मुग्लिन–पोखरा सडक विस्तारमा पश्चिम खण्डको फेरि म्याद थप

Swastika Bhandari

पुस ७, २०८१

तनहुँ — सडकमार्गबाट पर्यटकीय राजधानी पोखरालाई जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । करिब ८८ किलोमिटर दूरीको यस खण्डलाई दुई भागमा विभाजन गरी सडक विस्तारको कार्य भइरहेको छ । 

आँबुखैरेनी–जामुनेलाई पूर्वी खण्ड र जामुने–पोखरालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । आँबुखैरेनी–मुग्लिन खण्डको करिब ८ किलोमिटर सडक विस्तारलाई कसरी अगाडि बढाउने भन्ने विषय अझै टुंगिएको छैन । राजमार्गको पूर्वी खण्डको विस्तार अन्तिम चरणमा पुगे पनि पश्चिम खण्डको काममा अपेक्षित प्रगति हुन सकेको छैन ।

सडक विस्तार योजनाले पश्चिम खण्डका लागि दोस्रो पटक म्याद थपेको छ । सम्झौताअनुसार निर्माण पक्षले राजमार्ग विस्तारको काम पूर्णता दिन नसकेपछि दोस्रो पटक म्याद थपिएको हो । तीन वर्षभित्र सडक निर्माण गरी हस्तान्तरण गर्ने गरी राजमार्गको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) २०७७ माघ १७ मा र पश्चिम खण्ड (जामुने–पोखरा) २०७८ जेठ २ मा सरकार र निर्माण पक्षबीच सम्झौता भएको थियो ।

तोकिएको समयमा निर्माण नसकिँदा पश्चिम खण्डको करिब एक वर्ष म्याद थपिएको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियार सौजन्य नेपालले बताए ।

‘निर्माण पक्षले विभिन्न कारण देखाएर म्याद थपका प्रक्रिया अगाडि बढाएकामा हामीले पनि सबै विचार गरी दोस्रो पटक म्याद थपका लागि पेस गरेका थियौं,’ उनले भने, ‘मन्त्रालयबाट २०८२ पुस १६ सम्मको थप म्याद पनि स्वीकृत भइसकेको छ । तर कार्यालयमा फाइल आइपुगेको छैन । थपिएको समयमा निर्माण पक्षले काम सक्ने प्रतिबद्धता पनि जनाएको छ ।’

२०८१ भदौसम्म काम सक्ने गरी चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पश्चिम खण्डको काम ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ लागतमा सक्ने गरी सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण पक्षले काम अगाडि बढाउन नसक्दा कोरोना अवधिको १०१ दिन सहुलियत समय २०८१ मंसिरसम्मका लागि म्याद थपिए पनि त्यस अवधिमा समेत काम नसकिएकाले पुनः दोस्रो पटक म्याद थपिएको नेपालले जनाए ।

यस खण्डमा हालसम्म ३४.९४ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । आर्थिक प्रगति भने २४.४२ प्रतिशत छ । ३९ किलोमिटर दूरीको पश्चिम खण्डमध्ये २३.९१ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र भएको छ । यसमा ५.४५ किलोमिटर दुईतर्फी र १८.४६ किलोमिटर एकतर्फी रहेको इन्जिनियर नेपालको भनाइ छ । यस खण्डमा ४ ठूला र ८ साना गरी १२ वटा पुल निर्माण गर्नुपर्नेमा विजयपुर र कोत्रे खोलाको गरी दुईवटा पुल निर्माणाधीन रहेको नेपालले जनाए ।

कास्कीस्थित सेती पुलको टावर निर्माण पनि भइरहेको छ । ‘फाउन्डेसनको काम सकिएको छ । सबस्ट्रक्चर र सुपर स्ट्रक्चरको काम बाँकी छ । यो वर्षको अन्तिमसम्म तल्लोतर्फको पुल सम्पन्न गर्ने लक्ष्य छ,’ नेपालले भने । यस पुलको भौतिक प्रगति ३२.१३ र वित्तीय प्रगति २४.२४ प्रतिशत छ ।

सम्झौताअनुसार सडक निर्माण सक्न तेस्रो पटक म्याद थपको तयारी भइरहेको पूर्वी खण्डका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए । हालसम्म पनि खानेपानीको पाइप अनि अन्डरग्राउन्डका तारको स्थानान्तरण नहुँदा र बजार क्षेत्रका भौतिक संरचना नहटाइँदा कामलाई तीव्रता दिन नसकिएको निर्माण पक्षको गुनासो छ ।

यता पूर्वी खण्डले भने अन्तिम चरणको कालोपत्र सुरु गरिसकेको छ । हालसम्म २० किलोमिटर एकतर्फी सडकमा अन्तिम चरणको कालोपत्र सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जनाए । ‘थपिएको समयभित्रै काम सम्पन्न गर्ने गरी तीव्र गतिमा लागिपरेका छौं,’ उनले भने ।

२०८१ वैशाखसम्म काम सक्ने गरी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पूर्वी खण्डको ठेक्का सम्झौता गरेको थियो । तर तोकिएको समयभित्र काम नसकिएपछि १५५ दिनको कोरोना सहुलियत समय थप गरी भदौ २९ सम्म पहिलो पटक म्याद थप गरिएको थियो ।

त्यो समयसम्म पनि निर्माण नसकिएपछि पुनः दोस्रो पटक २०८१ फागुन १ सम्मका लागि म्याद थपिएको पूर्वी खण्डका इन्जिनियार पाण्डेले बताए । यस खण्डको भौतिक प्रगति ७१ र वित्तीय प्रगति ५३ प्रतिशत भएको उनको भनाइ छ ।

४१.४५ किलोमिटर दूरीको पूर्वी खण्डमा ६८ किलोमिटर एकतर्फी सडक कालोपत्र भएको उनले जनाए । ‘आँबुखैरेनी, डुम्रे र जामुने खण्डमा करिब ३१ किलोमिटर ४ लेन र ६ किलोमिटर २ लेन सडक कालोपत्र गरिएको छ,’ पाण्डेले भने । पूर्वी खण्डमा १३ वटा साना पुल बनिसकेका छन् ।

तीनवटा ठूला पुल भने निर्माणाधीन छन् । मादी नदीमाथिको पुलको भौतिक प्रगति करिब ५० र आर्थिक प्रगति ४० प्रतिशत भएको योजनाले बताएको छ । २०२६ सालमा रेखांकन गरिएको पृथ्वी राजमार्गलाई सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेनमा विस्तार गर्न लागिएको हो ।

Sharing Is Caring:

Leave a Comment