खेर गएका सामग्रीबाट उपकरण

Swastika Bhandari

मंसिर २३, २०८१

सल्यान — शारदा नगरपालिका–२ का २१ वर्षीय विजय राना सानैदेखि विद्युतीय सामानमा रुचि राख्थे । अरूले प्रयोग गरेर फालेका सामग्री बटुलेर त्यसलाई मर्मत गरेर खेलौना बनाई परीक्षण गर्थे । सानैदेखिको रुचिअनुरूप उनी अहिले विभिन्न किसिमका विद्युतीय यन्त्र बनाउन सिपालु भइसकेका छन् ।

१० वर्षको उमेरमा उनले अहिले ब्याट्रीबाट चल्ने सानो खेलौना मोटर बनाएका छन् । उनी अहिले कक्षा १२ सकेर बसेका छन् ।

युवावस्थामै नमुना हवाईजहाज, सानो पानीजहाज, मोटरबोट, रोबोट, ड्रोन, बाँदर धपाउन प्रयोग गरिने बन्दुक, सेन्सर लाइट, हावाको गति थाहा पाउने तथा बाढी आएको थाहा पाउने मेसिन, जनावर नजिक आउँदा थाहा पाउने मेसिन, मकै छोडाउने औजारलगायत सामग्री बनाइसकेका छन् । सामान्य अध्ययनकै भरमा विभिन्न मेसिन बनाएर सफल परीक्षण गरी छिमेकी जिल्लाकालाई समेत चकित पारेका छन्, विजयले । आफ्नो प्रयासको चारैतिर कदर भइरहे पनि सल्यानकै स्थानीय तहले अहिलेसम्म कुनै कदर नगरेको र सहयोग वा हौसला पनि नदिएकोमा उनी दुःखी छन् ।

‘विभिन्न खालका यन्त्र, उपकरण बनाउन सक्ने भए पनि आर्थिक अभावकै कारण मैले आफ्नो क्षमतालाई थप विस्तार र व्यवस्थित गर्न सकिरहेको छैन,’ उनले गुनासो गरे ।

विजयले विज्ञानसम्बन्धी पुस्तकहरू अध्ययन मात्र गर्दै आएका छैनन्, जिल्ला बाहिरका विद्यालयमा समेत गएर प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई प्रशिक्षणसमेत दिँदै आएका छन् । आफ्नो सीप र ज्ञानलाई पूर्णता दिन उनी अहिले दाताको खोजीमा छन् ।

त्रिज मावि लुहापिंगमा कक्षा ८ मा पढ्दै गर्दा जहाजको नमुना बनाएको देखेपछि दिनेश मैनालीले फनपार्कमा विभिन्न उपकरणका डिजाइनका लागि झापा पुर्‍याएको उनले बताए । ‘त्यहाँ मैले मिनी पानी जहाज, ड्रोन, रोबोटलगायतका सामग्री बनाएँ । ५ वर्ष मैनालीसँग बसेर काम गरें । धेरै कुरा सिक्ने अवसर मिल्यो र थप उत्साहित बनायो । अहिले त्यही कामलाई निरन्तरता दिइरहेको छु ।’

मैनालीसँग झापामा बसेर काम गर्दा पढाइलाई असर पर्नुका साथै खर्च चलाउन मुस्किल भएपछि घर फर्किएको विजयले बताए । घरमा फर्किएको एक महिनामा मकै छोडाउने मेसिन, बाँदर धपाउन प्रयोग गरिने बन्दुक, लामो र छोटो दूरीका बन्दुक, बम, बाँदरलाई टाढैबाट प्रहार गर्न सक्ने गुलेली बनाएको उनले बताए । ‘अहिले खेतबारी जोत्ने मेसिन बनाउने तयारीमा लागेको छु, तर आर्थिक अभावले सामग्री जुटाउन कठिन छ,’ उनले भने ।

आर्थिक अभावका कारण ठूला उपकरण बनाउने विषयमा अहिले सोच्न नसकेका कारण ग्रामीण क्षेत्रका स्थानीयलाई उपयोग हुने खालका उपकरण तथा मेसिन बनाएको उनको भनाइ छ । विभिन्न उपकरण तथा औजार बनाएर बिक्री गर्दा अहिलेसम्म चार/पाँच लाख जति कमाएको र त्यही रकमले सामान किनेर ग्रामीण क्षेत्रमा प्रयोग गर्न मिल्ने खालका सामग्री बनाइरहेको उनले बताए ।

आफ्नो कामलाई व्यवस्थित गरी उद्योगको रूप दिने उनको योजना छ । तर यसका लागि आर्थिक संकट नै तगारो बनिरहेको छ, उनका लागि । ‘अन्य देशमा विभिन्न किसिमका आविष्कारमा लागेकालाई राज्यले धेरै सहयोग गर्छ र सम्मान गर्छ तर हाम्रो जस्तो मुलुकमा विभिन्न किसिमको आविष्कार तथा यन्त्र बनाउनेको कुनै महत्त्व छैन,’ उनले भने ।

बाँदर धपाउने बन्दुक, गुलेली, मकै छोडाउने मेसिन स्थानीय तह तथा कृषि कार्यालयले किनिदिएर किसानलाई उपलब्ध गरोस् भन्ने आफ्नो चाहना रहेको उनले बताए ।

Sharing Is Caring:

Leave a Comment