फाल्गुन २८, २०८१काठमाडौँ — इलन मस्कको राजनीतिक र सामाजिक धारणासँग असहमत हुनेको संख्या बढ्दै गएपछि टेस्ला कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । यो साता सोमबार एकै दिनमा कम्पनीको सेयर मूल्य १५ प्रतिशतले तल झरेर प्रतिकित्ता २२२ डलरमा सीमित भएको हो ।सन् २०२४ को जनवरीयता टेस्लाको सेयर मूल्य निरन्तर अस्थिर छ । बीचमा कहिलेकाहीं उँभो लागे पनि त्यसयता कम्पनीको सेयरमा लगभग ४४ प्रतिशतको गिरावट आइसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । डोनाल्ड ट्रम्प राष्ट्रपति हुने तय भएपछि टेस्लाको सेयर मूल्य गएको डिसेम्बरमा हालसम्मकै उच्च ४७९ डलरसम्म पुगेको थियो । त्यसयता पुनः मूल्य घटेपछि कम्पनीको बजार मूल्यमा ७ सय अर्ब डलरको क्षति पुगेको छ ।टेस्लाका प्रमुख कार्यकारी अधिकृत मस्ककै नेट वर्थ (सम्पत्ति) मा पनि यस वर्ष १३२ अर्ब डलरको गिरावट आएको बिजिनेस इन्साइडरले उल्लेख गरेको छ । सोमबार मात्रै मस्कको कुल सम्पत्तिमा २९ अर्ब डलरले कमी आएको थियो । टेस्लाको सेयर मूल्य यसरी ओरालो लाग्नुका साथै टेस्ला बेचेर अर्को गाडी खरिद गर्ने वा खुला रूपमै बहिष्कार आह्वान गर्नेहरू बढेपछि मस्कलाई समर्थन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले ‘ब्रान्ड न्यु टेस्ला’ खरिद गर्ने घोषणा गरेका छन् ।उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै मस्कलाई आक्रमण गर्न र नोक्सानी पुर्याउन ‘कट्टरपन्थी वामपन्थी’ ले अवैध रूपमा टेस्ला बहिष्कार गरेको आरोप लगाएका छन् । उनले मस्क विश्वका एक महान् कार निर्माता भएको र अमेरिकालाई पुनः महान् बनाउन आफ्ना अद्भुत सीप खन्याइरहेकाले यसरी दण्डित गर्न नहुने आशयसमेत व्यक्त गरेका छन् । त्यसविपरीत अमेरिकामा टेस्ला चलाउनेले अहिले आफ्ना गाडीको लोगोमाथि अन्य ब्रान्डको लोगो टाँस्ने क्रम बाक्लिएको छ । टेस्ला गाडीलाई टोयोटा, अडी, माज्दालगायत अर्कै ब्रान्डको जस्तो देखिने गरी ‘रिब्रान्डिङ’ गर्न थालिएको हो ।बीबीसीले सेयर विश्लेषकलाई उद्धृत गर्दै टेस्लाले उत्पादन लक्ष्य पूरा गर्न सक्नेमा खरिदकर्तामाझ रहेको संशय र गत वर्षको बिक्रीमा आएको गिरावट नै कम्पनीको मूल्य निरन्तर खस्किँदै जानुको मुख्य कारण भएको जनाएको छ । विश्लेषकका अनुसार ट्रम्पका आफ्नै करसम्बन्धी आर्थिक नीतिहरूले पनि लगानीकर्तालाई चिन्तित बनाएको छ ।अटोमोटिभ आपूर्तिकर्ताका लागि क्यानडा र मेक्सिको प्रमुख बजार रहेकोमा ट्रम्पको करवृद्धि तथा सम्भावित व्यापार युद्धले उत्पादनमा असर पार्ने र मूल्यवृद्धि हुने सम्भावनाका कारण टेस्लाको बजार प्रभावित बनेको सीएनबीसीकी पत्रकार लोरा कोलोड्नीको विश्लेषण छ ।
सोमबार फक्स बिजिनेससँगको अन्तर्वार्तामा मस्कले ह्वाइट हाउसको जिम्मेवारीसँगै आफ्ना व्यवसाय ‘निकै कठिनाइपूर्वक’ व्यवस्थापन गर्दै आएको प्रतिक्रिया दिएका थिए । हाल अमेरिकाभर टेस्लाका सोरुमसामु प्लाकार्डसहित शान्तिपूर्ण विरोध प्रदर्शन भइरहेका छन् । कोलोराडो र म्यासाचुसेट्समा भने सोरुम र टेस्लाको चार्जिङ स्टेसनमा आगजनी भएको र त्यसमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । केही ठाउँमा टेस्लाका साइबरट्रक तोडफोड गरिएका छन् ।सोमबार नासडाकमा टेस्लाको बजार खस्किरहँदा मस्क स्वामित्वको सामाजिक सञ्जाल प्लाटफर्म एक्स पटक–पटक अवरुद्ध बन्न पुग्यो । यही साता उनको एरोस्पेस कम्पनी स्पेस एक्सका स्टारसिपजस्ता ठूला रकेट विस्फोट भए । टेस्ला बहिष्कारको विषयमा ‘द रोलिङ स्टोन्स’ म्यागेजिनले मस्कको राजनीति टेस्लाकै पतनको सुरुवात हुन सक्ने उल्लेख गरेको छ ।
राजनीतिमा सक्रिय भएर मस्कले एकपछि अर्को विवादास्पद अभिव्यक्ति दिँदै गएपछि त्यसको विरोधमा टेस्ला खरिद गरिसकेका अमेरिकीले आफ्ना टेस्लालाई ‘रिब्रान्डिङ’ गर्न थालेका हुन् । विद्युतीय गाडी उद्योगमा एक समय निर्विवाद रूपमा अग्रणी रहेको टेस्लाले अहिले अमेरिकामा यस्ता विरोध झेलिरहँदा युरोपेली र अन्य बजारमा पनि गम्भीर चुनौती र प्रतिस्पर्धाको सामना गरिरहेको छ ।
मस्कका राजनीतिक विचार र व्यवहारप्रति असन्तुष्ट अमेरिका र युरोपका धेरै प्रयोगकर्ताले खुला रूपमै मस्क संलग्न रहेका टेस्लालगायत कम्पनीसँग दूरी बनाउन सुरु गरेको फोर्ब्सको समाचारमा उल्लेख छ । सर्वसाधारण प्रयोगकर्ता मात्र नभएर सेलेब्रिटीले पनि मस्कसँग दूरी बढाउने निर्णय गर्न थालेका छन् । चर्चित अमेरिकी गायिका शेरेल क्रोले हालै आफ्नो टेस्ला बेचेर त्यसबाट उठेको रकम नेसनल पब्लिक रेडियोलाई दिने घोषणा गरेकी छन् ।
सीएनएनकी चर्चित पत्रकार एलिसिन क्मेरोटाले पनि आफ्नो टेस्ला बिक्री गरिसकेकी छन् भने मर्क रुफालो, लिओनार्दो डिक्याप्रियोजस्ता चर्चित हलिउड हस्तीले पनि टेस्लाबाट टाढिने निर्णय गरिसकेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तै युरोपका चर्चित हस्तीहरू एमा वाट्सन, डेभिड एटेनबर्ग, ग्रेटा थन्बर्गलगायतले पनि मस्क र टेस्लाबारे सार्वजनिक आलोचना गर्दै त्यसबाट टाढिने घोषणा गरेका छन् ।
टेस्ला मोडल–३ का मालिकमाझ गरिएको सर्वेक्षणअनुसार ५ हजारमध्ये २१ प्रतिशतले ‘इलन मस्कलाई मन नपराउनु’ नै गाडी बेच्नुको प्रमुख कारण रहेको बताएका छन् । त्यसमध्ये १७.८ प्रतिशतले ‘टेस्लाको ब्रान्ड छविप्रति असन्तुष्टि नै बिक्रीको मुख्य कारण रहेको उल्लेख गरेका छन् । विभिन्न सर्वेक्षणमा संलग्न धेरै उपभोक्ताले मस्कका राजनीतिक गतिविधि, विवादास्पद विचार र कम्पनीको हालको अवस्थाले टेस्लाको प्रतिष्ठा बिग्रँदै गएको महसुस गरेको प्रतिक्रिया दिएका छन् ।
सन् २०२५ जनवरीमा टेस्लाको बिक्री युरोपमा ४५ प्रतिशतले घटेको छ । समग्र विद्युतीय गाडी बजारमा ३७ प्रतिशत वृद्धि देखिएका बेला टेस्लाको बिक्री भने घटेको हो । यो गिरावट बीवाईडीजस्ता चिनियाँ ब्रान्डसँगको बढ्दो प्रतिस्पर्धा र मस्कको राजनीतिक गतिविधिका कारण भएको हो । जर्मनीमा टेस्लाको बिक्री ५९.५ प्रतिशतले घट्दा फ्रान्समा झन् ठूलो गिरावट ६३ प्रतिशत पुगेको छ ।
मस्कले जर्मनीको दक्षिणपन्थी पार्टी एएफडीलाई समर्थन जनाएपछि टेस्लाको ब्रान्ड इमेजमा थप गहिरो असर परेको देखिन्छ । टेस्ला यति कमजोर अवस्थामा पुगेको छ कि जनवरी २०२५ मा चिनियाँ गाडी निर्माता एसएआईसी मोटर्सले समेत टेस्लाभन्दा दोब्बर बढी गाडी बिक्री गरेको छ ।
युरोपेली अटोमोबाइल उत्पादक संघका अनुसार टेस्लाले जनवरीमा ९ हजार ९ सय ४५ युनिट मात्र बिक्री गर्न सक्यो । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या १८ हजार १ सय ६१ थियो । समग्र विद्युतीय गाडी बजार ३७ प्रतिशतले वृद्धि भइरहेका बेला टेस्लाको यस्तो कमजोर प्रदर्शनले ब्रान्डप्रतिको विश्वास घटेको र त्यसको प्रमुख कारण मस्क रहेको स्पष्ट देखिने फोर्ब्सको रिपोर्टमा उल्लेख छ । (एजेन्सीको सहयोगमा)