फाल्गुन २९, २०८१बर्दिया — यसवर्ष बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा चैते धानको रोपाइँ सुरु भएको छ । चैते धान फागुन अन्तिम सातादेखि रोपाइँ हुने गर्छ र जेठ अन्तिम साताबाट भित्राउन सुरु गरिन्छ ।जिल्लामा गत वर्ष १ हजार १ सय ७५ हेक्टर क्षेत्रफल खेतमा चैते धान लगाइएको थियो । यस वर्ष भने घटेर ७ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना शाखा गुलरियाले जनाएको छ ।हल्दिनाथ १ र हल्दिनाथ हाइब्रेड चैते धान किसानले रोपाइँ गर्न थालेका छन् । गत वर्ष ३ हजार ७ सय ८३ टन धान उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना शाखा गुलरियाका प्रमुख वीरेन्द्र लम्सालले बताए ।
‘जेठ अन्तिम साताबाट सुरु भई असारभित्र चैत धान भित्राउने गरिन्छ,’ उनले भने, ‘चैते धान आधा किसानले खपत गर्ने र बचेको स्थानीय व्यवसायीले खरिद गर्ने गरेका छन् । यो धान विशेषगरी चिउराका लागि प्रयोग हुन्छ ।’राजापुर नपा–५ का किसान शिवा थारुले विगत चार वर्ष यता मकै बाली छाडेर चैते धान लगाउन सुरु गरेको बताइन् । ‘तीन वर्ष अघिसम्म गेरुवाको पानीबाट सिँचाइ गरिन्थ्यो,’ उनले भनिन्, ‘अहिले गेरुवामा पानी सुक्दै गएपछि पम्पिङ सेटबाट सिँचाइ गरिरहेका छौं ।’चैते धान, वर्षे धान र तोरीसहित तीन बाली किसानले लगाउने गर्छन् । यहा स्थापित चिनी कारखानाले धान सुपरजोन क्षेत्रका किसान प्रभावित भएको स्थानीय किसान बताउँछन् । राजापुर–५ का किसान बनवारी लाल चौधरीले चिनी मिलले धानखेत घटाएको र सिँचाइको सुविधा भए चैते धान पर्याप्त मात्रामा उत्पादन गर्न सकिने उनको भनाइ छ ।
बर्दियामा पहिलो पटक ०७३ साल देखि राजापुर र गेरुवामा चैत धानको उत्पादन सुरु भएको थियो । चैते धान भित्र्याएपछि वर्षे धान रोपाइँ सुरु हुन्छ । राजापुर र गेरुवा पालिकामा १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरेको छ । जिल्लाभर ५० हजार बढी हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गर्छ ।