पुस ८, २०८१
पाँचथर — खेत दुई रोपनी मात्रै छ । घरमा श्रम गर्ने जनशक्ति पनि दुई जना मात्र छन् । तर उनैले गाउँमै सबैभन्दा बढी १ सय ७४ मुरी धान फलाएका छन् । र, दोस्रो पटक उत्कृष्ट उत्पादकको उपाधि जितेका छन् । उनी हुन् फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाका मकरबहादुर तामाङ ।
तामाङले गत वर्ष पनि गाउँपालिकामा सबैभन्दा धेरै धान फलाएका थिए । मकरबहादुर नवमीडाँडाको लाप्सीबुङस्थित आफ्नो खलामा छिमेकीको साथ लिएर आइतबार धान निफन्न र भर्न व्यस्त थिए । छिमेकी र आफन्तसँगै गाउँपालिकाबाट आएका जनप्रतिनिधि र कर्मचारी गरी १२ जनाले तीन घण्टा मिहिनेत गर्दा मात्रै उनले फलाएको धानको लेखाजोखा गर्ने काम सकिएको थियो । कति क्षेत्रफलमा कति बीउ रोप्दा फल्यो यति धेरै धान ? ‘आफ्नो नाममा २ रोपनी खेत मात्रै छ, त्यहाँ ७ मुरी फल्यो, बाँकी १ सय ६७ मुरी छिमेकी, आफन्त र साहुको खेत अधियाँ र कुतमा कमाएर फलाएको हुँ,’ मकरबहादुरले भने ।
यति धेरै धान फलाउन श्रीमती र आफूसहित केही मजदुर ज्यालामा ल्याएर सम्भव भएको मकरबहादुरले सुनाए । मकरबहादुरको घरमा श्रीमती र वृद्धावस्थाकी आमासहित तीन जनाको परिवार छ । उनका दुई छोरीको विवाह भइसकेको छ भने छोराहरू झापाको दमकमा घरजम गरेर बसेका छन् । ‘७८ वर्षीया आमा श्रम गर्न सक्नुहुन्न, भ्याएसम्म बूढाबूढी खट्छन्, नभ्याएका खण्डमा छिमेकीलाई श्रमको मूल्य दिएर बोलाउँछन् । कहिलेकाहीं हामी गएर सघाउँछौं,’ छिमेकी जमुना तामाङले भनिन् । मकरबहादुरले फाल्गुनन्द–१ लाप्सीबुङ, ७ काब्रेती, खलासाइले, करमबोटे र सिस्ने गरी ५ वटा बेंसीमा धान रोप्छन् । यी सबै बेंसी छिमेकी र आफन्तबाट अधियाँ कुतमा लिएका हुन् । उनले गतवर्ष अधियाँ र कुत गरी ५० मुरी धान साहु–महाजनलाई बुझाएका थिए ।
यस वर्ष ३० मुरी फल्ने काब्रेसोती बेंसीमा लाग्ने कुलो भदौ महिनामा पहिरोले बगाइदिएपछि त्यहाँ एक पाथी पनि उब्जनी नभएको मकरबहादुरले बताए । ‘बाढीपहिरोकै कारण पोहोर जति धान नफल्ला र इज्जत जाला भन्ने डर थियो, पोहोरभन्दा ६ मुरी धेरै फलेछ, धन्न इज्जत जोखियो,’ मकरबहादुरकी पत्नी टकिामायाले भनिन् । तामाङ दम्पतीले यतिका धान फलाउन ३ मुरी ५ पाथी (६५ पाथी) बीउ रोपेको बताए । धान रोप्न ३९ हलगोरु र ३९ जना हलीसहित बाउसे, रोपाहार, ब्याडे र कोदाले गरी डेढ सय हाराहारीमा जनशक्तिको श्रम खर्च भएको तामाङले सुनाए । तामाङ ०५६ मा रोजगारीको खोजीमा साउदी अरब गएका थिए । चार वर्ष उतै बिताएका उनी ०६० सालदेखि धान खेतीमा लागेका हुन् ।
‘खान–लाउनकै दुःखले बिदेसिएको थिएँ, उता झन् धेरै दुःख भयो, गाउँ फर्केर ढुंगामाथि माटो छापेरै भए पनि खेती गर्छु भनेर यतातिर लागेको हुँ, पहिले २ पाथी धान लुकाएर चाड मनाउनुपर्थ्यो, अहिले दुई–तीन लाखको त बेच्छु नै,’ विगत सम्झिँदै उनले भने । तामाङ दम्पती गत वर्ष पनि १ सय ६८ मुरी धान फलाएर जिल्लाकै उत्कृष्ट धान उत्पादक घोषित भएका थिए । यस वर्ष आफैंलाई उछिन्दै १ सय ७४ मुरी फलाएर दोस्रो पटक पुरस्कार पक्का गरेका हुन् । गत वर्ष उनलाई गाउँपालिकाले ५० हजार नगद पुरस्कार दिएको थियो ।
यस वर्ष पनि पुरस्कारलाई निरन्तरता दिइएको गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले तामाङको खेतमै धान भरेपछि फूलमाला लगाएपछि बोकेर खलो वरिपरि घुमाए । यही पुस २९ मा गाउँसभा अवसर पारेर पुरस्कार वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले बताए ।
फाल्गुनन्दले गत वर्षदेखि ५० मुरीभन्दा धेरै धान फलाउनेलाई ३० हजार र एक सय मुरी नघाउनेलाई ५० हजार नगद पुरस्कार दिन थालेको हो । गत वर्ष एक सय मुरीभन्दा धेरै धान फाउनेको संख्या दुई थियो, यस वर्ष भने तीन पुगेको छ । यो वर्ष मकरबहादुर पछि फाल्गुनन्द–७ का दिप्सन चेम्जोङले १ सय १५ र तिलबहादुर चेम्जोङले १ सय ८ मुरी धान फलाएको गाउँपालिकाको तथ्यांक छ । गत वर्ष ५० मुरीभन्दा धेरै फलाउने २९ किसानलाई पुरस्कृत गरेकामा यस वर्ष बढेर ४६ पुगेको अध्यक्ष बृजहाङ आङदेम्बेले जनाए । ‘प्रोत्साहन र पुरस्कारको नीतिले किसानलाई कृषि कर्ममा फर्काएको छ, बाँझो रहेका खेत रोप्न थालिएको छ, फाल्गुनन्द गाउँपालिकालाई अन्नमा आत्मनिर्भर गर्न अरू बालीमा पनि प्रोत्साहन र पुरस्कारको व्यवस्था गर्छौं,’ अध्यक्ष आङदेम्बेले भने ।