काठमाडौँ — यो साता सेयर कारोबारमा जलविद्युत् कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण धेरै देखिएको छ । साताको कुल सेयर कारोबारमा जलविद्युत् उपसमूहको हिस्सा करिब ३० प्रतिशत हुनुले यसको पुष्टि गर्छ । बिहीबार सार्वजनिक बिदा परेकाले यो साता चार दिन मात्र सेयर बजार खुल्यो ।यस अवधिमा करिब ३४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भयो । त्यसमध्ये जलविद्युत् कम्पनीको १० अर्ब १५ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।यो कुल कारोबारको ३०.११ प्रतिशत हो । साप्ताहिक कुल कारोबारमा बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा करिब जोड्दा साढे ३८ प्रतिशत हुन आउँछ । तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यी क्षेत्रका कम्पनीको सेयर बैंकिङ, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त, जीवन बिमा र निर्जीवन बिमा गरी छुट्टाछुट्टै उपसमूहमा सूचीकृत गरिएको छ ।
साताको कुल कारोबारमा यी सबै उपसमूहको कारोबार रकम जोड्दा ३८.३५ प्रतिशत हुन आउँछ । यो जलविद्युत्को हिस्साभन्दा करिब साढे ८ प्रतिशत बिन्दुले मात्र बढी हो । यो पछिल्ला वर्षमा सेयर बजारमा वित्तीय र बिमा क्षेत्रको प्रभुत्व घट्दै र जलविद्युत् क्षेत्रको बढ्दै गएको संकेत भएको जानकार बताउँछन् ।
यो साता तीन दिन (आइतबार, सोमबार र मंगलबार) नेप्से घट्यो, एक दिन (बुधबार) बढ्यो । तीन दिन ९९.२२ अंकले घटेको नेप्से बुधबार १७.२८ अंकले बढेको छ । गत बिहीबार दुई हजार आठ सय १८.४३ अंकमा बन्द भएको नेप्से बुधबार दुई हजार ७ सय ३६.४८ अंकमा ओर्लेको छ । यस अवधिमा नेप्से परिसूचकसँगै कारोबार रकम, किनबेच सेयर संख्यालगायत सबै घटेका छन् । साप्ताहिक कारोबारमा अधिकांश उपसमूहका परिसूचक ऋणात्मक छन् । यसको अर्थ लगानीकर्ताको सम्पत्ति घट्यो भन्ने हो ।यस साताको कुल सेयर कारोबारमा लगानी उपसमूहको हिस्सा १०.२४ प्रतिशत छ भने अन्यको १६.६६ प्रतिशत छ । उत्पादन तथा प्रशोधन समूहका कम्पनीले ३.५४ प्रतिशत हिस्सा ओगट्दा होटेल तथा पर्यटनको ०.९० प्रतिशत मात्र छ ।
हाल नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या दुई सय ६८ पुगेको छ । सूचीकृत कम्पनीमध्ये एक सय ३० बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका छन् । २०८० फागुनसम्म सूचीकृत कम्पनीको संख्या दुई सय ७१ थियो ।सेयर बजारको आकार (कुल बजार पुँजीकरण) का हिसाबले पनि यो बजारमा वित्तीय संस्था ५३.३ प्रतिशत छन् भने जलविद्युत्को हिस्सा १६.७ प्रतिशत छ । सेयर बजारमा सूचीकृत सेयर संख्यालाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । कुल बजार पुँजीकरणमा वित्तीय संस्था र बिमाको हिस्सा लगातार घट्नु र जलविद्युत्को बढ्नुले पनि बजारमा जलविद्युत्को प्रभुत्व बढ्दै गएको पुष्टि हुन्छ ।
२०७९ माघसम्म कुल बजार पुँजीकरणमा वित्तीय र बिमा क्षेत्रको हिस्सा ६५.८ र जलविद्युत्को १२.९ प्रतिशत मात्र थियो । २०८० माघमा वित्तीय र बिमा क्षेत्रको हिस्सा ५७.३ प्रतिशत र जलविद्युत्को १५.९ प्रतिशत मात्र थियो । हाल कुल बजार पुँजीकरणमा लगानी क्षेत्रको हिस्सा ७.६, व्यापारिक संस्थाको ५.४, उत्पादन तथा प्रशोधन उद्योगको ५.३, होटेलको हिस्सा २.७ र अन्य समूहका कम्पनीको हिस्सा ९ प्रतिशत रहेको नेप्सेले जनाएको छ ।
२०८१ माघसम्म सूचीकृत ८ अर्ब ६७ करोड सेयरको चुक्ता मूल्य आठ खर्ब ५४ अर्ब ९१ करोड छ । चालु आर्थिक वर्षको ७ महिनामा ७ अर्ब ४२ करोड बराबरको बोनस सेयर, ३ अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड बराबरको सामूहिक लगानी कोष, ७ करोड ५० लाख बराबरको साधारण सेयर, ४ करोड ४५ लाख बराबरको अग्रिम सेयर निष्कासन (एफपीओ) र ३ अर्ब ९६ करोड बराबरको अन्य गरी कुल १६ अर्ब ६६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको नेप्सेले बताएको छ ।
उक्त अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब २० करोड बराबरको सामुहिक लगानी कोष, ९ अर्ब ३० करोड बराबरको हकप्रद सेयर, १ अर्ब ३२ करोड बराबरको डिबेन्चर र ८५ करोड ५० लाख बराबरको साधारण गरी २१ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको नेप्सेले जनाएको छ ।