मंसिर २३, २०८१
संखुवासभा — संखुवासभाको सभापोखरी हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ५ मेगावाट क्षमताको लपुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ ।
संखुवासभाको सभापोखरी गाउँपालिका–३ मा निर्मित आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङटार सबसस्टेनमा कनेक्सन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
०७७ माघबाट काम सुरु गरेको आयोजना निर्माण पूरा गरिसकेपछि विद्युत् प्राधिकरणको रोहबरमा आयोजना टेस्टिङको कामसमेत सकिइसकेको छ । प्राधिकरणलाई १५ दिन निःशुल्क विद्युत् उपलब्ध गराई अर्को महिनादेखि आयोजनाबाट व्यावसायिक उत्पादन सुरु गरिने प्रबन्ध निर्देशक श्रीराम देवकोटाले बताए ।
आयोजनामा ३ हजार १ सय मिटर लामो हेडरेस पाइप तथा ६ सय मिटरको पेनस्टक पाइप जडान गरेर लुफ्खोलाको पानीलाई स्थानीय बाह्रबिसे बजार नजिकै रहेको विद्युत् गृहमा खसालिएको छ । राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेको यो आयोजना करिब १ अर्ब १० करोड लागतमा निर्माण सकिएको हो ।
अहिलेसम्म आयोजना छिटो सकिनेतर्फ ध्यान रहेकाले अब कम्पनीले सर्वसाधारणका निम्ति सेयर जारी गर्नका निम्ति प्रक्रिया बढाइसकेको देवकोटाको जनाए ।