सात महिनामा साढे ७ अर्ब विदेशी लगानी भित्रियो

Swastika Bhandari

फाल्गुन २८, २०८१काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि माघसम्म २६ अर्ब ८४ करोड रुपैयाँ विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आउँदा ७ अर्ब ४५ करोड भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष वैदेशिक लगानी बढेको हो । गत आर्थिक वर्षको सात महिनामा २२ अर्ब ६८ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो भने ५ अर्ब १९ करोड भित्रिएको थियो । उद्योग विभागका अनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) भन्दा अप्रुभल रुटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । स्वचालित मार्ग (अटोमेटिक रुट) बाट १७५ उद्योगमा २ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ र अप्रुभल रुटबाट २११ उद्योगमा २४ अर्ब २१ करोड ३४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।गत वैशाखमा तेस्रो लगानी सम्मेलनबाट विभागले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको थियो । वैदेशिक लगानी स्वीकृति पत्र इमेलमार्फत आवेदन दिनेबित्तिकै प्राप्त गर्न सकिने र त्यसको आधारमा कम्पनी दर्ता गर्न सकिने प्रणाली स्वचालित मार्ग हो । यस मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसायमा स्वदेशी तथा विदेशी लगानी गर्न सकिने विभागले जनाएको छ । सूचना प्रविधिमा आधारित उद्योगमा भने न्यूनतम सीमा लागू हुँदैन ।

विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रने रकम न्यून रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नरहेको सरोकारवाला बताउँछन् । गत आर्थिक वर्ष नेपालमा ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र एफडीआईबाट भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।उक्त अवधिमा कुल ७ अर्ब ७६ करोड ८६ लाख विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएको थियो । आर्थिक वर्ष ०७८/७९ मा २९५ वटा उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो ।सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिने गरेको समेत सरोकारवालाको भनाइ छ  । प्रतिबद्धता तथा स्वीकृत रकम एकै पटक नभित्रिने सरकारी अधिकारी बताउँछन् ।

Sharing Is Caring:

Leave a Comment