पुस ७, २०८१
ताप्लेजुङ — मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका नुपु शेर्पाले २०७७ सालमा २० वटा याक चीनको तिब्बतस्थित डिङ्जे काउन्टीको घुम्तीमा लगेर बिक्री गरे । निर्बाध लैजान पाइने त्यसबेला एउटा याकको ९० हजारदेखि १ लाख १० हजार रुपैयाँसम्मले बेचेका थिए ।
संखुवासभाको थुदाम ओम्दोला नाकाबाट याक लगेर बिक्री गर्नेमा नुपुसँगै अरू पाँच जना थिए । सबैले गरेर नेपाली ५० लाख रुपैयाँ भित्र्याएका उनीहरूले त्यसपछि चीन निर्यात गर्न पाएका छैनन् ।
‘त्यसबेला बिक्री गर्दा चीनको एक रुपैयाँको नेपाली १६ रुपैयाँ हुन्थ्यो,’ नुपुले थपे, ‘अहिले पैसा पनि बढेको छ भन्छन् तर खै बिक्री गर्नै पाइएन ।’ नुपुसँग अहिले ७५ वटा याक बिक्री गर्न मिल्ने वयष्क उमेरका छन् । एउटा याक १२ वर्षसम्म बिक्री गर्न योग्य उमेरको हुन्छ । सामान्यतया १५ देखि २० वर्षसम्म बाँच्ने याक–चौंरी त्यसपछि दुब्ला–बूढा हुन थाल्छन् । त्यसपछि भने तिनले मूल्य पाउँदैनन् ।
‘अहिले चौंरी–याक दुहुने दूध–छुर्पी बनाउने मात्रै काम भएको छ,’ नुपुले थपे, ‘पहिला भारी पनि बोकाउने चलन थियो, तर अहिले पालन मात्रै हुँदा समस्या भएको छ ।’ यो नुपु जस्ता १ सय ८० किसान परिवारको साझा समस्या हो । याक–चौंरी कृषक महासंघ, ताप्लेजुङको तथ्यांकअनुसार यी परिवारले कम्तीमा पाँच–दस वटादेखि बढीमा तीन–चार सयसम्म चौंरी याक पाल्ने गरेका छन् ।
चीनको बजारमा बिक्री नभए त्यसै मर्न दिनुको विकल्प नभएको महासंघका जिल्ला अध्यक्ष नुपु शेर्पा बताउँछन् । जटिल समस्याका रूपमा रहेको यो विषय उठाउन किसानले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई आग्रह गरेका थिए । मंसिर २९ मा भएको ताप्लेजुङ र डिङ्जे काउन्टीका प्रमुख नेतृत्वको सीमा बैठक भएको थियो । बैठकमा आफूले एजेन्डाकै रूपमा कृषि उपज आयात–निर्यातको विषय उठाएको तर चीनले तत्काल समस्या समाधान गर्ने संकेत नगरेको शर्मा बताउँछन् ।
‘पशु–चौपायाका विषयमा केन्द्रको निर्णय हुनुपर्छ । उताबाट हामी माथिल्लो निकायमा अनुरोध गर्छौं भनेका छन्,’ शर्माले भने, ‘आशा गरौं सम्बोधन होला ।’ याक–चौंरी र तिनबाट उत्पादित दूध, छुर्पी, घिउसमेत निर्यात हुन नसकेको शर्माले बताए ।
सीमा बैठकको रिपोर्टिङ गर्दा गृह मन्त्रालयमा यो विषय पनि समावेश गएिको शर्माले जानकारी दिए । कोरोना संक्रमणपछि पशु बिक्रीको राम्रो बजार गुमाएका स्थानीयले गत जेठ ११ मा नाका खुल्दा नै आवतजावतसँगै सबै खुल्ने आशा गरेका थिए । यसले तिब्बतलाई पनि घाटा भएको नेपाली किसानको भनाइ छ ।
मसिना बाच्छा तिब्बतबाटै ल्याएर पाल्ने र वयष्क भएपछि उतै बिक्री गर्ने प्रचलन पनि थियो । ‘धेरैले आफ्नै माउबाट बाच्छा उत्पादन गराउँथ्यौं,’ ओलाङ्चुङगोलाका मिङमादिकीले भनिन्, ‘कोरोना अघिसम्म निर्बाध बिक्री भएको याक–चौंरी अहिले रोकिँदा अचम्म लागेको छ ।’ नेपालमा देखिएको लम्पी स्किनका कारण निर्यातमा समस्या भएको हो कि भन्ने आशंका स्थानीयलाई छ । तर चीनले भने रोकिनुको कारण नखुलाएको प्रमुख जिल्ला अधिकारी शर्मा बताउँछन् ।
विशेष जोड दिएर प्रस्ताव गर्दा पनि चीनले नमानेको दोभासेको रूपमा चीन गएर फर्किएका फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले जनाए । हरेक किसानका गोठमा थेग्न नसक्ने गरी याक–चौंरी बढेको र खर्कको समेत अभाव हुन थालेको छेतेनको गुनासो छ । ‘हामी जनप्रतिनिधिलाई पनि दबाब छ । तर यो विषय अझै सम्बोधन हुन सकेको छैन,’ शेर्पाले भने ।
याकको पोथीलाई ‘डी’ र भालेलाई ‘याक’ भनेर छुट्याउने गरिएको छ । ताप्लेजुङमा आठ हजार हाराहारीमा याक–चौंरी रहेको जिल्ला पशुसेवा कार्यालयको तथ्यांक अनुमान छ । एउटा याक–चौंरीको मूल्य ५० हजार मात्रै राखे पनि ताप्लेजुङमा ४० करोड बराबरका चौंरी–याक रहेको महासंघले जनाएको छ । त्यसमा झन्डै ६० प्रतिशत बिक्री गर्न सकिने किसिमको भएको महासंघले बताएको छ ।
हिमाली क्षेत्रका बासिन्दाले पुर्ख्यौली पेसाका रूपमा याक–चौंरीपालन गर्दै आएका छन् । तीन हजारदेखि पाँच हजार मिटरसम्मको उचाइलाई याक–चौंरीको चरन क्षेत्र मानिन्छ । जिल्लाको सिरिजंगा, फक्ताङलुङ, मिक्वाखोला, मेरिङदेन र फुङलिङ नगरपालिकाको माथिल्लो क्षेत्रमा याक–चौंरी पालन गरिन्छ । बाघ, भालु र ब्वाँसोले समेत क्षति पुर्याउन सक्ने यी पशुचौपाया लम्पी स्किनले क्षति पुर्याएको पशुसेवा कार्यालय ताप्लेजुङले जनाएको छ ।