पुस ८, २०८१
काठमाडौँ — मुलुकको निर्यात व्यापारमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको ५ महिनाको निर्यात व्यापार १६.५४ प्रतिशतले बढेर ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । यो रकम गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा साढे १६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ५ महिनामा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको निर्यात भएको थियो ।
निर्यात व्यापार एकै महिना २० अर्ब ९८ करोड ९० लाख रुपैयाँले बढेको भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक छ । चालु आर्थिक वर्षको ४ महिनामा निर्यात व्यापार ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँ थियो । ५ महिनामा आइपुग्दा निर्यात बढेर साढे ७३ अर्ब पुगेको छ ।
यस अवधिमा आयात व्यापार पनि बढेको छ । चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ प्रतिशतले बढी हो । गत वर्षको पहिलो ५ महिनामा ६ खर्ब ४२ अर्ब २० करोडको वस्तु आएको थियो ।
नेपालबाट १ सय ४९ वटा बढी मुलुकमा वैदेशिक व्यापार हुन्छ । आयात र निर्यात व्यापारमा भारत नै अगाडि छ । भारतबाट ४ खर्ब १० अर्ब ५५ करोडको वस्तु आयात भएको छ । भारतमा निर्यात भने ५१ अर्ब १ करोड रुपैयाँको भएको विभागले जनाएको छ । बढी वस्तु आयात हुने देशमध्ये यस पटक पनि चीन दोस्रो नम्बरमा छ ।चीनबाट १ खर्ब ३१ अर्ब ३७ करोडको वस्तु आयात भएको छ । निर्यात व्यापारमा भने चीन चौथो नम्बरमा पर्छ । चीनमा १ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ ।
आयात व्यापारमा तेस्रो नम्बरमा पर्ने अर्जेन्टिनाबाट ११ अर्ब ८० करोडको आयात भएको छ । युक्रेनबाट १० अर्ब ५६ करोड र अमेरिकाबाट ८ अर्ब ३९ करोडको आयात भएको छ । निर्यातको हकमा भने अमेरिका दोस्रो नम्बरमा पर्छ । विभागका अनुसार ५ महिनामा अमेरिकामा ७ अर्ब ३४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । निर्यात हुने मुलुकमध्ये जर्मनी तेस्रो नम्बरमा पर्छ । जर्मनीमा १ अर्ब ९६ करोड र लन्डनमा १ अर्ब ४९ करोडको निर्यात भएको विभागको तथ्यांक छ ।
निर्यात भएको वस्तुमध्ये सबैभन्दा धेरै सोयाबिन तेल, अलैंची, सूर्यमुखी तेल, कार्पेट र चिया छ । यिनै वस्तुका कारण समग्र निर्यात व्यापार बढेको छ । निर्यात भएका वस्तुमध्ये पहिलो नम्बरमा सोयाबिन तेल पर्छ । ५ महिनाको अवधिमा ८ अर्ब ३६ करोड ८१ लाखको सोयाबिन तेल निर्यात भएको छ । खाने तेल भारत निर्यात भएको छ । तेस्रो मुलुकबाट आयात हुने सोयाबिनको कच्चा पदार्थ व्यवसायीले रिफाइन गरेर भारत निर्यात गर्छन् । भारतले तेल आयातको भन्सार बढाएपछि व्यवसायी स्वदेशमा भन्दा निर्यातमा केन्द्रित गरेका छन् ।भारतले गत भदौ १९ बाट लागू हुने गरी कच्चा र प्रशोधित खाद्य तेलमा आधारभूत भन्सार कर २० प्रतिशत बिन्दुले बढाएको छ । भन्सार बढेपछि भारतले आयात गर्ने कच्चा खाने तेल आयातमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन भएको वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछन् । सोही सुविधाको फाइदा उठाउँदै तेल उद्योगीले स्वदेशमा भन्दा भारततर्फ बिक्री केन्द्रित गरेका छन्, जसले गर्दा निर्यात बढेको छ । उद्योगीहरूले स्वदेशी बिक्रीभन्दा निर्यातमा जोड दिएपछि बजारमा भने खाने तेलको मूल्य बढेको छ ।
दोस्रोमा अलैंचीको निर्यात ३ अर्ब ४५ करोड ६३ लाखको भएको छ । तेस्रोमा नम्बरमा सूर्यमुखी तेलको निर्यात भएको छ । ५ महिनामा २ अर्ब ९७ लाख ६१ करोडको निर्यात भएको छ । सूर्यमुखी तेल विशेष गरी भारत निर्यात भएको छ । कार्पेट निर्यात पनि उत्साहजनक छ । ५ महिनामा २ अर्ब ८३ करोड ५४ लाखको कार्पेट निर्यात भएको छ । यस अवधिमा २ अर्ब ५६ करोड ९५ लाखको कालो चिया निर्यात भएको छ । कालो चिया भारतमै निर्यात भएको छ ।
भारतबाहेक युरोप र अमेरिकी मुलुकमा नेपाली अर्थोडक्स चियाको माग पनि उत्तिकै छ । यस अवधिमा २ अर्ब ३९ करोड ७४ लाखको धागो, २ अर्ब १० करोड ७६ लाखको स्टिल तथा आइरन निर्यात भएको छ । २ अर्ब ३ करोड ८३ लाखको जुस र २ अर्ब २ करोड ६९ लाखको जुट पनि निर्यात भएको छ ।
आयात भएका वस्तुमध्ये सबैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । ५ महिनामा ४२ अर्ब १७ करोड २८ लाखको डिजेल र २६ अर्ब ४५ करोड ४३ लाखको पेट्रोल आयात भएको छ । ५ महिनामा २४ अर्ब २२ करोड ९१ लाखको एलपी ग्यास र ८ अर्ब १४ करोड ५९ लाखको हवाई इन्धन आयात भएको छ । साथै १२ अर्ब ८ करोड ४५ लाखको औषधिजन्य वस्तु, ११ अर्ब ९१ करोड ४६ लाखको स्टिल तथा रड र १० अर्ब ३५ करोड ६१ लाखको मोबाइल फोन आयात भएको जनाइएको छ ।