पुस ७, २०८१
कञ्चनपुर — सडक कालोपत्रे भएको छ । तर बिजुली र टेलिफोनका पोल बीचमै छन् । बिजुली र टेलिफोनका तार माकुराको जालो जस्तै बनेका छन् । ठाउँ–ठाउँमा खाल्डाखुल्डी पनि उस्तै छन् । कालोपत्र भएकै सडकमा खानेपानीको पाइप लिक भएर पानी निस्किरहेको छ । यिनले दुर्घटनाको जोखिमसमेत निम्त्याएका छन् ।
एसियाली विकास बैंकको सहयोगमा ग्रामीण सहरी विकास परियोजनाअन्तर्गत महेन्द्रनगर बजार क्षेत्रमा सडक स्तरोन्नति हुन थालेको ६ वर्ष पुग्यो ।
सडक कालोपत्र गर्ने र ढल निकासका लागि नाली निर्माणदेखि रेलिङलगायत काम भएका छन् । तर सडकको बीचमा रहेका बिजुली र टेलिफोनका पोल सारिएका छैनन् । विभिन्न ठाउँमा रहेका खाल्डाखुल्डी पनि पुरिएका छैनन् ।
नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले पोल हटाउन आनाकानी गरेका कारण सडक निर्माणको काम अस्तव्यस्त बनेको हो । बिजुली र टेलिकमलाई पटक–पटक आग्रह गर्दासमेत पोल नहटाएको भीमदत्त नगरपालिकाका सबइन्जिनियर तथा परियोजनाका फोकल पर्सन पवन लेखकले जनाए ।
‘टेलिकमले अहिलेसम्म हटाउन कुनै समस्या छैन भनेको थियो, खर्च पनि आफैं गर्ने भनेको थियो, तर अहिले आएर १६ लाख खर्च हुने एस्टिमेट पेस गरेको छ,’ लेखकले भने, ‘विद्यत् लाइन सारेको खर्च परियोजनाले नै दिने भनेको छ ।’
टेलिकमले पेस गरेको एस्टिमेटमध्ये आधा रकम नगर विकास समितिले उपलब्ध गराउने सहमति भइसकेको छ । परियोजनाअन्तर्गत साढे ३ अर्ब रुपैयाँभन्दा बढी बजेटमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणसँगै सडक स्तरोन्नतिको काम गर्नुपर्ने हो ।
नगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्रका लागि स्थानको खोजी गर्न सकेको छैन । यसको काम अगाडि बढ्न नसके पनि पहिलो चरणमा करिब एक अर्बको लागतमा बजार क्षेत्रको सडक स्तरोन्नतिको काम चलिरहेको छ ।
‘पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । तर केही अवरोधका कारण ढिलाइ भइरहेको छ,’ लेखकले भने, ‘कतै बिजुलीका पोल त कतै जग्गा विवादले अल्झाएका छन् ।’
उनका अनुसार सालघारी नजिकै ४० मिटरमा निजी जमिन परेका कारण पूरा सडक कालोपत्रे हुन सकेको छैन । सडक चौडा गर्दा व्यक्तिको जमिनसमेत अधिग्रहण गर्नुपर्छ । तर जमिन अधिग्रहण गर्दा परियोजनाले मुआब्जा दिने व्यवस्था नरहेका कारण केही व्यक्तिले जमिन नछाड्दा समस्या भएको लेखकले जनाए ।
पहिलो चरणमा १४ किलोमिटर सडक स्तरोन्नति, २२ किलोमिटर ढल निकास, ७ सय ७६ सडक बत्ती र ८ वटा हाइमस्क लाइट निर्माण गर्नुपर्नेछ । बजार क्षेत्रको सडकमा रेलिङ पनि निर्माण गरिनुपर्नेछ । धेरैजसो काम अन्तिम चरणमा पुगेको छ । भौतिक प्रगति पनि ९६ प्रतिशत पुगेको लेखकको भनाइ छ ।
दोस्रो चरणमा पनि बजार क्षेत्रकै सडक स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ६६ करोडमा साढे ८ किलोमिटर सडक स्तरोन्नति गरिनेछ । ग्रामीण सहरी विकास परियोजनाअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइसकेको छ ।
भीमदत्त नगरपालिकाले फोहोर व्यवस्थापनका लागि शुक्लाफाँटासँग समन्वय गरिरहेको छ । सम्झौता गरेर शुक्लाफाँटामा व्यवस्थापनका लागि सम्झौता गर्ने तयारी भइरहेको लेखकले बताए ।