ट्रम्पको वरिष्ठ एआई सल्लाहकारमा श्रीराम कृष्णन नियुक्त हुने

Swastika Bhandari

पुस ९, २०८१

काठमाडौँ — भारतीय मूलका प्रविधि उद्यमी श्रीराम कृष्णन ट्रम्प प्रशासनको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी वरिष्ठ नीति सल्लाहकारमा नियुक्त हुने भएका छन् । विवेक रामस्वामी, काश पटेल र जय भट्टाचार्यपछि कृष्णन ट्रम्प प्रशासनको आगामी ४ वर्षे यात्रामा महत्वपूर्ण राजनीतिक नियुक्ति पाउने चौथो भारतीय मूलका अमेरिकी बनेका हुन् ।

अमेरिकी प्रविधि र व्यावसायिक क्षेत्रसँगै राजनीतिक भूमिकामा पनि आफ्नो उपस्थिति र प्रभाव बढाउँदै लागेका भारतीय-अमेरिकी समुदायका लागि कृष्णनको नियुक्तिलाई थप अर्को उपलब्धि मानिएको छ । पछिल्लो सयम भारतीय मूलका व्यवसायीहरूले प्रमुख अमेरिकी कम्पनीहरूसँगै अमेरिकी राजनीतिक क्षेत्रमा पनि आफ्नो उपस्थिति बढाएको देखिन्छ । कृष्णनभन्दा अघि नै ट्रम्पले भारतीय मूलका व्यवसायी विवेक रामास्वामीलाई सरकारको प्रभावकारिता बढाउने मन्त्रालयको मन्त्री बनाएका थिए । काश पटेललाई संघीय अनुसन्धान ब्युरो (एफबीआई) को निर्देशक र जय भट्टाचार्यलाई राष्ट्रिय स्वास्थ्य इन्स्टिच्युटको निर्देशकका रूपमा प्रस्ताव गरिसकेका छन् ।

यस्तै ट्रम्पको अघिल्लो कार्यकालमा संघीय सञ्चार आयोगमा महत्त्वपूर्ण भूमिका निभएका अजीत पाइ, चर्चित अधिवक्ता हरमीत ढिल्लोन र स्वास्थ्य नीतिमा दखल राख्ने सीमा बर्मालगायत भारतीय मूलका अमेरिकीहरू पनि ट्रम्पको व्हाइट हाउस फिर्तीसँगै महत्वपूर्ण जिम्मेवारीहरूमा फर्कने लगभग तय भएको छ । करिब ३५ करोड अमेरिकी जनसंख्याको डेढ प्रतिशत आसपास अर्थात ५१ लाखको हाराहारीमा अमेरिकामा भारतीय मूलका अमेरिकीहरू जनसंख्या छ ।

गुगल, माइक्रोसफ्ट, आईबीएम, अडोबी, स्टारबक्स, सनेल, युट्युबलगायत कैयौं प्रमुख कम्पनीहरूमा भारतीय मूलका नेतृत्वकर्ताहरू छन् । ट्रम्पका एआई सल्लाहकार बनेका श्रीराम कृष्णन भारतको चेन्नइमा जन्मेर र हुर्केका थिए । उनी माइक्रोसफ्ट, ट्विटर, याहु, फेसबुक र स्न्यापच्याटजस्ता ठूला कम्पनीहरूमा काम गर्दै प्रविधि क्षेत्रमा माथि उक्लिएका हुन् । उनको पछिल्लो भूमिका भने आन्द्रेसेन होरोविट्ज नामक एक भेन्चर क्यापिटल कम्पनीमा साझेदारको रूपमा थियो । यसमार्फत उनले एआई र नवीनतम प्रविधिमा लगानी गर्दै आएका थिए ।

एआई नीति सल्लाहकारको रूपमा कृष्णनले अमेरिकी सरकारको एआई विकास र नीतिगत संरचना निर्माणलाई आकार दिने जिम्मेवारी सम्हाल्नेछन् । सञ्चार माध्यमहरूमा चर्चा भएअनुसार एआईमा अमेरिकाको अग्रणी भूमिका कायम राख्नु, नवीनतम पक्षलाई प्रोत्साहन गर्नु र एआई प्रविधिको नैतिक र सामाजिक प्रभाव नियमन गर्नु उनको मुख्य लक्ष्य हुनेछ । इलन मस्कसँगको निकट सम्बन्धका कारण पनि कृष्णन थप चर्चामा छन् । एआई र प्रविधिमा नवीनताको वकालत गर्दै आएका मस्कले आफूले रूचाएका व्यक्तिको नियुक्तिबाट झनै लाभ लिने प्रविधि विज्ञहरूको अपेक्षा छ ।

Sharing Is Caring:

Leave a Comment