पुस ८, २०८१
काठमाडौँ — सुरक्षित कारोबारसम्बन्धी विधेयक अर्थ समितिबाट पारित भएको छ । विधेयकउपर परेको संशोधन प्रस्तावमाथि छलफल गरेर अर्थ समितिले आइतबार सर्वसम्मत रुपमा पारित गरेको हो ।
पारित विधेयकमाथीको संशोधन प्रतिवेदन तयार गरेर दुई दिनभित्र संसद सचिवालयमा पेस गरिने पनि अर्थ समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए ।
कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षित कारोबारसम्बन्धी कानूनी व्यवस्था समयानुकूल बनाउन आवश्यक भएको भन्दै अर्थ मन्त्रालयले विसं २०८० फागुन ४ गते यो विधेयक राष्ट्रिय सभामा दर्ता गरेको थियो । सोही विधेयक परेको संशोधन उपर अर्थसमितिले छलफल गरेको हो ।
राष्ट्रियसभाबाट पारित भएर आएको उक्त विधेयकमा रणेन्द्र बराइली, निशा डाँगी, दामोदर पौडेल बैरागी, माधव सापकोटा, सोबिता गौतम र प्रेम सुवाललगायत सांसदहरुले संशोधन प्रस्ताव हालेका थिए । तर, अर्थसमितिको छलफलमा सांसद सुवाल र डाँगी उपस्थित भएनन ।
समितिबाट पारित विधेयकमा चल, अचल तथा मूर्त र अमूर्त सम्पत्तिउपरको दायित्वबारे पनि व्यवस्था गर्न लागिएको छ । विधेयकले घर, जग्गाबाहेक चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने गरी व्यवस्था गर्न लागेको सभापति चालिसेले जानकारी दिए । ‘अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खननका लागि अनुमतिप्राप्त खनिजपदार्थ, बौद्धिक सम्पत्ति तथा व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ,’ उनले भने, ‘पशु, कृषिबाली तथा कृषिजन्य उत्पादन, उक्त उत्पादनबाट तयार पारिएको खाद्यवस्तु र उत्खननका लागि अनुमति लिइएको खनिज पदार्थसमेत धितो राखेर ऋण लिन सकिनेछ ।’
उपभोग्य वस्तुबाहेक अन्य कुनै धितो सम्पत्तिको विवरण दिएमा त्यस्तो विवरणलाई पर्याप्त मानिने विधेयकमा उल्लेख छ ।