मंसिर २३, २०८१
सल्यान — परम्परागत तरिकाले खेती गर्दै आएका शारदा नगरपालिका–१४ माल्नेटाका ज्ञानबहादुर घर्तीले सात रोपनीमा प्रत्येक वर्ष ८० क्विन्टल अदुवा उत्पादन गर्दै आएका छन् । २०७७ मा प्रतिकिलो २०, २०७८ मा २५ र २०७९ मा २५ रुपैयाँका दरले अदुवा बिक्री गरेका उनले गत वर्ष ३५ रुपैयाँका दरले बिक्री गरेका थिए ।
यस वर्ष बारीबाटै प्रतिकिलो ५० रुपैयाँमा बिक्री भएपछि उनी उत्साहित भएका छन् । अदुवाबाट गत वर्ष ५ लाख आम्दानी गरेका उनले यसपालि ८ लाखभन्दा बढी कमाइ हुने अनुमान गरेका छन् ।
माल्नेटाकै बुद्धिराम गिरीले प्रत्येक वर्ष आफ्नो पाँच रोपनी जग्गामा ६५ क्विन्टलभन्दा बढी अदुवा उत्पादन गर्दै आएका थिए । गत वर्षसम्म ४ लाख जति आम्दानी गर्दै आएका उनले यसपालि अदुवाले भाउ पाएपछि ताजा र बुर्ना अदुवा बिक्री गरेर २ लाखभन्दा बढी कमाएका छन् ।
यस्तै बाग्चौर नगरपालिका–२ खरिबोटका किसान सुरेश ओलीले १० क्विन्टल बीउ लगाएर यस वर्ष ४० क्विन्टल जति उत्पादन गरेका थिए । उनले गत वर्ष सबै अदुवा बिक्री नभएपछि उनले आधाको सुठो बनाएका थिए । गत वर्षसम्म भाउ पाउन कठिनाइ भइरहेका बेला यसपालि उनले घरबाटै ५० रुपैयाँ किलोमा बेचेका छन् ।
चार वर्षपछि यहाँका अदुवा किसानले राम्रो भाउ पाएका हुन् । कोरोना महामारीयता प्रतिकिलो २५ देखि ३० रुपैयाँमाथि जान नसकेको अदुवाको मूल्य यसपालि बढेको हो । यस वर्ष किसानले घरबाटै ५० र बजारमा ७० रुपैयाँ प्रतिकिलोमा बेचिरहेका छन् ।
भारतका अतिरिक्त विभिन्न कम्पनीबाट पनि माग आएपछि किसान खुसी भएका छन् । माल्नेटाका सबै किसानले अदुवा खनेर बीउबाहेक धमाधम बिक्री गरिरहेको अगुवा किसान ज्ञानबहादुर घर्तीले बताए ।
गत वर्ष मंसिर अन्तिमसम्म बिक्री नभएर त्यत्तिकै थन्किएको अदुवा अहिले घरमा थुपार्न नपरेको घर्तीको भनाइ छ । ‘किसानले उत्पादन गरेको अदुवा गत वर्षसम्म सुर्खेतस्थित एक प्रशोधन केन्द्रमा जान्थ्यो । यसपालि सिधै काठमाडौं, नेपालगन्जतिर गएको छ,’ उनले भने, ‘अदुवाले भाउ पाएपछि हरेक किसानले ५० हजारदेखि २ लाख बढी आम्दानी गरेका छन् ।’
गत वर्षसम्म बाहिरबाट आउने खरिदकर्ताको पर्खाइमा बस्नुपर्ने बाध्यता रहेकामा यसपालि कुर्नु नपरेको सिद्धकुमाख गाउँपालिका–५ का सुकवीर खड्काले जनाए । ‘सात रोपनीमा लगाएको अदुवा आठ क्विन्टल जति बीउ राखेर २० क्विन्टल प्रतिकिलो ४५ रुपैयाँका दरले बेचें । पोहोर ५० हजार कमाइ भएको थियो, यसपालि एक लाख हात परेको छ,’ उनले भने, ‘बिक्रीका लागि विगतका वर्ष जस्तो बजार घुम्नुपरेन । एउटै खरिदकर्ता आएर घरबाटै सबै लगे ।’
अदुवाले भाउ पाएपछि बल्ल मिहिनेतको फल मिलेको अनुभूति भएको उनको भनाइ छ । यस वर्ष अदुवाले भाउ पाएपछि जीविकोपार्जनमा सहज भएको बन्गाड कुपिण्डे–९ सेराका भद्रबहादुर बुढाथोकीले बताए । ‘गत वर्षसम्म स्थानीय खरिदकर्तालाई २० रुपैयाँ किलोमा लैजाऊ भन्दा मान्दैनथे । डोकोमा बोकेर झन्डै अढाई घण्टाको दूरी पार गरी सदरमुकाम खलंगामा लगेर बेच्नुपर्थ्यो । स्थानीय खरिदकर्ताले अदुवा राखेपछि कि ६ महिनापछि पैसा दिन्थे, कि खाद्यान्नमा पैसा कटाउँथे । यसपालि गत वर्ष जस्तो समस्या भएन,’ उनले भने ।
गत वर्षसम्म जिल्लामा २२ हजार टन उत्पादन भएर ४१ करोडको ४ हजार ८ सय ३१ टन अदुवा निकासी भएको कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख महेश आचार्यले जनाए ।
यसपालि उत्पादनमा केही कमी आए पनि गत वर्षकै हाराहारीमा निकासी हुने र मूल्य बढेकाले ४३ करोड पुग्ने अनुमान गरिएको छ । देशमै सबैभन्दा राम्रो बोसे अदुवा उत्पादन हुने माल्नेटा र जिल्लाभरका किसानले प्रत्येक वर्ष १ हजार ४ सय २० हेक्टर जग्गामा अदुवा लगाउँदै आएको कार्यालयको तथ्यांक छ ।