हामीले भ्यु टावर होइन आईटी टावर बनाउन खोजेका हौँ : सञ्चार मन्त्री गुरुङ

Swastika Bhandari

पुस ६, २०८१

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई दक्षिण एसियामा सूचना प्रविधिको केन्द्र बनाउन पूर्वाधार विकास आवश्यक रहेको र यसका लागि सरकारले आईटी टावरजस्ता अवधारणामा काम गरिरहेको बताएका छन् ।

शुक्रबार आईसीटी अवार्ड कार्यक्रममा उनले आईटी टावर निर्माणको अवधारणा प्रस्तुत गर्दै यसले रोजगारी सिर्जना, व्यवसाय प्रवर्द्धन र प्रदर्शनी तथा छलफलका लागि साझा थलो उपलब्ध गराउने बताए ।

‘दमकमा बनेको टावर व्यापारिक टावर थियो, त्यसलाई भ्यु टावर भनेर उल्लिबिल्ली गरियो,’ उनले भने, ‘भ्यु टावर होइन हामीले आईटी टावर बनाउन खोजेका हौं । हजारौं मान्छेले जागिर खाने, व्यापार गर्ने, प्रदशर्नी र छलफल गर्ने ठाउँ बनाउन खोजेका हौं । मलेसियाको ट्वीन टावर भ्यु टावर हो र ? व्यापारिक थलो हो ।’

मन्त्री गुरुङले मलेसियाको राजाधानी क्वालालम्पुरमा रहेको पेट्रोनास ट्वीन टावर र भारतको ब्यांग्लोरस्थित इन्फोसिस फोकस टावरको उदाहरण दिँदै नेपालमा पनि यस्तै संरचना बनाउन सकिने उल्लेख गरेका थिए । ‘काठमाडौं, पोखरा, विराटनगर वा ललितपुरजस्ता शहरहरूमा यस्तो टावरले १५ हजारदेखि ३५ हजारसम्म रोजगारी प्रदान गर्न सक्छ,’ उनले भने ।

नेपाललाई दक्षिण एसियामा आईटी हब बनाउन आईटी टावर स्थापना महत्वपूर्ण हुने मन्त्री गुरुङको भनाइ थियो । लोकतन्त्र, खुलापन र प्रतिस्पर्धामा आधारित सामाजिक-सांस्कृतिक वातावरणले गर्दा नेपाल आईटी हब बन्नसक्ने सम्भावना रहेको उनले बताए । तथापी, यसका लागि सरकारको मात्रै प्रयासले सम्भव नहुने भन्दै उनले निजी क्षेत्रको सहकार्य र लगानी आवश्यक रहेको औंल्याए ।

चालु आर्थिक वर्षको बजेटमार्फत आगामी दस वर्षलाई आईटी दशक घोषणा गरिए पनि यसका लागि पर्याप्त बजेट विनियोजन नभएकोमा मन्त्री गुरुङले खिन्नता प्रकट गरे । उनले डिजिटल नेपाल फ्रेमवर्क २.० शुरु भएको र यसलाई विस्तार गर्दै प्रभावकारी बनाइने जानकारी दिए ।

त्यस्तै, एक महिनाभित्र एआई (आर्टिफिसियल इन्टेलिजेन्स) नीति कार्यान्वयनमा ल्याउने योजना रहेको र यसले रोजगारी वृद्धि, गरिबी निवारण तथा उत्पादकत्व अभिवृद्धिमा सहयोग पुर्‍याउने मन्त्री गुरुङको भनाइ थियो ।

Sharing Is Caring:

Leave a Comment