए पर्यटक पो किन आउँछन् र ? देशकै एक मात्रै शिकार आरक्ष भएकाले पनि पर्यटक आउँछन् ।’
आरक्षणले उठाउने राजस्वको केही हिस्सा ढोरपाटन क्षेत्रको विकासमा नै लगाउनुपर्ने उनको भनाइ छ । ढोरपाटनबाट अन्यत्र जाने गन्तव्य पहिचान गरेर त्यसको प्रचारप्रसार हुनुपर्ने उनको धारणा छ । पछिल्लो समय ढोरपाटनकै बुकी र म्याग्दी जलजलासम्म पर्यटक धेरै मात्रामा जान थालेका छन् ।
आफ्नोमा आउने पर्यटक जलजलासम्म लैजान प्याकेज पनि बनाउने सोच राजेन्द्रमा आएको छ । ढोरपाटनबाट २ घण्टा गाडी र ४५ मिनेट हिँडेपछि पुगिने म्याग्दी धवलागिरि गाउँपालिका–२ माथिल्लो जलजलाबाट एकै फ्रेममा १२ वटासम्म हिमाल देख्न सकिन्छ । यो ठाँउ समुद्र सतहदेखि ३ हजार ४ सय १८ मिटर उचाइमा छ ।
यहाँ एक रात पर्यटक राख्न सके पर्यटक बसाइ लम्बिनुका साथै आय आर्जन पनि हुने भएकाले नयाँ प्याकेज बनाउने सोच बनाएको राजेन्द्रले सुनाए । देशभित्र नै केही गर्ने सोच र वातावरण तयार भए केही हजार कमाउन विदेश जानु नपर्ने उनको धारणा छ ।