पुस ९, २०८१
काठमाडौँ — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्ग अब ९० मिटरमात्र खन्न बाँकी छ । निर्माणको काम धमाधम भइरहेकाले पुसभित्रै ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलका प्रमुख कृष्णराज अधिकारीले बताए ।
अहिलेसम्म निर्माण प्रगति भने ३७ प्रतिशत छ । कुनै समस्या आइनपरे पुसभित्र ‘ब्रेक थ्रु’ गर्न समस्या नहुने सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए ।
सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने यसको निर्माण गरिएको हो । सुरुङको बीचबीचमा आपतकालीन द्वारका रूपमा तीन वटा ‘क्रस प्यासेज’ निर्माण गरिने छ । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ । मुख्य सुरुङको लम्बाइ भने १ हजार १ सय २६ मिटर छ ।
तीनवटा क्रस प्यासेजहरूको कुल दूरी ४ सय ४१ मिटर छ । सबै क्रस प्यासेजको भने ‘ब्रेक थ्रु’ भइसकेको निर्देशक झाले बताए । सुरुङ र क्रस प्यासेजसहितको दूरी भने १ हजार ५ सय ६७ मिटर छ । यो योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम गरिने आयोजनाले जनायो ।
यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । यस खण्डको चार किमि पहिरो आउने क्षेत्रभित्र पर्छ । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको हो । यसको समयावधि ०८३ फागुनसम्म छ । ‘अहिले चौबीसै घण्टा काम भइरहेको छ,’ निर्देशक झाले भने, ‘त्यसैले काम गर्ने अझै समय छ, कुनै समस्या आइनपरे तोकिएकै समयभित्र काम सकिने छ ।’