मंसिर २३, २०८१
चितवन — गुरुङ समुदायको बसोबास भएको पुरानो पहाडी गाउँ इच्छाकामना गाउँपालिका–२ घुर्केसमा सामुदायिक होमस्टे सुरु भएको छ । सदरमुकाम भरतपुरबाट उत्तरपूर्व ४० किलोमिटर परको यो गाउँमा पालिकाको सहयोगमा होमस्टे सञ्चालनमा आएको हो ।
भरतपुर, पदमपुर, जुटपानी, शक्तिखोर, मायाटार हुँदै डेढ घण्टामा यहाँ पुग्न सकिन्छ । ‘यो गाउँ निकै पुरानो हो । हाम्रा बाजेबराजु यही जन्मे–हुर्के । तर बाटोघाटोको सुविधा पहिला थिएन । सात–आठ वर्ष भयो यहाँ नजिक गाडी आएको,’ ६० वर्षीया महिला विजमाया गुरुङले भनिन् । पहिला यहाँबाट गाडी चढ्न हिँडेर कालिटार पुग्थे । नारायणगढ–मुग्लिन सडकको मुग्लिन बजारनजिक आडमा रहेको कालिटार पुग्न हिँड्न सक्नेलाई पनि चार घण्टा लाग्थ्यो ।
‘अहिले गाउँगाउँमा बाटो, बिजुली पुग्यो । समुदायलाई यसबाट कसरी लाभ पुर्याउने होला भनेर सोच्दा पुरानो गाउँ भएका कारणले होमस्टे राखौं भन्ने योजना बनेको हो,’ इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले भने । घुर्केसमा गुरुङ समुदायका २३ घर छन् । यहाँका पुराना घरलाई रंगाएर चिटिक्क पारेपछि खाटमा नयाँ बिस्तरा राखेर स्थानीयले होमस्टे सुरु गरेका हुन् ।
घुर्केसका १४ घरले होमस्टे सुरु गरेका हुन् । ‘होमस्टेबारे आधारभूत तालिम दियौं । केही आवश्यक सामग्री पनि सहयोग गर्यौं । त्यसपछि स्थानीयले होमस्टे सुरु गर्नुभएको छ,’ अध्यक्ष गुरुङले भने । भरतपुर हुँदै जाने बाटो सजिलो छ । शक्तिखोर फिस्लिङ सडकका कारण पहाडी गाउँ भरतपुरसँग सजिलै जोडिएका छन् । शक्तिखोरदेखि मायाटारसम्मको मूल सडक कालोपत्रे छ ।
मायाटारदेखि तल दुई किलोमिटर कच्ची सडक पार गरेपछि घुर्केस पुगिन्छ । गाउँमा मौलिक नाँच मारुनी, घाटु, चुट्का नाच्ने पुरानो चलन हो । तर पछिल्लो समय यो हराउँदै गयो । युवा पुस्ताले बिर्संदै गए । ‘तर अब हामी यसलाई फेरि जगाउँदै छौं । यहाँ बस्न आउनेलाई मिठो र स्वास्थ्यवर्द्धक रैथाने खान नास्ता खुवाउनुका साथै घाटु र चुट्काले सत्कार गर्नेछौं,’ होमस्टे नम्बर १ की स्थानीय बिसु गुरुङले भनिन् ।
गाउँमा इस्कसु, फर्सी, बोडी, सिमी, साग, मुला राम्रै फल्छ । सिस्नो प्रशस्त हुन्छ । मकै कोदो मुख्य अन्न भयो । ‘हामी यहींका उत्पादनबाट बनेका परिकार पाहुनालाई दिनेछौं । सिस्नोको सुपदेखि उसिनेको फर्सी, पिँडालु, इस्कुस यहाँ आउनेलाई खुवाउनेछौं,’ होमस्टे नम्बर २ की विजमाया गुरुङले भनिन् । पहाडको शीतल र न्यानो वातावरणका कारण यहाँ पाहुना आउने आशा राखे ।
‘घरहरू पुराना छन् । हाम्रा बाजे–बाहरूले आफ्नो सीपले घर बनाए । सफासुग्घर छन् । ढोका–झ्याल कलात्मक बनाउने प्रयास गरे । पहाडी पाखामा गुजुप्प मिलेर बसेको हाम्रो गाउँ टाढाबाट हेर्दा नै आकर्षक देखिन्छ । यहाँ आएर बसे झनै आनन्द हुन्छ,’ पुराना जनप्रतिनिधिसमेत रहेका चित्रबहादुरले भने ।

चितवन जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले शुक्रबार होमस्टेको उद्घाटन गरेका छन् । ‘सुरुवात भएको छ । अझै व्यवस्थित बनाउँदै लैजान हामीले स्थानीयलाई देशका अन्य सफल होमस्टेको भ्रमण गराउने, परिकार र सत्कारका विषयमा पनि थप तालिम दिने योजनामा छौं,’ पालिका अध्यक्ष गुरुङले भने ।
चितवनको मैदानी क्षेत्रमा वैशाख/जेठमा उखरमाउलो गर्मी हुन्छ । जाडोयाममा सिरेठो चल्छ । पहाडी भूभागमा गर्मीमा शीतल र जाडोमा न्यानो हुन्छ । बाटोघाटोको सुविधा भएकाले यस क्षेत्रमा खुलेका होमस्टेमा पाहुना आउने रमाउने आशा गरेको अध्यक्ष गुरुङले बताए ।