फाल्गुन २८, २०८१रौतहट — उखु नपाएपछि सिजनअघि नै चिनी मिलले क्रसिङ बन्द गरेको छ । कटहरिया नगरपालिका–९ को बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिजले सिजनमै उखु अभाव भएपछि मंगलबारदेखि क्रसिङ बन्द गरेको हो । चैत मसान्तसम्म उखु क्रसिङ गर्न मिल्छ । एक सिजनमा २० देखि २५ लाख क्विन्टलसम्म क्रसिङको लक्ष्य लिएको मिलले यो सिजनमा १३ लाख क्विन्टलमात्र क्रसिङ गरेको छ । बर्सेनि उखुको अभाव झेल्दै आएको र यसपटक समयअगावै मिल बन्द गर्नुपरेको मिल सञ्चालक बाबा बैजुनाथ बाबराले बताए ।‘अहिले धमाधम उखु पेलेर चिनी उत्पादन गर्नुपर्ने बेला हो, तर एक महिनाअघि नै मिल बन्द गर्नुपर्यो,’ उनले भने, ‘मिल सञ्चालन भएको ७ वर्षमा पनि लक्ष्यअनुसार उखु पाउन सकेको छैन । मिल बर्सेनि घाटामा चलाउनुपरेको छ ।’
फागुन–चैतमा उखु छिप्पिएर चिनीको मात्रा बढ्छ । यही समयमा उखु पाउन छाडेको सञ्चालक बाबराले बताए । उनका अनुसार पुसमा क्रसिङ थालेको मिलले सुरुमा एक क्विन्टल उखुमा ५ किलो मात्र चिनी उत्पादन गर्थ्यो । ‘फागुन/चैतमा उखु छिप्पिएर ८/१० किलोसम्म चिनी निस्कन्छ । चिनी उत्पादन बढ्ने बेला मिल बन्द गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।तीन दशकअघिसम्म जिल्लामा १६ हजार किसानले उखु खेती गरेका थिए । त्यसबेला गरुडा नगरपालिकामा रहेको श्रीराम सुगर मिल मात्र सञ्चालनमा थियो । गोल्छा समूहको स्वामित्वमा रहेको उक्त मिल २०४९ मा शिल्यान्यास भई २०५१ देखि उखु क्रसिङ थालेको हो । मिलले एक सिजनमा बारा, पर्सा, रौतहटका किसानका ३० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्थ्यो । करोडौंको घाटा भएको भन्दै व्यवस्थापन पक्षले २०७७ साउन १० देखि मिल बन्द गर्यो ।२६ वर्ष निरन्तर सञ्चालनमा रहेको चिनी मिल बन्द हुँदा सिजनल, रेगुलर र करार गरी ३ सय २५ जना कर्मचारी तथा मजदुरको रोजगारी गुम्यो । त्यसपछि किसानले उखु लगाउन छाडे । किसानको संख्या घटेर ८ हजार हाराहारीमा आएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । ‘जिल्लाकै ठूलो मिल बन्द भएपछि उखु खेतीप्रतिको लगाव कम भयो,’ उनले भने, ‘उखुको मूल्य, भुक्तानी समस्या झेलेका किसानले बिस्तारै उखु लगाउन छाडे । अहिले मुस्किलले ८ हजार किसानले खेती गरेका होलान् । यो संख्या पनि घट्ने अवस्था छ ।’
अहिले जिल्लामा बाबा बैजुनाथ मिल मात्र सञ्चालनमा रहेको र उक्त मिललाई पनि पुग्ने उखु नभएको अध्यक्ष यादवले सुनाए । पछिल्लो समय बाबा बैजनाथ चिनी मिलले उखुको चलान र भुक्तानीमा सहज बनाउँदै लगे पनि उखु किसान उत्साहित छैनन् । मिलले उखु काट्नेदेखि ढुवानीसम्मको सुविधा भएको केन हार्वेस्टर (आधुनिक मेसिन) खरिद गरेर किसानलाई जिम्मा दिइसकेको छ । तर पनि उखु लगाउने किसानको संख्या बढेको छैन ।उखु बिक्री गरेको साता र १५ दिनमा भुक्तानी दिने, चलानमा सहजता र उखु लगाउने किसानलाई सुविधा दिँदै आएको सञ्चालक बाबराको भनाइ छ । सञ्चालकले खेतमै पुगेर बीउबिजन, मलखाद र भुक्तानीमा सहयोग गर्दै आएका छन् । दैनिक २० हजार क्विन्टल क्रसिङ गर्ने बाबा बैजुनाथले उखु अभावका कारण ७/८ हजारभन्दा कम क्रसिङ गरिरहेको थियो । पुस दोस्रो सातादेखि मिल सञ्चालनमा आएको थियो ।
मिलले भारतबाट उखु ल्याउने योजना पनि बनाएको थियो । स्थानीय प्रशासनको कडाइले उखु ल्याउन सकेन । छिमेकी बारा र सर्लाहीका किसानले उखु दिन नमानेपछि मिललाई अपुग भएको हो । यसपटक रौतहटका केही किसानले सर्लाहीको चिनी मिललाई उखु बिक्री गरे । यसले झनै समस्या थपेको सञ्चालक बाबराले बताए ।
‘आफ्नै जिल्लामा मिल हुँदाहुँदै सर्लाहीतिर लैजान्छन्,’ उनले भने, ‘हामीले उखुको मुल्य, चलानी, भुक्तानीलगायतमा सहुलियत दिएकै छौं । तर पनि किसानलाई चित्त बुझाउन सकिएको छैन ।’ रघुनाथपुरका किसान सुखलराय यादवले मिलको भुक्तानी प्रक्रिया र ढिला मूल्य तोक्ने प्रवृत्तिका कारण सर्लाहीका मिललाई उखु दिएको सुनाए । ‘जता सहज र चाँडै भुक्तानी पाउँछौं त्यहीं उखु लैजान्छौं,’ उनले भने ।